पोखरा महानगरले स्थायी गरेका १२९ कर्मचारीको नियुक्ति प्रदेश लोक सेवाले खारेज गरिदियो

समाधान संवाददाता २०८१ कार्तिक २१ गते १३:१२

पोखरा । पोखरा महानगरपालिकाबाट स्थायी नियुक्ति पाएका १ सय २९ कर्मचारीको नियुक्ति बदर भएको छ । प्रदेश लोक सेवा आयोगको सहमति बेगर गरिएको नियुक्ति कात्तिक १४ गते खारेज गरिएको हो ।

Advertisement


लामो समयदेखि काम गर्दै ती कर्मचारीलाई पोखरा महानगरले केही समय अगाडि आन्तरिक रुपमा प्रक्रिया पूरा गरेर स्थायी नियुक्ति दिएको थियो । प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा पदपूर्ति समिति गठन गरी आन्तरिक प्रतिस्पर्धाका आधारमा उनीहरु स्थायी भएका हुन् । महानगरको यो कामले गण्डकी प्रदेशका अरु स्थानीय तहमा कार्यरत कर्मचारीको सरुवा बढुवामै असर परेको आयोगले भनेको छ । यहि नियुक्ति प्रक्रियामा प्रश्न उठेपछि प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा सरुवा भएका हुन् । उनी अहिले तनहुँको प्रमुख जिल्ला अधिकारी छन् ।

सर्वोच्च अदालतबाट १९ कर्मचारीका लागि आदेश आए पनि महानगरले भने त्यहि घानमा राखेर १ सय २९ जनालाई नियुक्ति दिएको हो । यसरी स्थायी नियुक्ति पाउनेनमा २ दसकभन्दा बढी समयदेखि कार्यरत कर्मचारीहरु छन् ।

Advertisement

आन्तरिक प्रतिस्पर्धाका नाममा कर्मचारी नियुक्ति गर्दा गण्डकी प्रदेशभित्रका स्थानीय तहमा हाल कार्यरत कर्मचारीहरूको सरुवा बढुवा लगायतको वृत्ति विकासको अवसरबाट वञ्चित गराइएको साथै नेपालको संविधानले परिकल्पना गरेको समावेशितायुक्त प्रतिनिधिमूलक सार्वजनिक प्रशासनको भावना विपरीत समावेशिताको अवसरबाट वञ्चित गराइएको आयोगको भनाइ छ ।

योग्यता प्रणालीमा प्रत्यक्ष प्रभाव पर्ने, खुला प्रतिस्पर्धात्मक परीक्षाका लागि उम्मेदवारहरु प्रतिस्पर्धात्मक अवसरबाट वञ्चित भएको समेत देखिएको हुँदा उक्त निर्णय बदर गरिएको आयोगले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया