पोखरा महानगरमा एमालेका जनप्रतिनिधिको विरोध जारी

समाधान संवाददाता २०८१ कार्तिक २५ गते १२:४०

पोखरा । कार्यपालिकाको बैठकबाट करारका कर्मचारी हटाउने पोखरा महानगरपालिकाको निर्णयको विरोधमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले आइतबार पनि प्रदर्शन गरेका छन् ।

Advertisement

उनीहरुले आइतबार महानगरपालिकाको कार्यालयबाहिर जम्ममा भएर विरोध प्रदर्शन गरेका हुन् । कात्तिक १४ गते कार्यपालिको बैठक सकेपछि विदेश गएका मेयर धनराज आचार्य शनिबार पोखरा फर्केका छन् ।

पोखरा महानगरपालिकाको कार्यपालिका बैठकले करारका २८ कर्मचारीलाई कात्तिक महिनासम्मको तलब दिएर बिदा दिने निर्णय गरेको थियो । प्रदेश लोक सेवा आयोगबाट पदपूर्ति भइ कर्मचारी सिफारिस भएकाले ती कर्मचारीलाई हटाइएको थियो । यसमा एमालेले बिमती जनाउँदै आएको छ । उक्त दिनको कार्यपालिका बैठकमा समेत एमालेका प्रतिनिधि सहभागी थिएनन् ।

Advertisement

एमालेका जनप्रतिनिधिले विज्ञप्ति नै निकालेर महानगर प्रमुखले कानूनी प्रावधान विपरीत निश्चित स्वार्थ समूहको इसारामा उक्त निर्णय गरेको आरोप लगाउँदै राजनीतिक दललाई पूर्णतः बेवास्ता गरी आफ्ना कमिकमजोरी ढाकछोप गर्न खोजेको आरोप लगाएका थिए ।

पोखरा महानगरपालिकाका नगर उपप्रमुख बिदामा रहेको र दीपावलीको सार्वजनिक बिदाको मौका छोपी उपप्रमुखसँग बैठकका एजेन्डाका विषयमा सामान्य छलफलसमेत नगरी हुने यस्ता अपारदर्शी निर्णयको जनप्रतिनिधिले आपत्ति जनाएका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया