युनाइटेड किंग्स क्लबको सहयोग

समाधान संवाददाता २०८१ कार्तिक २९ गते ११:३०

पोखरा ।
सामाजिक क्षेत्रमा क्रियाशील युनाइटेड किंग्स क्लब पोखराले देउसी, भैलोबाट संकलितमध्ये केही रकम वृद्धाश्रम र मृगौला पीडितलाई सहयोग गरेको छ । क्लबले पोखरा महानगरपालिका २७ स्थित श्रीकृष्ण प्रणाली मन्दिरमा आश्रित वृद्धवृद्धा तथा बालबालिका लागि ५० हजार बराबरको खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग गरेको हो ।

Advertisement


मन्दिरका संरक्षक कल्याण कार्की तथा व्यवस्थापन समिति सचिव तिलकशाली अधिकारीलाई कार्यक्रमका संयोजक थमनसिं गुरुङ, क्लब अध्यक्ष धीरज गुरुङ, कोषाध्यक्ष कुमार गुरुङ, गण्डकी प्रदेश भलिबल संघका कार्यवाहक अध्यक्ष राजेन्द्र क्षेत्री, कास्की जिल्ला भलिबल संघका कोषाध्यक्ष बुद्ध सिंह, क्लबका सदस्य लगायतले सहयोग समाग्री हस्तान्तरण गरेका हुन् ।


मन्दिरका संरक्षक कल्याण कार्कीले क्लबको सहयोगप्रति आभार प्रकट गरे । उनले मन्दिरअन्तर्गत सञ्चालनमा रहेको आश्रममा १० वृद्ध वृद्धा र १० बालबालिका आश्रित रहेको बताए ।


स्याङ्जाको विरुवा गाउँपालिका २ घर भई हाल पोखरा १४ मझेरीपाटन बस्दै आएकी मृगौला पीडित शान्तिकुमारी गुरुङलाई नगद १० हजार सहयोग प्रदान गरेको कार्यक्रम संयोजक थमनसिं गुरुङले जानकारी दिए । उनले यसअघि पनि आफ्नै पहलमा संकलित रकम १ लाख ३५ हजार सहयोग गरेका थिए ।


‘उहाँ विगत ७८ वर्षदेखि उपचाररत हुनुहुन्छ । उहाँको उपचारको क्रममा धेरै खर्च भइसकेको छ,’ उनले भने, ‘त्यसैले हाम्रो क्लबको तर्फबाट सानै भए पनि सहयोग गरेका हौं । यहाँहरुले पनि सहयोग गर्न चाहनुहुन्छ भने दिल खोलेर सहयोग गरिदिनुहोला ।’

Advertisement


क्लबले तिहारको अवसरमा देउसीभैलो आयोजना गरेको थियो । उक्त कार्यक्रमबाट संकलित रकम कोषमा राखिएको कोषाध्यक्ष कुमार गुरुङले बताए । गत सालमात्रै क्लब स्थापना गरेको बताउँदै एक वर्षभित्र धेरै कार्यक्रम सम्पन्न गरिसकेको जानकारी दिए । क्लबले यसअघि रक्तदान कार्यक्रम, भेट्रान्स भलिबल प्रतियोगिता तथा विभिन्न सचेतनामूलक कार्यक्रम गरेको थियो ।

तपाईको प्रतिक्रिया