महिला स्वास्थ्य स्वयंसेविकालाई तालिम

पोखरा । अन्तोज्योति साइकोलोजिकल काउन्सिल सेन्टर तथा विदुषी साइकोलोजिकल सपोर्ट सेन्टरले पोखरा महानगरपालिका भित्रका महिला स्वास्थ्य स्वयंसेवीलाई मानसिक समस्याबारे अभिमुखीकरण तालिम प्रदान गरेका छन् ।
‘मानसिक स्वास्थ्य विना स्वास्थ्य पूर्ण हुँदैन’ भन्ने नाराका साथ भएको कार्यक्रममा ४२ जना महिला स्वास्थ्यसेवीको सहभागिता रहेको महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका सञ्जाल कास्की अध्यक्ष भीमा पौडेलले जानकारी दिइन् । उनले महिला स्वास्थ्य सेविका सञ्जाल कास्कीको समन्वयमा सामुदायिक मनोसामाजिक परामर्शकर्ताको रुपमा महिला स्वास्थ्य स्वयंसेविका भन्ने विषयलाई केन्द्रित गरी कार्यक्रम गरेको बताइन् ।
उनले हरेक स्वयंसेवीले आफ्नो वडामा मानसिक स्वास्थ्यका कारण हुने गरेका आत्महत्या लगायतका घटनालाई शून्यमा झार्न अभियानका रुपमा लागेको उल्लेख गरिन् । सभ्य वडा निर्माणका लागि मनोसामाजिक परामर्श अति आवश्यक भएकाले एक दिने कार्यक्रम प्रयाप्त नभएको जानकारी दिदै उनले आगामी दिनमा लामो समय अवधिको कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
महिला स्वास्थ्य सेविका सञ्जाल कास्की सचिव संगीता बरालले कार्यक्रमले सुनौलो र स्वास्थ्य समाज निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । कार्यक्रमले महिला स्वास्थ्य स्वयं सेवीको मनोबल उच्च बनाउन सहयोग पुगेको जानकारी दिदै उनले यस्तो प्रकारको कार्यक्रम हरेक तहमा राख्नुपर्ने प्रस्ताव गरिन् ।
कार्यक्रममा हेमजा स्वास्थ्य चौकीमा पूर्व प्रमुख कुश्मराज सुवेदीले निस्वार्थ भावले महिला स्वास्थ्य सेवीले समुदाय स्तरमा स्वास्थ्य सचेतनाको काम गरेको बताए । उनले हरेक मानिस मानसिक रुपमा स्वास्थ भए समुन्नत समाज निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा प्रशिक्षक जमुना शर्मा र गीता बरालले सहजीकरण गरेका थिए ।
तपाईको प्रतिक्रिया