रामबजारमा समुदाय–प्रहरी साझेदारी

समाधान संवाददाता २०८१ मंसिर ४ गते ११:३३

पोखरा ।
वडा प्रहरी कार्यालय रामबजारको आयोजनामा सोमबार समुदाय प्रहरी साझेदारी कार्यक्रम भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्यामबाबु ओलियाको उपस्थितिमा कार्यक्रम गरिएको हो ।

Advertisement


कार्यक्रममा जनप्रतिनिधि, सामुदायिक प्रहरी सेवा केन्द्र, विभिन्न संस्थाका प्रतिनिधि र स्थानीयको सहभागिता थियो । कार्यक्रममा प्रहरीका तर्फबाट गर्नुपर्ने र केही नभएका कामबारे छलफल भएको छ ।


पोखरा १० का वडा सदस्य पूर्ण न्यौपानेले सेती पारी रंगशाला गेटदेखि लेखनाथसम्मको बाटोमा ट्राफिक व्यवस्थापनमा समस्या भएको गुनासो राखे । पछिल्लो समय बुद्धचोकमा बढी ट्राफिक जाम हुने भएकाले त्यसमा ध्यान दिन उनको सुझाव छ ।


मादी गाउँपालिका ७ का वडाध्यक्ष दुर्गाबहादुर गुरुङले पछिल्लो समय ग्रामीण क्षेत्रमा पनि सडक पक्की बन्दै गएकाले तीव्र गतिमा सवारी चलाउँदा दुर्घटनाको जोखिम भएको हुँदा ट्राफिकको ध्यान जानुपर्नेमा जोड दिए । ‘मादीमा सिक्लेस, ताङतिङ लगायत पर्यटकीय क्षेत्र जानका लागि बाटो पिच गर्ने क्रम बढेको छ,’ उनले भने, ‘यसले हामीलाई फाइदा त भएको छ नै तर, स्पिडमा सवारी चलाउँदा दुर्घटनाको उच्च जोखिम छ । त्यसैले ग्रामीण भेगमा पनि ट्राफिक प्रहरीको ध्यान जानुपर्छ ।’


अरु सहभागीले लागुपदार्थ दुव्र्यसनी न्यूनीकरण, सवारीको ओभरस्पिड, हर्न, मोडिफाइड मोटरसाइकल, भुस्याहा कुकुर व्यवस्थापन लगायत विषयमा प्रहरी चनाखो भएर लाग्नुपर्ने बताएका थिए । कार्यक्रममा पोखरा १० का वडाध्यक्ष राजेश गुरुङ, ११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्य, १४ का वडाध्यक्ष बोधबहादुर कार्की र १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका लागि सहकार्य गर्न तयार रहेको बताएका थिए ।

Advertisement


सरोकारवालाको गुनासो सुनेपछि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्यामबाबु ओलियाले शान्तिपूर्ण र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यका साथ नेपाल प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गरे । उनले ट्राफिक व्यवस्थापन र ध्वनी प्रदुषण गर्ने मोटरसाइकल नियन्त्रणका लागि समुदायको पनि साथ आवश्यक रहेको बताए ।


‘लागूऔषध नियन्त्रण, चोरी नियन्त्रण, आत्महत्या न्यूनीकरण कार्यक्रममा समुदाय पनि सचेत हुनुपर्छ,’ उनले भने । ग्रामीण क्षेत्रमा क्षेत्रको सुरक्षा व्यवस्थाका लागि गाउँपालिकासँग सहकार्य गर्ने र त्यस क्षेत्रमा हुने ट्राफिक व्यवस्थापनका लागि समय समयमा चेकजाँच गरिने प्रहरी प्रमुख ओलियाले वाचा गरे । अहिले पोखरा–मुग्लिन सडक निर्माणको चरणमा रहँदा ट्राफिक चिह्न मेटिँदा समस्या भएकाले ट्राफिकसँगै अन्य निकायसँग सल्लाह गरी पुनः रंग लगाउन पहल गर्ने उनले प्रतिवद्धता जनाए ।

तपाईको प्रतिक्रिया