कास्कीमा डेंगीबाट ९ हजार ३ सय ५५ प्रभावित

पोखरा । लामखुट्टेको टोकाइबाट सर्ने डेंगी रोगको संक्रमणबाट कास्कीमा यस वर्ष गत वर्ष भन्दा ३ गुणा बढी व्यक्ति संक्रमित भएका छन् । कास्कीमा यस वर्ष ९ हजार ३ सय ५५ जना मानिस संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय कास्कीका भेक्टर कन्ट्रोल अफिसर यम बरालले जानकारी दिए ।
कास्कीमा गत वर्ष ३ हजार ६९ जना व्यक्ति संक्रमित भएका थिए । नेपाल रेडक्रस सोसाइटी कास्कीले बुधबार आयोजना गरेको डेंगी रोग संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरोकारवालाबीचको समन्वयात्मक कार्यक्रममा उनले सन् २०२२मा कास्कीमा १ हजार ३ सय ४७ जना व्यक्ति डेंगीबाट संक्रमित भएको बताए । ‘देशभरमा कास्की डेंगीबाट सबभन्दा बढी प्रभावित जिल्ला हो । पोखरामा ७ हजार ७ सय ५५ जना व्यक्ति डेंगीबाट प्रभावित भएका छन्,’ उनले भने, ‘सरकारी प्रणालीमा सिमित संक्रमितको संख्या आएको छ । डेंगीको परीक्षण गर्ने स्वास्थ्य संस्था धेरै भएकोले कास्कीमा संक्रमितको संख्या अझै धेरै हुन सक्छ ।’
देशभरमा कास्की डेंगीबाट सबभन्दा बढी प्रभावित जिल्ला
उनले कास्कीका लागि सेप्टेम्बर महिना सबभन्दा बढी घातक बनेको बताए । सेप्टेम्बरमा ४ हजार ८७ व्यक्ति संक्रमित भएको जानकारी दिदै उनले पोखराको वडागत रुपमा तथ्यांक हेर्दा वडा नम्बर ८मा सबभन्दा बढी ८ सय ६६ जना संक्रमित भएको जनाए । उनले पोखराको वडा नम्बर ५मा ७ सय १ र वडा नम्बर १७मा ५सय ८२ जना व्यक्ति संक्रमित भएको उल्लेख गरे ।
उनले अर्को वर्ष डेंगी रोगको संक्रमण अझै बढ्ने संकेत गरे । उनले अहिले लामखुट्टेको बासस्थानको पहिचान गरी लार्भाको खोज नष्ट अभियानलाई प्रभावकारी रुपमा गर्न नसके अर्को वर्ष संक्रमण अझै फैलने बताए । जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रशासक रामबहादुर नेपालीले कास्कीका सबै पालिकामध्ये पोखरा महानगरपालिकाका डेंगु संक्रमण बढी फैलिएको उल्लेख गरे । उनले डेंगी रोकथाम तथा नियन्त्रणको लागि पर्याप्त बजेट नभएको जनाए । उनले रिपोटिङ बढाएरमात्र सही तथ्यांकको नजिक पुग्ने सकिने बताए ।
नेपाल रेडक्रस सोसाइटी कास्कीमा सभापति डण्डराज शर्मा पौडेलले रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी)को समन्वयमा डेंगु रोकथाम तथा प्रतिकार्यको लागि विशेष अभियान सञ्चालन गरिरहेको जनाए । उनले रेडक्रसका ५ पालिकाका ४८ उपशाखा मार्फत समुदाय स्तरमा डेंगी रोग संक्रमण रोकथाम नियन्त्रणको लागि सचेतनामुलक कार्यक्रम गरेको उल्लेख गरे ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका डेंगी रोकथाम तथा प्रतिकार्य कार्यक्रमका फोकल पर्सन नवराज भण्डारीले असारयता कास्कीमा महामारीको रुपमा डेंगीको संक्रमण बढेको जनाए । स्थानीय समुदायको अपनत्वमा तथा विद्यालय स्तर गरेको कार्यक्रम अत्यन्तै प्रभावकारी भएको उनले उल्लेख गरे । उनले डेंगीको संक्रमण जोखिम अझै पनि कायम रहेकोले मेला महात्सवमा डेस्क राखेर पर्चा पम्प्लेट वितरण गर्नुपर्ने बताए ।
कार्यक्रममा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख भरतराज पौडेल, नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका उपसभापतिहरु उर्मिला खड्का र धर्मराज अधिकारी, कोषाध्यक्ष सन्तोष अधिकारी, कार्यवहाक मन्त्री रमा कोइराला न्यौपाने, जिल्ला कार्यसमितिका सदस्य रमेशराज भण्डारी, कार्यालय प्रमुख मोहनसिंह खड्का, गैसस महासंघ कास्कीका उपाध्यक्ष इन्दिरा पौडेल, महिला स्वास्थ्य स्वंयसेवी भीमा पौडेल लगायतले डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागि लामखुट्टेको लार्भा खोज र नष्ट अभियानलाई प्रभावकारी बनाउनु पर्ने बताए ।
तपाईको प्रतिक्रिया