चिसो बढेसँगै याकचौरी बेँसीमा झारिए

सुन्दरकुमार थकाली २०८१ मंसिर ६ गते १६:५७

जोमसोम ।
चिसो बढेसँगै मुस्ताङका याकचौरी लेकबाट बेँसी झारिएका छन् । हिउँदयामसँगै लेकमा बढेको अत्यधिक चिसो छल्न मुस्ताङका याकचौरी पालक किसानले बस्ती नजिकको न्यानो स्थानमा स्थान्तरण गर्न थालेका हुन् । मुस्ताङमा जेठदेखि कात्तिकको अन्तिमसम्म लेकका विभिन्न स्थानमा गोठ खडा गरेर याकचौरी पालन गर्ने गरिएको छ ।

Advertisement


बर्खायामको मौसममा लेकको खर्कमा याकचौरीका लागि अनुकुल हावापानी र पर्याप्त चरन क्षेत्र हुने भएकाले मुस्ताङका समूहगत रुपमा अस्थायी गोठ निर्माण गरी चाकचौरीपालन गर्ने गरिएको छ ।

मुस्ताङका पशुपालक किसानले परम्परागत रुपमा हिउँ पर्ने समयमा बस्तीमा र हिउँ पग्लिने समयमा लेकमा लगेर याकचौरीको व्यवस्थापन गर्ने प्रचलन रहेको याकचौरी हिमालयन चौरी पालक तथा संरक्षण समिति मुस्ताङका सचिव सोजन हिराचनले जानकारी दिए ।


‘हिउँदयामा हिमालको फेदमा हिउँ पर्ने गर्छ, गोठाला र याकचौरीहरुलाई समेत चिसो र हिमपातले निकै सास्ती हुन्छ,’ सचिव हिराचनले भने, ‘चरनक्षेत्र पुरै हिउँले ढाकिन्छ, पशु आहाराको व्यवस्थापन गर्न पनि निकै दुःख हुन्छ ।’ लेकको पाटनमा व्यवस्थापन गरिएको याकचौरी बस्ती नजिक न्यानो स्थानमा झारिँदा याकचौरी र गोठालाहरुलाई रेखदेख गर्नमा समेत निकै सजिलो हुने सचिव हिराचनको कथन छ ।


मुस्ताङको तल्लो क्षेत्र थासाङ गाउँपालिकादेखि उपल्लो मुस्ताङको लोमान्थाङसम्म किसानहरुले याकचौरीपालन व्यवसाय अपनाउँदै आइरहेको हिमालयन याकचौरी पालन तथा संरक्षण व्यवस्थापन समितिका सचिव हिराचनले बताए ।

Advertisement

मुस्ताङका ५ स्थानीय तहमा ४ हजार ७ सय बढी याकचौरी पालन गरिएको छ । जिल्लाका ५ वटै स्थानीय तहका याकचौरी पालन व्यवसायीहरुको हकहित र उत्थानका लागि २०७६ सालमा हिमालयन याकचौरी पालन तथा संरक्षण व्यवस्थापन समिति गठन भइसकेको छ ।


हिमाली तथा उच्चपहाडी जिल्लामा पालन गरिने याकचौरी व्यवसायलाई थप संगठित गर्ने याकचौरी पालकलाई व्यावसायिक र व्यवस्थित तुल्याउनका लागि २०८० सालमा केन्द्रीय संस्थाको रुपमा याकचौरी कृषक महासंघ नेपाल गठन भएको छ ।

हिमाली तथा उच्चपहाडी क्षेत्रमा याकचौरी पालकहरुले भौग्दै आइरहेका समस्या र चुनौतीहरुलाई सहजीकरण गर्ने उद्देश्यले महासंघ गठन भएको हिमालयन याकचौरी पालक तथा संरक्षण समितिका सचिव हिराचनले बताए । हिराचन महासंघको केन्द्रिय महासचिव हुन् ।


हिमालयन याकचौरी पालक तथा सरक्षण समितिको तथ्यांक अनुसार मुस्ताङमा सबैभन्दा धेरै र ठुलो संख्याका याकचौरी पालन व्यवसाय थासाङ गाउँपालिकामा छ । थासाङको २३ गोठमा करिब १ हजार ५ सयभन्दा बढी याकचौरी पालन गरिएको छ ।

मुस्ताङको घरपझोङमा ७ वटा गोठमा करिब ७ सयभन्दा बढी, बारागुङ मुक्तिक्षेत्रमा ३ वटा गाठमा ५ सयभन्दा बढी, लोघेकर दामोदरकुण्डमा २ गोठमा ५ सय बढी र लोमान्थाङ गाउँपालिकामा करिब १ हजार ५ सयभन्दा बढी याकचौरी पालन गरिएको छ ।


मुस्ताङको थासाङमा बर्खायामको मौसममा बतासे लेक, मार्चे लेक, मुलिखर्क लगायत स्थानमा याकचौरी पालन गर्ने गरिएको छ । यहाँ थासाङको सौरु, कोबाङ, कुञ्जो, लार्जुङ, बोक्सी खोला र नाउरिकोटका किसानले याकचौरी पाल्छन् । घरपझोङको मार्फा, स्याङ र जामसोमका गरी ७ घरधुरीले याकचौरी पालेका छन् । उपल्लो मुस्ताङको लोमान्थाङ—५ पनि ठूलो संख्यामा याकचौरी पालन गरिएको छ ।


समुद्री सतहको झन्डै ४ हजारभन्दा अग्लो उचाइमा परम्परागत रुपमा पालन गरिने याकचौरी व्यवसायमा पछिल्लो समय जलवायु परिवर्तनका कारण निकै समस्या र चुनौती थपिएको थासाङ—२ का वडाध्यक्ष गौतम शेरचनले उल्लेख गरे ।

बर्खायाममा जलवायु संकटकै कारण हिमालमा हिउँ जम्न छोडेको, पानीका मुहानहरु सुक्दै जान जान थालेको र लेकको पाटनमा घाँस उम्रिन छोडेर झारहरु पलाउन थालेकाले पशु व्यवस्थापनमा निकै समस्या पर्ने गरेको वडाध्यक्ष शेरचनको भनाइ छ ।

‘लेकमा जाने पदमार्ग बाटो जीर्ण र असहज भइरहेको छ,’ वडाध्यक्ष शेरचनले थपे, ‘हिमचितुवा तथा अन्य वन्यजन्तुका कारण याकचौरीका पाठापाठीहरु बर्सेनि असुरक्षित बन्दै गइरहेका छन् ।’ वडाध्यक्ष शेरचनले वन्यजन्तुबाट हुने क्षतिको आकलन गरी एक्याप कार्यालयले आंशिक भएपनि राहत प्रदान गर्ने गरेको बताए ।


अत्यधिक चिसो र हिमपातका कारण २०७५ सालमा उपल्लो मुस्ताङको लोमान्थाङ लेकमा चरनक्षेत्रमा व्यवस्थापन गरिएको ठूलो संख्यामा याकचौरी हिउँमा पुरिएर मरेका थिए । त्यससमय गण्डकी प्रदेश सरकारले पीडित याकचौरी पालकहरुको यकीन गरी क्षति राहत उपलब्ध गराएको थियो । थासाङको धौलागिरी आईसफलको मुलिखर्कमा पनि हिमपहिरोका कारण दर्जनौं याकचौरीको पुरिएर मृत्यु भएको थियो ।


मुस्ताङमा सामूहिक र व्यक्तिगत रुपमा विभिन्न प्रयोजनका लागि याकचौरी पालन व्यवसाय गर्ने गरेको पाइन्छ । लेकको चिसो हावापानीमा पालन गरिएका याक/चौरीले हिमाली जटिबुटी सेवन गर्ने भएकाले यसको मासु स्वादिलो र पोषिलो हुने जनविश्वाश रहिआएको छ ।


मुस्ताङमा एउटै जिउँदो याकको मूल्य १ लाख ३० हजारदेखि १ लाख ५० हजारसम्म पर्छ । मुस्ताङको तल्लो क्षेत्र अन्तर्गत मार्चे लेक, बतासे लेक, नमुख लेक र बोक्सी खोलमा याकचौरीको आलो रगत खाने मेला लाग्छ । वैकल्पिक आम्दानीको रुपमा यहाँका पशुपालक किसानले याकचौरीको भेटेरिनरी परीक्षण गराएर याकचौरी आलो रगत निकालेर सर्वसाधारणलाई बिक्री गर्ने गर्ने प्रचलन छ ।

याकचौरीको आलो रगत सेवन गर्नाले दीर्घरोगका बिरामीलाई फाइदा पुग्ने जनविश्वास छ । याकचौरीको आलो रगत खान जिल्ला बारिहबाट उल्लेख्य सर्वसाधारण मुस्ताङ आउने भएकाले आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत ठूलो टेवा पुगेको छ ।


हिमाली क्षेत्रमा सदियौ वर्षदेखि पालन गर्दै आइरहेको याकचौरी व्यवसायलाई चौरी प्रजातीको रुपमा सूचीकृत गरेकाले यहाँका किसानलाई याकचौरीको मासु जिल्ला बाहिर निकासा गर्दा कानुनी जटिलता उत्पन्न हुने गरेको छ । तर, स्थानीय स्तरमा याकचौरीको मासु बेचबिखन गर्नमा भने कुनै समस्या परेको छैन । सरकारले हिमाली याकचौरीलाई चौरी गाईको सूचीबाट हटाउन महासंघले पहल गरिरहेको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया