शान्ति वनवाटिकामा पोखरा बहुमुखी क्याम्पसको सरसफाई

समाधान संवाददाता २०८१ मंसिर ११ गते १५:२४

पाेखरा ।
पोखरा बहुमुखी क्याम्पसले ३८ औं वार्षिकोत्सव अवसरमा मंगलवार बिहान नयाँबजार शान्ति वनवाटिकामा सरसफाई गरेको छ ।

Advertisement


क्याम्पस सञ्चालक समिति, प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूको सक्रियतामा सरसफाई गरिएको क्याम्पस प्रमुख शिशुकला पराजुलीले जानकारी दिइन् ।


सरसफाई अन्तर्गत संकलन गरिएको फोहर महानगरपालिका मार्फत व्यवस्थापन गरिएको उनले बताइन् । १४ गते हुने वार्षिक साधारणसभा तथा वार्षिकोत्सवको सन्दर्भमा क्याम्पसले आइतबारदेखि नै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।


विद्यार्थीमा रहेको प्रतिभा प्रष्फुटन, नेतृत्व तथा क्षमता विकास गर्न विभिन्न सिर्जनशील कार्यक्रम गरिएको वार्षिक उत्सव मुल आयोजक समितिको संयोजक एवं क्याम्पस प्रमुख पराजुलीले जानकारी दिइन् ।


सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु पनि सञ्चालन गर्न लागिएको उनको भनाइ छ । आइतबार निबन्ध लेखन तथा आन्तरिक भलिबल प्रतियोगिता भएको थियो भने सोमबार लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान र सचेतना कार्यक्रम क्याम्पसले गरिसकेको छ ।

Advertisement


वार्षिक उत्सव अन्तर्गत भोलि बुधबार बिहान क्याम्पस प्राङगणमा रक्तदान कार्यक्रम गर्ने तयारी छ भने बिहीबार कवितावाचन प्रतियोगिता हुनेछ । शुक्रबार अन्तिम दिन वार्षिकोत्सव मूल समारोह आयोजना गरिनेछ ।


सो अवसरमा विविध सांस्कृतिक कार्यक्रमसहित विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत, सम्मान तथा छात्रवृत्ति प्रदान गरिने क्याम्पसले जनाएको छ । वि.सं. २०४४ सालमा पोखराको टुंडिखेलमा स्थापना भएको क्याम्पस २०७९ मंसिरदेखि आफ्नै भवन नयाँबजार शान्ति वनवाटिकावाट सञ्चालन हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया