फेवा सहकारीको तालिम

पोखरा ।
फेवा बचत तथा ऋण सहकारीको रजत जयन्तीको अवसरमा आयोजित सहकारी सदस्य शिक्षा कार्यक्रममा एक सय ५० जनालाई तालिम दिइएको छ । शिक्षा उपसमितिको सक्रियतामा भएको तालिम निवर्तमान अध्यक्ष क्या चन्द्रप्रसाद गुरुङले सुरुआत गरे ।
उनले सहकारीको हालको अवस्था र आफ्ना सेयर सदस्यलाई कसरी सक्रिय बनाउने र सहकारीको नीति, नियम र सहकारीका सदस्य हुन के के बुझ्नुपर्ने जानकारी गराउने उद्देश्य राखी कार्यक्रम हुनु उचित भएको बताए । राष्ट्रिय सहकारी बैँक गण्डकी प्रदेशका प्रमुख नरेश पाण्डेले सेयर सदस्यहरूले संस्थाप्रति गर्नुपर्ने दायित्व, संस्था सञ्चालन गर्न जिम्मेवार व्यक्ति इमान्दार हुनुपर्ने, आगामी दिनमा केन्द्रकै उत्कृष्ठ संस्था बनाउन सदस्यहरुको महत्वपूर्ण योगदान हुनुपर्नेमा जोड दिए ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिभक्त पौडेलले २७ सेयर सदस्यबाट ४६ हजार ५ सय पुँजी जम्मा गरी सुरुवात गरेको संस्थामा हाल २ हजार ६ सय २३ जना सेयर सदस्य र १ अर्ब ३२ करोड रूपैयाँको कारोबार भएको जनाए । संस्थाको जगेडा कोषमा ८ करोड २ लाख रूपैयाँ छ ।
तालिममा सहभागी तमु सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चित्रबहादुर गुरुङले प्रतिष्ठानको नाममा रहेको अक्षयकोषबाट प्राप्त ब्याजबाट हाल नेपालका २२ जिल्लामा गुरूङ जातीय पहिचान भएका अति बिपन्न वर्गका बालबालिकालाई छात्रवृत्ति दिएर पठनपाठन कार्यमा सहयोग गरेको सुनाए । सेयर सदस्य हरिबहादुर थापा लगायत ले सदस्यहरुले सहकारीको अहिलेको परिस्थितिबारे छलफल गरी सुझाव आदानप्रदान गर्र्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा संस्थाका सञ्चालक किरन वैद्य बिजुक्छे, शिक्षा समिति सदस्य किरण पाण्डे, फेवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सम्मरबहादुर श्रेष्ठ र फेवा सहकारी शिक्षा समितिका सदस्य ऋषिराम पौडेलले बोलेका थिए ।
तपाईको प्रतिक्रिया