राधाकृष्ण मन्दिरको वार्षिकोत्सव

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रमको ६० औं वार्षिकोत्सव एवं राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयको १२ औं वार्षिकोत्सव, अभिभभावक दिवस तथा पुरस्कार वितरण एक समारोह बुधबार भएको छ ।
राधाकृष्ण मन्दिर शान्ति आश्रम परिसरमा आयोजित कार्यक्रम राष्ट्रिय परोपकार महासंघ नेपालका अध्यक्ष भागवत् भाष्कर कमलनयन गौतमले उद्घाटन गरे । गौतमले गुरुकुलका माध्यमबाट समाजको रुपान्तरणका लागि योगदान गर्न सकिने बताउँदै त्यसतर्फ लाग्नु जरुरी भएको धारणा राखे । पोखरामा हाल नौ वटा गुरुकुल सञ्चालनमा आएको बताउँदै उनले सबैको सामूहिक प्रयासमा बैदिक धर्म संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए ।
राधाकृष्ण गुरुकुल लगायत गुरुकुलहरूका समस्या समाधानका लागि आफू निरन्तर लाग्ने उनको भनाइ छ । राधाकृष्ण गुरुकुल परिसर नजिकै भइरहेको फोहोर व्यवस्थापनको विषयसँगै यहाँका हरेक समस्याको समाधानमा हातेमालो गर्दै जाने उनले बताए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष नागेन्द्रप्रसाद रेग्मीले गुरुकुल सञ्चालनलाई दीगो र प्रभावकारी बनाउन सबैको साथ र सहयोग आवश्यक भएको औंल्याए । राधाकृष्ण मन्दिर शान्ति आश्रमसँगै यससँग जोडिएका गुरुकुल र वद्धाश्रमको सामूहिक प्रयास आवश्यक हुनेमा उनले जोड छ ।
राधाकृष्ण मन्दिर शान्ति आश्रमका उपाध्यक्ष गणेशबहादुर खत्रीले गुरुकुल सञ्चालनमा लागि वार्षिक २८ लाख रुपैयाँ खर्च हुने गरेको र यसका लागि १८ लाख रुपैयाँमात्र आउने भएकोले बाँकी १० लाख रुपैयाँको स्रोत जुटाउन समस्या पर्ने गरेको उल्लेख गरे ।
महानगरपालिकाले आफूहरूको विरोधका बाबजुद पनि राधाकृष्ण मन्दिर परिसर नजिकै फोहोर व्यवस्थापन गर्दा यहाँका अध्ययरत विद्यार्थी, जृद्धाश्रममा बस्दै आएका ज्येष्ठ नागरिकका साथै भक्तजन प्रदूषणको मारमा परिरहेको बताउँदै उनले यही फोहोर व्यवस्थापनका नाममा वडामा आएको बजेट यस क्षेत्रका लागि एक रुपैयाँ पनि विनियोजन नभएकोमा दुःखेसो गरे ।
वडा सुदस्य तीर्थबहादुर सुयाँलले राधाकृष्ण मन्दिर, गुरुकुल तथा विद्यालयको सहयोगका लागि वडा प्रतिवद्ध भएको बताउँदै गुरुकुलमा शौचालय निर्माणको काम चाँडै नै सुरु गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
गोगन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेलले यहाँस्थित राधाकृष्ण मन्दिर, गुरुकुल र बृद्धाश्रमको एकतावद्ध प्रयास बढाउँदै यसलाई विशिष्ट धार्मिक एवं शैक्षिक गन्तव्यका रुपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याए । विद्यालयका प्रधानाध्यापक प्रकाश उपाध्यायले विद्यालयको शैक्षिक एवं आर्थिक अवस्था लगायतका विषयमा प्रकाश पारे ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष नागेन्द्रप्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमाम सहायक प्रधानाध्यापक प्रविण पौडेल, पद्मजगत स्मृति प्रतिष्ठानका उपाध्यक्ष झलकप्रसाद खनाल, विद्यालयका शिक्षक दामोदर गौतम, माधवशरण उपाध्याय, विद्यार्थीहरू अमर घिमिरे, संदिप सापकोटा, अनिश दहाल लगायतले बोलेका थिए ।
वार्षिकोत्सवका अवसरमा विद्यालयको दीर्घकालीन सञ्चालन र व्यवस्थापनका लागि अक्षयकोष स्वरुप मातृका सिग्देलको स्मृतिमा हरिमाया सिग्देल र परिवारजनले ५१ हजार १ सय ११ रुपैयाँ, भगवती पन्तले ५२ हजार ५५ रुपैयाँ, खगराज अधिकारीले ३७ हजार रुपैयाँ, वासुदेव दासी तिवारीले ५० हजार रुपैयाँ, दीव्यरमण अर्यालले १५ हजार पाँच रुपैयाँ, सूूर्यमणि सुवेदीले १५ हजार पाँच रुपैयाँ, विष्णुुमाया पण्डितले १५ हजार १५५ रुपैयाँ, गोविन्दप्रसाद पगेनीले ११ हजार १ सय ११ रुपैयाँ अक्षयकोष रकम हस्तान्तरण गरे ।
कार्यक्रमकै अवसरमा गुरुकुलबाट एसइई उत्तीर्ण विद्यार्थीहरू सन्दीप पौडेल, अंकित पौडेल, अभिषेक आचार्य, सुशिल खनाल, कृष्ण घिमिरे र रुपेश हुमागाईलाई सम्मान गरियो । गोविन्दप्रसाद कोइरालाद्वारा स्थापित छात्रवृत्ति अक्षयकोषबाट कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरु सुदीप रेग्मी, नीराजन दहाल, किस्मत रिजाल, रोहित शर्मा र सन्दीप सापकोटालाई पुरस्कृत गरिएको छ ।
कार्यक्रममा विद्यार्थीहरूले राधाकृष्ण मन्दिर शान्ति आश्रमका महन्त प्राज्ञ मुकुन्दशरण उपाध्यायले रचना गरेको नेपाली हाम्रो श्रम र सीप कविता वाचन गरेका थिए भने विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुतसमेत गरियो ।
२०८० को वार्षिक परीक्षामा उत्कृष्ट प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने क्रमशः कक्षा ७ का नीराजन दाहाल, अजय घिमिरे र सुशान्त मरासिनी, कक्षा ८ का कीस्मत रिजाल, आशिष सापकोटा, र प्रहार दाहाल, कक्षा ९ का रोहित शर्मा, सन्दीप शर्मा र अमर घिमीरे, कक्षा १० का अनीष दाहाल, सन्दीप सापकोटा र गौरव अधिकारीलाई पुरस्कृत गरिएको छ ।
तपाईको प्रतिक्रिया