राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भव : उपप्रधानमन्त्री सिंह

दमौली । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरता भए मात्रै विकास निर्माणको कामले गति लिने बताउनुभएको छ ।
तनहुँको भानु नगरपालिका–१ भन्सारस्थित नयाँ सहर विकास आयोजनाको एकीकृत भवनको आज उद्घाटन गर्दै मन्त्री सिंहले देशलाई आर्थिक समृद्धिमा लैजान दुई ठूला दल मिलेर सरकार बनाएको बताउनुभयो ।
छिनछिनमा सरकार परिवर्तन हुँदा विकासको काम अलपत्र पर्न थालेको महसुस भएपछि देशको विकासका लागि पनि दुई दल मिल्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “वर्षमा दुई/तीन वटा सरकार परिवर्तन हुँदा जनताको पक्षमा काम गर्न नसकिएको धेरै वर्षको अनुभवबाट महसुस भएको छ । राजनीतिक स्थायित्व दिँदै देशलाई समृद्धितर्फ लैजान नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सहमति भएर सरकार बनेको हो ।”
वर्तमान सरकारको प्रमुख कार्यभार आर्थिक समृद्धि र जनताको पक्षमा काम गर्नुरहेको बताउँदै उहाँले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुदृढ र संस्थागत गर्दै संविधानबाट प्राप्त अधिकारलाई प्रवर्द्धन गर्दै अगाडि बढ्नुपर्छ ।”
हरेक नेपालीको जीवन र जीविकोपार्जन सहज बनाउने कार्यक्रम ल्याउने सरकारको दायित्व रहेको उल्लेख गर्दै त्यसतर्फ सरकार केन्द्रित रहेको मन्त्री सिंहको भनाइ छ । मन्त्री सिंहले रोजगारमूलक शिक्षामा जोड दिनुपर्ने बताउँदै हरेक नगरपालिकाले विद्यालयमा रोजगारमूलक शिक्षाको कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “परम्परागत शिक्षाले मात्रै समृद्धि सम्भव हुँदैन । शिक्षालाई रोजगारसँग जोड्नुपर्छ ।”
मन्त्री सिंहले भानु नगरपालिकाले सञ्चालन गर्न लागेको जग्गा वर्गीकरणको कार्यक्रमलाई मन्त्रालयले सहयोग गर्ने बताउनुभयो ।
भानु जन्मस्थल निरीक्षण
उपप्रधान सिंहले आदिकवि भानुभक्त आचार्यको जन्मस्थान तनहुँको चुँदीरम्घाको निरीक्षण गर्नुभएको छ ।
मन्त्री सिंहले भानु नगरपालिका–४ चुँदीरम्घास्थित भानुभक्त जन्मस्थल विकास समितिको कार्यालय भवन निरीक्षण गर्नुका साथै भानुभक्त आचार्यको पूर्णकदको शालिकमा माल्यार्पण गर्नुभयो ।
मन्त्री सिंहले भानुजन्मस्थलमा गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, पूर्वनगरप्रमुख उदयराज गौली, भानु जन्मस्थल विकास समितिका अध्यक्ष रामकुमार श्रेष्ठले स्वागत गर्नुभएको थियो ।
निरीक्षणपश्चात् मन्त्री सिंहले भानु जन्मस्थललाई साहित्यिक पर्यटनको केन्द्र बनाउनुपर्ने र त्यसमा सरकारले सहयोग गर्ने बताउनुभयो । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्तको योगदानलाई चीरस्थायी बनाउनुपर्नेमा उहाँको जोड थियो । रासस







कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया