पोखरामा सुरु भयो शुक्लागण्डकी कोटीहोम, असल कर्म नै धर्मः प्रदेश प्रमुख

समाधान संवाददाता २०८१ मंसिर १७ गते १८:२४

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले असल कर्म गर्नु नै धर्म रहेको विचार व्यक्त गरेका छन् । जुनसुकै धर्मको सार पनि असल कर्म भएकाले मानव हुनुका नाताले सर्वधर्म समभावको भावनाले अघि बढ्नुपर्ने उनको भनाइ छ ।

Advertisement

पोखरा१५ स्थित ऐतिहासिक स्थल ढुंगेसाँघुको पट्नेरीमा अवस्थित अन्नपूर्णेश्वर शिवालय मन्दिर परिसरमा ऐतिहासिक शुक्लागण्डकी कोटीहोम २०८१ समुद्घाटन समारोहमा उनले यस्तो बताएका हुन् । ‘स्वच्छ एवं नैतिक समाजको निर्माण गर्न अनुशासन आवश्यक छ । अनुशासन धर्मले सिकाउँछ । धर्म, अध्यात्म र साधना भनेको हाम्रो समाजका ऐना हुन्,’ उनले भने, ‘जसले असल समाज निर्माण गर्ने बाटोमा अगाडि बढाउँछन् । असल संस्कार र संस्कृति मुलुक समृद्धिका आधार हुन् ।’

प्रदेश प्रमुख भट्टले धार्मिक पर्यटनको विकासका लागि शुद्ध मनहरूबाट यस्ता सत्कर्मका प्रयास आवश्यक रहनेमा जोड दिँदै विश्वका कयौँ देशले धार्मिक पर्यटनबाटै विकासमा फड्को मारेको अवस्था रहेको बताए ।
अन्नपूर्णेश्वर शिवालय धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिको आयोजना, पोखरा महानगरपालिका वडा नं. १५ कार्यालयको समन्वयमा आयोजित कोटीहोममा प्रमुख वाचक, संरक्षक तथा यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल, ब्रह्मनिष्ठ १००८ सन्त शिरोमणि पञ्चधामका संरक्षक श्री लोकानत्द महाराजजी लगायतले कथा वाचन गर्ने छन् ।

यस स्थानमा विगतमा पनि साधुसन्त महन्त सिद्धपुरुषहरुले कोटीहोम लगाएको र अहिले करिब ३१ वर्षपछि यस पवित्र भूमिमा विभिन्न उद्धेश्यका साथ कोटीहोम भक्तिज्ञान महायज्ञ आयोजना गरिएको आयोजकको भनाइ छ ।

पर्यटन प्रवद्र्धनको लक्ष्यसँगै मन्दिर उद्घाटन, प्राण प्रतिष्ठा, लघु रूद्रीसहितको विराट धनधान्यान्चल कोटी होम, कोटी दीप प्रज्वलन, पितृ उद्धार, भक्तिज्ञान महायज्ञ गर्न लागेको बताएको छ । निःशुल्क ब्रतबन्ध, निःशुल्क चौरासी पूजाको व्यवस्थापन, ज्येष्ठ नागरिक मिलन केन्द्र भवन निर्माण, सेती नदीमा स्नान गर्न जाने १०८ सिँढी निर्माण, १०८ गौमुखी धारा निर्माण, १०८ शिवलिंग स्थापना गरिने उद्देश्य राखिएको छ ।

Advertisement

सेती नदीमा अकालमा ज्यान गुमाएकाहरुको मुक्तिको कामना गर्दै विशेष पूजा, विपन्न बालबालिकालाई शिशु स्याहारदेखि कक्षा ३ सम्म निःशुल्क पठनपाठनको व्यवस्थापन, प्रेम मन्दिर शिलान्यास, प्राकृतिक पुलमुनि रहेको गुप्त तीर्थमा रहेको मन्दिर दर्शनका लागि बाटो निर्माण, पट्नेरीमा रहेका २८० घरधुरीलाई शुद्ध खानेपानीको निःशुल्क व्यवस्था, शवदहन गर्नको लागि दाउरा राख्ने घर, शौचालय र सार्वजनिक धारा निर्माण लगायतका पवित्र उद्देश्यका साथ यस धार्मिक समारोह आयोजना गरिएको आयोजकको भनाइ छ ।

तपाईको प्रतिक्रिया