लैंगिक हिंसाविरुद्धको अभियानमा जोन्टा क्लब

समाधान संवाददाता २०८१ मंसिर २२ गते १६:०४

पोखरा । लैंगिक हिंसाविरुद्धको अभियानमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको जोन्टा क्लब अफ पोखराले चेतनामूलक सडक नाटकसँगै दीप प्रज्वलन गरेको छ । मानवअधिकार चोकमा आयोजित कार्यक्रममा पोखरा थिएटरका कलाकारहरुसँगको सहकार्यमा सडक नाटक ‘दबिएका आवाजहरु’ प्रस्तुत गरिएको हो ।

Advertisement

हिंसारहित समाज निर्माण गरौं भन्दै सहभागीहरुले मानवअधिकार चोकदेखि बिपीचोक हुँदै मानवअधिकार चोकसम्म दीप प्रज्वलन गरे । कार्यक्रम संयोजक वन्दना कार्की केसीले जोन्टा क्लब अफ पोखराद्वारा सञ्चालित अभियानले सभ्य र हिंसारहित समाज निर्माण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन् ।

क्लबका अध्यक्ष रोजिना रञ्जित बिजुक्छे १० डिसेम्बरसम्म विश्वभर चल्ने यो अभियान नेपालमा ‘हामी सबैको प्रतिबद्धता, लैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ सुरु भएको जानकारी दिइन् । सन् १९८० देखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसाविरुद्धको दिवस मनाउँदै आए पनि सन् १९९९ मा संयुक्त राष्ट्रसंघले यसको अनुमोदन गरेपछि महिलामाथि हुने हिंसाविरुद्धको विभिन्न अभियान सुरु भएको उनले जनाइन् । नेपाल प्रहरीकी गण्डकी प्रदेश प्रमुख डिआइजी दुर्गा सिंहले कुनै पनि प्रकारका लैंगिक हिंसा र विभेवविरुद्ध खुलेर बोल्न कार्यक्रमका सहभागिहरुलाई आग्रह गरिन् ।

कार्यक्रम सञ्चानलका क्रममा क्लबका सचिव सिर्जना कार्कीले नेपाल सरकारले हरेक वर्ष नोभम्बर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसाविरुद्धको राष्ट्रिय अभियान सञ्चालन गर्ने र नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको राष्ट्रिय अभियान दिवसको रुपमा मनाउने निर्णय अवगत गराइन् ।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठ, रेबान पोखराका उपाध्यक्ष वसन्त गौतम, पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी, आयोजक क्लवका निवर्तमान अध्यक्ष मोनिका थापा, पोखरास्थित विभिन्न विद्यालयका विद्यार्थी तथा समाजका अन्य अगुवाहरुको सहभागिता थियो ।

Advertisement

तपाईको प्रतिक्रिया