घरपझोङ र ललितपुरको भगिनी सम्बन्ध

समाधान संवाददाता २०८१ मंसिर २२ गते १९:००

जोमसोम । मुस्ताङको घरपझोङ गाउँपालिका र ललितपुर महानगरपालिकाबीच अन्तर स्थानीय तह भगिनी सम्बन्ध स्थापित भएको छ । गाउँपालिका र महानगरपालिकाबीच आपसी हित र असल अभ्यास लगायत विविध विषयमा आउँदा दिनहरुमा समन्वय र सहकार्य गर्ने गरी शनिबार १३ बुँदे समझदारी गरी द्विपक्षीय सहमति भएको हो ।

Advertisement

महानगरपालिका र गाउँपालिकाबीच भगिनी सम्बन्ध गाँस्न ललितपुर महानगरपालिकाको टोली मुस्ताङ आएको थियो । महानगरपालिकाका मियर चिरीबाबु महर्जन, प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ र महानगरका प्रवत्ता राजु महर्जनसहित जनप्रतिनिधि र कर्मचारी टोली भगिनी सम्बन्ध स्थापनाका लागि मुस्ताङ आएका थिए ।


भगिनी साइनो जोड्ने उद्देश्यसहित सिंगो ललितपुर महानगरपालिकाको टोली मुस्ताङ आएको थियो । शनिबार मुस्ताङको घरपझोङ गाउँपालिकामा आयोजित कार्यक्रममा २ पालिकाले १३ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरी भगिनी सम्वन्धमा बाँधिएको घोषणा गरे । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन र घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले संयुक्त रुपमा भगिनी सम्बन्ध स्थापना भएको समझादारीपत्रमा हस्ताक्षर गरी यसको घोषणा गरेका हुन् ।

महानगर र पालिकाबीच भएको भगिनी सम्बन्ध स्थापनाको औपचारिक कार्यक्रममा ललितपुर महानगरपालिकाका मियर चिरीबाबु महर्जनले महानगरपालिका र पालिकाबीचको खाडललाई यसप्रकारको भगिनी सम्वन्ध स्थापनाले नयाँ सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे । ‘आजका मितिबाट महानगर हिमालसँग प्रत्यक्ष जोडिएको छ, हिमाल र हाम्रोबीच ऐतिहासिक, धार्मिक र सांस्कतिक समानता छ,’ महानगर प्रमुख महर्जनले भने ।

घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले ललितपुर महानगरपालिका र घरपझोङको भगिनी सम्बन्ध विस्तार आकाश र पातालको एकै ठाउँमा मिलन भएको अनुभूति भएको सुनाए । ‘हाम्रो पूर्वजका अनुसार ‘सम्बन्ध जोड्दा धनी र गरिबको सन्तुलन मिलाउनुपर्छ रे,’ उनले भने ।

Advertisement

ललितपुर महानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले ललितपुर र घरपझोङको भगिनी सम्बन्ध विस्तारले स्थानीय तहमा कार्यसम्पादन हुने असल अभ्यास आदानप्रदान हुने बताइन् ।

ललितपुर महानगरपालिका र घरपझोङबीच आपसी हितमा सहयोग आदानप्रदान गर्ने घोषणा सभामा सामूहिक प्रतिवद्धता गरिएको छ । घोषणा सभामा घरपझोङकी उपाध्क्ष जमुना थकाली, वडा २ का अध्यक्ष मानबहादुर हिराचन र ललितपुर महानगरपालिका वडा ९ का अध्यक्ष राजु महर्जनले अन्तर स्थानीयबीच भएको भगिनी सम्वन्धलाई आगामी दिनमा प्रगाढ बनाएर लैजानुपर्नेमा जोड दिएका थिए ।

भगिनी सभा घोषणा कार्यक्रममा दुबै पक्षबाट मायाको चिनो र आफ्नो क्षेत्रको उत्पादन तथा हस्तकला सामाग्री उपहार स्वरुप आदानप्रदान गरिएको थियो । मुस्ताङ आएको ललितपुर महानगरपालिकाको जनप्रतिनिधि तथा कर्मचारी टोलीलाई घरपझोङ गाउँपालिकाको समन्वयमा मुस्ताङको ढुम्बाताल, थकाली होमस्टे, जोमसोम, स्याङमार्फा लगायत प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ क्षेत्रको दर्शन गराएको थियो ।

मुस्ताङको घरपझोङ गाउँपालिकामा आयोजित घोषणा सभामा दुबै स्थानीय तहले आफूले गर्ने सेवा र सोको प्रक्रिया तथा व्यवस्थापनका सम्बन्धमा जनप्रतिनिधि र कर्मचारीबीच निरन्तर अन्तरक्रिया गर्ने, दुबै पक्षबाट भएका विशेष प्रकृतिका कार्यक्रमहरुमा निमन्त्रणा गरी उपस्थिती गराउने, दुबै पक्षबाट छलफल तथा आवश्यक ज्ञानसीप आर्जनका लागि समझादारीका क्षेत्रमा अनुभव आदानप्रदान गर्न द्विपक्षीय भ्रमणका कार्यक्रम आयोजना गर्ने, दुबै पक्षका पुस्तक, बुलेटिन, आदि प्रकाशन लगायत संस्थागत गुरुयोजना, आवधिक योजना, विषयगत योजना, वार्षिक बजेट तथा कार्यक्रमहरुको नीति, निर्देशिका र कार्यविधिहरु आदान—प्रदान गर्ने, दुबै पक्षको आधिकारिक वेबसाइटलाई लिङ्केज गराइने, भौतिक सरचनाको विकास तथा सामाजिक विकासले सहरी विकासको सूचकको रुपमा कार्य गर्ने तथा विकासका लागि एकआपसमा समन्वय र सहयोग पुर्‍याउने, पूर्वाधार विकास, सामाजिक विकास, सहरी विकास, पर्यटन, वातावरण संरक्षण, आर्थिक, सांस्कृतिक तथा शिक्षा, स्वास्थ्य लगायतको विकासमा आपसी सहयोग र अनुभव आदानप्रदान गर्ने, विकासका सफल अभ्यासबाट प्राप्त सिकाइको आदानप्रदान गरी अवलम्वनका लागि प्राविधिक सहयोग आदान—प्रदान गर्ने, विकास आयोजनाको सञ्चालन तथा कार्यान्वनका लागि आन्तरिक तथा बाह्य स्रोत व्यवस्थापन गरी आपसी सहयोग आदानप्रदान गर्ने, स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजारिकण र व्यावसायिकताका लागि सहयोग र सहकार्य गरी अघि बढ्ने, सांस्कृतिक नगरी ललितपुर महानगर र घरपझोङको पर्यटकीय सम्वन्ध विकासमा आपसी सहयोग अभिवृद्धि गर्ने र भ्रमण तथा दुबै क्षेत्रको अवधारणालाई प्रर्वद्धन गर्ने, पर्यटक तथा सांस्कृतिक क्षेत्रको विकासमा निजी पर्यटन व्यवसायी र उनीहरुको व्यावसायिक संगठनको सम्बन्ध सुदृढ तुल्याउने र दुबै पक्षले पर्यटन प्रवद्र्धनका लागि मेला महोत्सव आयोजना गरी पर्यटन क्षेत्रको विकासमा सहयोग अभिवृद्धि गर्ने र पर्यटन विकासका लागि प्राविधिक ज्ञानसीप तथा अनुभवहरुको निरन्तर सहयोग आदान÷प्रदान गर्ने लगायतको १३ बुँदे समझादारी—पत्रमा हस्ताक्षर भएको घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वेदहरि अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया