ढुंगेसाँघु पट्नेरीमा शिवालय मन्दिर उद्घाटन

पोखरा । पोखरा महानगरपालिका वडानम्बर १५ ढुंगेसाँघु, पट्नेरीमा निर्माण भएको शिवालाय मन्दिरको शनिबार उद्घाटन गरिएको छ । १७ गतेदेखि जारी ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ अन्तर्गत सोही स्थानमा निर्माण सम्पन्न भएको मन्दिरको उद्घाटन गरिएको हो ।
यज्ञका प्रमुख वाचक, संरक्षक तथा यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल (कृपालु दास) ले मन्दिरको उद्घाटन गरेका हुन् । ६ महिना पहिला मन्दिरको शिलान्यास गरिएको थियो ।
यस्तै शनिबारै शवदहनस्थल (सेती नदी) जाने बाटो (सिँढी)को पनि शिलान्यस गरिएको छ । पट्नेरीबाट सेती नदीसम्म जानका लागि गोरेटो बाटो भए पनि व्यवस्थित नहुँदा आवतजावत गर्न असहज हुने गरेको छ । बाटोको ज्येष्ठ नागरिक सीता ढकाल, पार्वती ढकाल र सुशीला थापाले संयुक्त रुपमा शिलान्यास गरे । नदीसम्म पुग्नका लागि एक सय आठ सिँढी निर्माण हुने यज्ञ आयोजक समितिका संयोजक नारायण भण्डारीले जानकारी दिए ।
नवनिर्मित शिव मन्दिर प्रवेश गर्ने मूलद्वार निर्माणको जिम्मा पुष्कल ढकालले लिएका छन् । ढकालले मूलद्वारको शिलान्यास गरेका छन् । महतगौंडा र टुटुंगालाई जोड्ने प्राचीन प्राकृतिक पुल ढुंगेसाँघुको तल हहिहर भगवानले तपस्या गरेको गुफा जानका लागि पट्नेरीबाट सिँढीसहितको बाटो निर्माणका लागि शुक्रबार शिलान्यास गरिएको थियो । मंसिर २७ गतेसम्म कोटिहोम सञ्चालन हुने छ ।
तपाईको प्रतिक्रिया