टेवान पोखराको टोली पर्यटन प्रवर्द्धनका लागि चितवनतिर

समाधान संवाददाता २०८१ मंसिर २४ गते २०:२८

पोखरा । पर्यटन प्रवद्र्धनका लागि पोखराका पर्यटन व्यवसायी महिला सक्रिय बनेका छन् । यसै क्रममा पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को टोली ‘पर्यटन प्रवद्र्धन तथा अन्तरक्रिया कार्यक्रम’ लिएर चितवनतर्फ लागेको छ ।

Advertisement

संस्था स्थापनाको ७ वर्ष पूरा भएको अवसरमा टेवान अध्यक्ष कमला गिरीको नेतृत्वमा रहेको टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो । २ दिने भ्रमणका अवसरमा चितवनस्थित पर्यटनसम्बद्ध संघ, संस्थासँग सौराहा थकाली किचन एन्ड होटल सूर्योदयमा पोखरा र चिवतनको पर्यटन प्रवद्र्धनबारे अन्तरक्रिया तय छ । टोलीले भ्रमणका क्रममा पर्यटनको राजधानी पोखरा र समग्र गण्डकी प्रदेश चिनाउने विभिन्न पर्यटकीय गन्तव्यबारे जानकारी, ब्रोसर तथा चिनारी दिँदै पोखरा घुम्ने निम्तो दिनेछ ।

रत्ननगर नगरपालिकाको प्रवद्र्धनमा हुने कार्यक्रमलाई रत्ननगर उद्योग वाणिज्य संघ, क्षेत्रीय होटल संघ चितवन, रेवान, साना पर्यटन व्यवसायी संघ चितवनले सहयोग गरेका छन् ।
भ्रमणमा टेवानका कार्यसमिति पदाधिकारी, सदस्यसहित ३२ पर्यटन महिला व्यवसायीको सहभागिता छ ।

‘दिगो पर्यटनका लागि समान सहभागिता’ नाराका साथ पोखराका पर्यटन व्यवसायी महिलाहरुको सक्रियतामा २०७४ सालमा टेवान स्थापना भएको हो । संस्थाले विविध कार्यक्रम गर्दै आएकोमा गत यस वर्ष दोस्रो संस्करणको ‘तीज सांस्कृतिक महोत्सव गरेको थियो । वैशाखमा अन्तरप्रदेश पर्यटन प्रवद्र्धन कार्यक्रम लिएर मधेस प्रदेश पुगेकोमा त्यसलगत्तै प्रवद्र्धनात्मक कार्यक्रम लिएर थाइल्याण्ड, सिंगापुर र मलेसियाको १० दिने भ्रमण गरेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया