
पोखरा ।
स्थानीय थारु समुदायको संस्कृति, परम्परा, र जीवनशैली अनुभव गर्न चाहने पर्यटकका लागि विशेष गन्तव्य हो पिप्रहर सामुदायिक होमस्टे । नवलपरासीको देवचुली नगरपालिकामा रहेको पिप्रहर होमस्टे २०७२ सालमा स्थापना गरिएको हो । होमस्टेमा पर्यटकले थारु परिकार चिँचर, राजा रोटी, हाँसको छोयला, घोंगी, कोदोको सेल रोटी लगायतका परिकारका स्वाद चाख्न पाउँछन् ।
थारु जातिको बाहुल्यता रहेको पिप्रहरमा थारु, मगर, ठकुरी र गुरुङ गरि २२ घरमा होमस्टे सञ्चालन छ । थारु जातिको झुप्रो घर यहाँको विशेषता हो । जसले पर्यटकलाई रोचक अनुभव दिने होमस्टे सञ्चालकको विश्वास छ ।
पिप्रहर सामुदायिक होमस्टेका अध्यक्ष चन्द्रमाया महतोले होमस्टे सञ्चालनपछि आत्मनिर्भर, आत्मविश्वासी भएको बताइन् । घरबास कार्यक्रमले नयाँ सीप सिक्ने अवसर, भाषा संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको प्रवद्र्धनमा सहयोग पुर्याएको उनको भनाइ छ ।
पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)ले आयोजना गरेको कार्यक्रममा उनले पर्यटकसँग अन्तरक्रिया गर्दा नयाँ संस्कृति, भाषा, विचार बुझ्ने अवसर पाएको बताएकी हुन् । टेवानले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले २४ र २५ गते दुई दिने भ्रमण कार्यक्रम गरेको छ । ८ औं संस्था स्थापना दिवसको अवसरमा टेवान टोलीले चितवनको सौराह र नवलपुरको देवचुली स्थित पिप्रहर सामुदायिक होमस्टेको भ्रमण गरेको हो ।
कार्यक्रममा ३० जना पर्यटन महिला व्यवसायीको सहभागिता थियो । कार्यक्रमलाई चितवन रत्ननगर नगरपालिका, चितवन उद्योग वाणिज्य संघ, क्षेत्रीय होटल संघ चितवन, रेवान, साना पर्यटन व्यवसायी संघ चितवनले सहयोग गरेका हुन् ।
‘हाम्रो पहिचान भनेको भाषा संस्कृति हो । यसलाई संरक्षण गर्नुपर्छ, स्थानीय आर्गनिक खाना खानुपर्छ भन्ने घरबास कार्यक्रमले चेतनाको विकास गराएको छ,’ महतोले भनिन्, ‘पर्यटन क्षेत्रमा विकास गर्न सकेमा युवालाई विदेश जानबाट रोक्न सकिन्छ । आफ्नो ठाउँको विकास आफैं गर्न सकिन्छ । घरमा बनाएको परम्परागत खाना, हस्तकला, अन्य उत्पादनहरू बेचेर परिवारको जीवनस्तर उकासिएको छ ।’
होमस्टेले थारु समुदायको परम्परा, पहिचान र संस्कृतिलाई बचाइराख्न तथा अन्तर्राष्ट्रियस्तरमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको होमस्टेका उपाध्यक्ष सोमनाथ महतोले बताए ।
उनका अनुसार होमस्टेमा परम्परागत हस्तकला सामग्री किन्न पाइने, वन्यजन्तु अवलोकन, चितवन राष्ट्रिय निकुञ्जको छेउमै रहेकोले होमस्टे वन्यजन्तु प्रेमीका लागि आकर्षक गन्तव्य हो । पर्यटकले हात्ती सफारी, जिप सफारी, र बर्ड वाचिङको मज्जा लिन सक्नेछन् । स्थानीय जैविक उत्पादनमा प्राथमिकता दिइएकाले हरित पर्यटनको उत्कृष्ट गन्तव्य हो ।
होमस्टेमा ब्रेकफास्ट, ननभेज डिनर र बेडको ९ सय रुपैयाँ रहेको महतोले जानकारी दिए । हालसम्म होमस्टेमा ५५ हजार बढी पर्यटक आएको तथ्यांक छ । प्रचारको कमिले विदेशी पर्यटक नआए पनि आन्तरिक पर्यटकको संख्या बढिरहेको छ । पिप्रहर होमस्टे पुग्न पूर्व–पश्चिम राजमार्गबाट नवलपुरको टाइकोट चोक वा रजहरफर्म चोकबाट करिव २ किमि दक्षिणर्फ लाग्नुपर्छ ।
चितवन राष्ट्रिय निकुञ्जको छेउमै रहेकाले होमस्टे वन्यजन्तु प्रेमीका लागि आकर्षक गन्तव्य हो । पर्यटकले हात्ती सफारी, जिप सफारी, र बर्ड वाचिङको मज्जा लिन सक्नेछन् ।
पिप्रहर सामुदायिक होमस्टेले उत्कृष्ट व्यवस्थापन, सांस्कृतिक प्रवद्र्धन र पर्यटकीय योगदानका कारण विभिन्न पुरस्कार प्राप्त गरेको छ । नेपाल पर्यटन बोर्डले स्थानीय संस्कृति संरक्षण र सामुदायिक पर्यटनमा उत्कृष्ट योगदान दिएकोमा सम्मान गरेको छ ।
नयाँ पूर्वाधार विकास, थप सांस्कृतिक कार्यक्रम सञ्चालन, र पर्यावरण संरक्षणका परियोजनाहरू कार्यान्वयन गर्ने योजना रहेको सुनाए । होमस्टेले पर्यटन क्षेत्र र स्थानीय समुदायबीचको सहकार्यलाई सशक्त बनाउँदै, नवलपुलाई मात्र नभइ, सिंगो नेपाललाई पर्यटनको विश्व मानचित्रमा राख्न योगदान पुर्याएको उनको भनाइ छ ।
जति प्रचार गर्यो त्यति पर्यटक भित्राउन सकिन्छ भन्ने विचार सहित भ्रमणमा निस्किएको टेवान अध्यक्ष कमला गिरीले बताइन् । पर्यटनको राजधानी पोखरा र समग्र गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यबारे जानकारी दिँदै पोखरा घुम्ने निम्तो दिइएको उनले बताइन् ।
‘जति धेरै प्रचार र प्रवर्द्धन गरिन्छ, त्यति नै धेरै पर्यटकलाई आकर्षित गर्न सकिन्छ, जसले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउनुका साथै संस्कृति, परम्परा र प्राकृतिक सौन्दर्यलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग गर्छ,’ अध्यक्ष गिरीले भनिन् ।
यातायातको असुविधा, सुरक्षा सम्बन्धी चुनौतीहरू, वातावरणीय प्रदूषण, सेवा क्षेत्रको कमजोरी जस्ता समस्याले पर्यटन व्यवसायमा नकारात्मक प्रभाव पार्ने साथै पर्यटक नआउँदा पर्यटन क्षेत्रबाट हुने आम्दानी समेत घट्ने उनको भनाइ छ ।
पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकारी निकाय, निजी क्षेत्र, स्थानीय समुदाय, र पर्यटन व्यवसायीहरु क्रियाशील हुनुपर्ने बताउँदै गिरीले सामूहिक प्रयासले मात्र पर्यटन व्यवसायलाई दीगो र सफल बनाउन सकिने उल्लेख गरिन् ।

रत्ननगर पर्यटन विकास समितिका अध्यक्ष भेषराज दवाडीले पोखरा र सौराहको विशेषता फरक भएकाले प्रतिस्पर्धी नभएर पुरक भएको बताए । सौराह आएका पर्यटकलाई पोखरा र पोखरा आएकालाई सौराह पठाउन सकियो भने पर्यटनमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।
चितवन राष्ट्रिय निकुञ्जलाई वन्यजन्तु संरक्षणको दृष्टिले अझ प्रभावकारी बनाउन तथा यसलाई विश्वभर प्रख्यात बनाउने उद्देश्यले ‘वन्यजन्तु तथा जैविक विविधता क्षेत्र’ घोषणा गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
वन्यजन्तुको संरक्षण, पर्यावरणीय सन्तुलन, र जैविक विविधताको प्रवद्र्धन गर्ने साथै, पर्यटन गतिविधिलाई व्यवस्थित गर्दै स्थानीय समुदायको सहभागिता र लाभ सुनिश्चित गरिने दवाडीको भनाइ छ ।


प्रमिला कुँवर
पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् ।







सुशासन र निजी क्षेत्रको सुरक्षामा प्रतिबद्ध : प्रधानमन्त्री कार्की
ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ
५४ युनिट रगत संकलन
अनलाइन ठगीबाट बच्न कास्की प्रहरीको आग्रह
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया