रविको मुद्दामा प्रहरी प्रतिवेदन : डेढ अर्ब रुपैयाँ असुल गर्नुपर्ने
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा चलाउन राय

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण लगायतमा मुद्दा चलाउन रायसहित कास्की प्रहरीले प्रतिवेदन दिएको छ । लामिछानेसहित ५ जनामाथि अनुसन्धान सकेर उक्त सिफारिससहित प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय कास्कीमा सोमबार बुझाएको हो ।
प्रतिवेदनमा लामिछानेलाई सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा चलाउनुपर्ने राय छ । कास्की प्रहरीका सूचना अधिकारी वसन्तकुमार शर्माले लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण तीन वटै कसुरमा सजाय हुनुपर्ने मागसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको जानकारी दिए ।
‘हामीले कसुर अनुसारको सजाय हुनुपर्छ भनेका छौं । सहकारी ठगी, संगठित अपराध, अनि सम्पत्ति शुद्धीकरणमा सजाय हुनुपर्ने मागदाबीसहित प्रतिवेदन तयार गरेका छौं,’ डिएसपी शर्माले भने । प्रहरीले प्रतिवेदनमा सूर्यदर्शन सहकारी ठगीमा १ अर्ब ५१ करोड ४० लाख रुपैयाँ बिगो असुल गर्नुपर्ने राय दिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन प्राप्त भएपछि अध्ययनको क्रममा रहेको जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले बताइन् । प्रहरीको राय र प्रतिवेदन अध्ययन, विश्लेषण सुरु भएको छ । प्रतिवेदन अध्ययनपछि मुद्दा चल्ने वा नचल्ने यकीन हुनेछ । मुद्दा चल्ने निर्णय भएमा कुन कुन अभियोगमा मुद्दा चलाउने भन्ने यकीन गरी अभियोगपत्र लगिने उनले सुनाइन् ।
लामिछानेसहित गोर्खा मिडियाका पूर्वसञ्चालक जोशी, नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, सूर्यदर्शन सहकारी ठगीमा जोडिएको लीला पछाईं, सहकारीका सञ्चालक समिति सदस्य कृष्णबहादुर गुरुङसहितलाई अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा मुद्दा चलाउन राय पेस गरेको छ । यसअघि लामिछानेसहितलाई सात पटक म्याद थप गरी अनुसन्धान भएको छ ।
जिल्ला अदालतले यसअघि लामिछानेसहित ५ जनालाई नै ५ दिन अनुसन्धान गर्न म्याद थप गरेको थियो । सोमबार उनीहरुविरुद्ध थपिएको म्याद सकिएकाले पुन म्याद थपका लागि मंगलबार अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ । ‘अनुसन्धान प्रतिवेदन अध्ययन गर्न समय लाग्छ । म्याद थपको माग गर्छौं,’ काफ्लेले भनिन् ।
लामिछाने कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई स्थलमार्ग हुँदै कात्तिक ३ गते बिहान पोखरा ल्याइएको थियो । पूर्वडिआइजी जोशी असोज ६ मा पक्राउ परेका थिए । जोशीलाई पक्राउ गरेकै मितिदेखि लागू हुने गरी ९० दिनभित्र अदालतमा अभियोगपत्र बुझाउनुपर्छ । त्यो म्याद पुस ५ गतेसम्म छ ।
—(सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा चलाउन राय)सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि ९० दिनको हदम्याद भएकाले अब उनीहरुलाई प्रहरीले ४ दिन म्याद थप गरेर अझै हिरासतमा राख्न सक्छ । सरकारी वकिलको कार्यालयले मुद्दा चलाउनुपर्ने देखिए अभियोगपत्र अदालतमा बुझाउनुपर्छ । त्यसपछि भने थुनछेक बहस सुरु हुन्छ । यही शुक्रबारसम्ममा मुद्दा दायर गरिसक्ने सरकारी वकिल कार्यालयको तयारी छ ।
लामिछानेलाई पक्राउ गरी पोखरा ल्याइएपछि प्रहरीले पोखराको सूर्यदर्शनसहित रूपन्देही, चितवन, काठमाडौं र पर्साका सहकारी ठगी प्रकरणमा समेत ती ठाउँमै लगेर बयान लिइसकेको छ । लामिछानेसहितलाई ती सहकारी ठगी प्रकरणमा समेत पक्राउ पुर्जी जारी भइसकेको छ।
सूर्यदर्शनसहित देशैभर जिबी राईको समूहले ५ सहकारी सञ्चालन गरी अर्बाैं हिनामिना गरेको संसदीय विशेष समितिले निष्कर्ष छ । लामिछाने प्रबन्ध निर्देशक रहँदा गोरखा मिडिया नेटवर्कमा देशका विभिन्न भागमा रहेका ५ सहकारीबाट ६५ करोड ५४ लाख रकम गएको संसदीय छानबिन समितिले औंल्याएको छ ।
यसअघि कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भई विचाराधीन रहेका १९ जनाविरुद्ध पनि अनुसन्धान सकेर प्रहरीले पूरक प्रतिवेदन बुझाइसकेको छ । सूर्यदर्शन सहकारी प्रकरणका अनुसन्धान अधिकृतसमेत रहेका प्रहरी नायब उपरीक्षक शर्माले पूरक प्रतिवेदन मंबिसर २६ गते र थप प्रतिवेदन सोमबार बुझाइएको जनाए ।
प्रहरी प्रतिवेदनमा लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाउन सिफारिस गरिएको छ । ६५ जनाविरुद्ध अनुसन्धान भएकोमा ५१ जनालाई प्रतिवादी बनाउन प्रहरी प्रतिवेदनले राय दिएको छ । विपक्षी बनाइएकामध्ये प्रहरीको हिरासतमा ५ जना र ९ जना पुर्पक्षका लागि थुनामा छन् । प्रहरीले प्रतिवादी बनाएकामध्ये ३७ जना अझै फरार छन् ।
मुद्दा दायर भएपछि अदालतबाट पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिएर छाड्ने वा साधारण तारिखमा छाड्नेमध्ये एक आदेश आउनेछ । रविलाई धरौटी वा साधारण तारिखमा छाड्ने आदेश भए पनि उनी छुट्ने छैनन् । अन्यत्रबाट पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले उनलाई प्रहरीले नियन्त्रणमा लिनेछ ।
तपाईको प्रतिक्रिया