चेपाङ विद्यार्थीलाई न्यानो कपडा

पोखरा । चितवन कालिका नगरपालिका ११ सैपाम मा रहेको शुभशान्ति राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । लायन्स क्लब अफ पोखरा लेकसाइड र फेन्ड अफ नेचर (फोन नेपाल) को संयुक्त आयोजनामा क्लबले आइतबार विद्यालयमै पुगेर १ सयभन्दा बढी छात्र÷छात्रालाई न्यानो (पोलर ज्याकेट) वितरण गरेको क्लबका अध्यक्ष धर्मराज थापाले जानकारी गराए ।
चेपाङ समुदायका विद्यार्थीहरुलाई यस वर्षको जाडोबाट केही हदसम्म भए पनि बचाउन क्लब र फोन नेपालले न्यानो कपडा वितरण गरेको उनले बताए । आर्थिक अबस्था निकै कमजोर भएका चेपाङ समुदायका विद्यालयमा १ सय जना विद्यार्थीहरु भए पनि स्थानीय केही बालबालिकासहित १ सय १० थान न्यानो कपडा वितरण गरिएको अध्यक्ष थापाले बताए ।
क्लबका पूर्वअध्यक्ष तथा रिजन चियर पर्सन एवं कार्यक्रम संयोजक नवराज अधिकारीले २ वर्षअघि पनि उक्त स्थानमा न्यानो कपडा वितरण गरिएको उल्लेख गर्दै हरेक वर्ष विभिन्न दाताको सहयोगमा नेपालका विभिन्न क्षेत्रमा यसरी विभिन्न सामाजिक कार्य गर्दै आएको जनाए । ८ वर्षदेखि बर्सेनि चेपाङ समुदायका विद्यार्थीलाई चितनका विभिन्न क्षेत्रमा न्यानो कपडा वितरण गर्दै आएको संयोजक अधिकारीले जनाए ।
विद्यालय व्यबस्थापन समितिका अध्यक्ष सुन्दर प्रजाले विद्यालयको आर्थिक अबस्था कमजोर भएको अवस्थामा विद्यार्थीहरुका लागि जाडोको मौसममा न्यानो कपडा वितरणले स्थानीयलाई धेरै राहत भएको बताए । विद्यालयका प्रधानाध्यापक झलक भट्टले आर्थिक अवस्था कमजोर भएका चेपाङ समुदायका विद्यार्थीका लागि विद्यालय पोसाक तथा स्टेसनरी सामग्री अति नै आवश्यक हुने बताए । न्यानो कपडा २ वर्षपछि पनि पुनः वितरण गर्न आएकोमा क्लबको टोलीलाई धन्यवाद दिए ।
क्लबका अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष इन्द्रमान चौहान, तृतीय उपाध्यक्ष श्याम थापा, सचिव कमल भुजेल, सदस्य राम ढकाल लगायत सहभागिता थियो ।
तपाईको प्रतिक्रिया