थकाली सेवा समितिका पूर्व अध्यक्ष महेन्द्र शेरचनको निधन

पोखरा । थकाली सेवा समितिका पूर्व अध्यक्ष महेन्द्रबहादुर शेरचनको ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । बहुआयामिक प्रतिभाका धनी शेरचनले आफ्नो लामो जीवनकाल समाजसेवामा समर्पित गरेका थिए ।
मुस्ताङको लार्जुङमा जन्मेका उनले जीवनकालमा शिक्षा, समाजसेवा र उद्यमशीलताका क्षेत्रमा उल्लेखनीय योगदान दिए । शेरचनले टुकुचेमा संस्थागत स्कुल खोल्ने पहल गरेका थिए जुन अहिले योगेन्द्रमान शेरचन स्मृति विद्यालयका रुपमा परिचित छ । त्यस्तै, पोखराको ज्ञानभूमि माविलाई ठूलो धनराशि दान गरेर विद्यालयको भौतिक पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याएको थकाली सेवा समितिका पूर्व अध्यक्ष विश्वमोहन गौचन स्मरण गर्छन् ।
शेरचनले थकाली सेवा समितिको स्थापना र विकासमा महत्वपूर्ण भूमिका खेलेका थिए । थकाली समुदायको सामाजिक, सांस्कृतिक र आर्थिक विकासका लागि निरन्तर क्रियाशील थिए । उनले विभिन्न सामाजिक संस्थाहरूलाई आर्थिक सहयोग गरेका थिए । सिद्धार्थ सामुदायिक अस्पताल, कन्या क्याम्पस, जनआदर्श मावि लगायतका संस्थाहरूलाई उनको सहयोग प्राप्त भएको थियो ।
शेरचनले होटल व्यवसाय सञ्चालन गरेका थिए र अन्य व्यापारिक गतिविधिहरूमा पनि संलग्न थिए । शेरचनको निधनले नेपाली समाजलाई एक असल व्यक्तिको अभाव खड्किएको पूर्व अध्यक्ष गौचन बताउँछन् । उनको जीवन र योगदानले हामीलाई समाजसेवा, शिक्षा, समुदायप्रतिको समर्पण र उद्यमशीलता जस्ता महत्वपूर्ण मूल्यहरूको महत्व बुझ्न प्रेरित गर्ने गौचनको भनाइ छ । शेरचनको शुक्रबार नै थकाली परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।
तपाईको प्रतिक्रिया