रेडक्रसका सबै उपशाखामा लैंगिक समिति बन्ने

पोखरा । नेपाल रेडक्रस सोसाइटी कास्कीले जिल्ला शाखा अन्तर्गतका सबै उपशाखामा लैंगिक तथा सामाजिक समावेशिकरण समिति गठन गर्ने भएको छ । रेडक्रसको हरेक अभियानमा महिलाको समान सहभागिता बनाउन ४८ उपशाखामा समिति गर्न लागेको रेडक्रस कास्कीका सभापति डण्डराज शर्मा पौडेलले जानकारी दिए ।
रेडक्रस कास्की अन्तर्गतको लंैगिक तथा सामाजिक समावेशीकरण समितिले शुक्रबार आयोजना गरेको २६ औं जिल्ला स्तरीय महिला गोष्ठी तथा डेंगी रोगसम्बन्धी सचेतना कार्यक्रममा सभापति पौडेलले पुरुषको एकल प्रयासले रेडक्रस अभियान सार्थक नहुने तर्क गरे ।
‘महिला लगायत सबै समुदायको सहभागितामा समावेशी बनाएर रेडक्रस अभियानलाई सार्थक र सफल बनाउन सकिन्छ,’ उनले भने, ‘सबै उपशाखामा समिति गठन गरेर सबै समुदायको सहभागिता बढाउन ध्यान दिइनेछ ।’ उनले महिला गोष्ठीमा समितिका प्रस्तावित कार्यक्रम पेश गरेर अनुमोदन गर्ने जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश अध्यक्ष सूर्यप्रसाद ढकालले एक उपसभापति सहित ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित हुने गरी रेडक्रसको विधान संशोधन गर्न लागेको सुनाए । रेडक्रसका उपशाखाहरुले सेवा केन्द्रको रुपमा काम गरेको जानकारी दिँदै उनले रेडक्रसमा महिला सहभागिता बढाउन योजनाबद्ध ढंगले काम गर्ने जनाए ।
गण्डकी प्रदेशकी कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले राज्यका निकायमा महिलाको ३३ प्रतिशत सहभागिता आफैंमा पूर्ण नभएको दाबी गरिन् । उनले जनसंख्याको अनुपातमा महिला सहभागिता बढाउनुपर्ने बताइन् ।
मनसुनजन्य विपद्, स्वास्थ्य संकट र महामारीको बेलामा सम्झने संस्था रेडक्रस भएको उल्लेख गर्दै उनले रेडक्रसकर्मी राजनीतिक रुपमा सचेत र संगठित भए पनि तटस्थ रुपमा काम गर्नुपर्ने सुझाव दिइन् ।
रेडक्रस कास्की उपसभापति उर्मिला खड्काले कास्की शाखाले २०५५ देखि लैंगिक तथा सामाजिक समावेशिकरण समिति बनाएर महिलाको सशक्तीकरण र सहभागिता बढाउने योजनाका साथ काम गरेको जानकारी दिइन् । उनले हरेक उपशाखाबाट भर्खरै निर्वाचित महिलालाई केन्द्रीत गरी कार्यक्रम गरेको बताइन् ।
रेडक्रस कास्कीका कोषाध्यक्ष सन्तोष अधिकारीले आर्थिक रुपमा सम्पन्न भए महिलाको सबै क्षेत्रमा सशक्तीकरण हुने उल्लेख गरे । उनले प्रादेशिक रक्त सञ्चार केन्द्र सहितका बहुउद्देश्यीय भवन निर्माण गरेर समेत रेडक्रस कास्कीको ६ करोड २६ लाख बजेट रहेको जानकारी दिए ।
रेडक्रस कास्कीका कार्यवहाक मन्त्री तथा लैंगिक तथा सामाजिक समावेशिकरण समितिका संयोजक रमा कोइराला न्यौपानेले गोष्ठीमा ४८ उपशाखाबाट २÷२ जनाको दरले महिलाको सहभागिता रहेको बताइन् । गोष्ठीमा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका कार्यालय प्रमुख मोहनसिंह खड्काले रेडक्रस परिचय, कास्की शाखाका डेंगी रोग नियन्त्रणका फोकल पर्सन नवराज भण्डारीले डेंगी रोग नियन्त्रणका गरेका प्रयासबारे सहजीकरण गरे ।
रेडक्रस सोसाइटी कास्कीका सदस्य रमा त्रिपाठीले लैंगिक तथा सामाजिक समावेशिकरण समितिले रेडक्रसमा आवद्ध महिलाको नेतृत्व र व्यक्तित्व विकासमा ध्यान दिएको जानकारी दिइन् । गोष्ठीमा रेडक्रस कास्की शाखा, उपशाखामा महिला गतिविधि, प्रतिवेदन र समीक्षा गरिएको छ ।









पोखरा बहुमुखीमा नयाँ सञ्चालन समितिका पदाधिकारीलाईं बधाई
भीरकोट सामीप्य समाजले सञ्चालन गरेको मुनाकृष्ण पुरस्कारबाट ४ सम्मानित
पोखरामा ‘बुकहिल बुकाञ्जा’ विचार, साहित्य र संगीतको उत्सव
कास्कीमा नागरिकताभन्दा पासपोर्ट लिने बढी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया