कास्कीमा वर्षभर १४४ वटा मानवअधिकार उल्लंघन

समाधान संवाददाता २०८१ पुष ७ गते २०:००

पोखरा । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि कास्कीबाट संकलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम आइतबार पोखरामा भएको छ ।

Advertisement

इन्सेक कास्की जिल्ला प्रतिनिधि सञ्जय रानाभाटले ०८० पुस १७ गतेदेखि ०८१ मंसिर ३० गतेसम्म इन्सेकले संकलन गरेका घटना प्रस्तुत गरेका हुन् । रानाभाटले जनवरीदेखि डिसेम्बरसम्म १४४ वटा मानवअधिकार उल्लंघन र ज्यादतीका घटना अभिलेख गरिएको जानकारी दिए । जसमा बालअधिकार अन्तर्गत २४ वटा घटना छन् । ती मध्ये बालिका बलात्कार १६ वटा, बालिका यौन दुव्र्यवहार ५ वटा, मानव बेचबिखन २ वटा गरी २४ वटा घटना छन् ।

अमानवीय व्यवहार तथा दुव्र्यवहारका १६ वटा, कुटपिटका १८ र हत्याका २ वटा घटना छन् । यस्तै, महिला अधिकार सम्बन्धी घरेलु हिंसाका ७६ वटा, बलात्कारका ३ वटा, बहुविवाहका ३ र मानव बेचबिखनका २ वटा घटना इन्सेकले अभिलेख गरिएको रानाभाटले बताए ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले मानव अधिकारसँग जोडिएका घटनाहरू न्यूनीकरण गर्न सबैले पहल गर्नुपर्ने बताए । उनले सबैले आफ्नो ठाउँबाट जनचेतना तथा सन्देश मूलक कार्यक्रम सञ्चालन गरिनुपर्ने उल्लेख गरे । जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्माले प्रहरीले मानव अधिकार मैत्री भएर सेवा सञ्चालन गरेको बताए । इन्सके गण्डकी प्रदेश प्रमुख शिवप्रसाद खकुरेलले इन्सेकले संकलन गरेका बाहेक अन्य छुटेका घटना भए टिपाइदिन अनुरोध गरे ।

खकुरेलले इन्सेकले फागुन ७ गते मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएको बताए । आइन्दा दिनमा इन्सेकले जलवायु परिवर्तन र इलोक्टोनिक अपराधका मुद्दा समेत अभिलेख गर्ने खकुरेलको भनाइ थियो । कार्यक्रममा उपस्थित अन्य विभिन्न संघ संस्थाका वक्ताहरूले इन्सेकले आगमी दिनमा बालबालिकाको जन्मदर्ता नहुनु, खाद्यान्नको अभाव, बाढी पहिरोबाट समस्या, विद्यालयमा पठनपाठनको अवस्था र प्रत्येक नागरिकले सहजै रूपमा उपचार नपाएको, विषयलाई पनि इन्सेकले अभिलेखीकरण गर्नुपर्ने सुझाएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया