अब रविको बयान, छविको सकियो

समाधान संवाददाता २०८१ पुष ९ गते १९:४९

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएका छविलाल जोशीको बयान सकिएको छ । सोमबार जोशीको ३ घन्टा बयान लिइएको थियो । सोमबार बयान नसकिएपछि जोशीसँग मंगलबार पनि बयान लिइएको हो ।

Advertisement

जोशीसँग बकपत्र सकिएपछि मंगलबार गीतेन्द्रबाबु राईसँग मिलेर सहकारीको रकम अपचलन अभियोग लागेकी लीला पछाईंको बयान सुरु गरिएको अदालतका निमित्त स्रेस्तेदार खेमनारायण लामिछानेले जानकारी दिए । न्यायाधीश नितिज राईको इजलासमा सूर्यदर्शन सहकारी ठगीमा विपक्षी बनाइएका ५ जनासँगै बकपत्र चलिरहेको छ ।

पछाईंसँग बिहीबार पहिलो चरणमा बयान सकेर रवि लामिछानेसँग बयान सुरु गरिने उनले जानकारी दिए । जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा दर्ता गरेको अभियोग पत्रको सिरियल नम्बर अनुरुप बयान लिइएको लामिछानेले जानकारी दिए । रवि लामिछानेलाई सहकारी ठगी प्रकरणको पुरक अभियोग पत्रमा तेस्रो नम्बरमा विपक्षी बनाइएको छ । पहिलोमा नम्बरमा छविलाल जोशी छन् । दोस्रोमा लीला पछाईं छिन् ।


सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा आइतबार मुद्दा दायर भएको थियो । बयानका लागि छवि, लीलासहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गोर्खा मिडियाका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने, जिबीका साझेदर नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाललाई अदालतमा विपक्षी बनाएर अभियोग पत्र दर्ता गरिएको छ ।


सूर्यदर्शन सहकारी ठगीमा संस्था र व्यक्ति गरेर ६३ जनालाई प्रतिवादी बनायएको छ । जसमा शुक्रबार जिबीसहित १९ जनाविरुद्ध थप अभियोग लगाइएको थियो ।

Advertisement

आइतबार ८ कम्पनी, ३१ जना व्यक्ति, ८ संस्था र ५ जनाको सम्पत्ति जफत गर्न थप अभियोजन दर्ता भएको छ । उनीहरूसँग पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा १ अर्ब ५१ करोड बिगो माग गरिएको छ । उनीहरुसँग बयान सकिएपछि थुनछेक बहस हुनेछ ।


जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरुमाथि सहकारी ऐन, २०७४ को दफा १२२ (त) अनुसार १० वर्षसम्म कैद सजाय माग गरिएको छ । संगठित अपराधको आरोपमा थप ५० प्रतिशत सजाय हुने भएकाले उनलाई १५ वर्ष सजाय माग गरिएको छ ।

यसबाहेक लामिछानेमाथि सहकारी ठगीमा ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ विगो माग गरेको छ । लामिछानेसँग सम्पत्ति शुद्धीकरणमा मात्रै २७ करोड ८९ लाख ४४ हजार ७ सय ५ रुपैयाँको बिगो माग गरिएको छ । लामिछानेसँगै पूर्वडिआइजी छविलाल सम्पत्ति शुद्धीकरणमा जोशीसँग ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँको बिगो माग गरिएको छ । सहकारी ठगीमा भने ५ करोड २६ लाख ६५ हजार माग गरिएको छ ।

जोशी र लामिछानेसँगै कास्की प्रहरीको हिरासतमा रहेका रामबहादुर खनाल र लीला पछाईविरुद्ध पनि सम्पत्ति शुद्धीकरण कसूरमा माग दाबी गरिएको छ । प्रतिवादी खनालसँग १४ करोड ३० लाख ९१ हजार ९ सय ११ रुपैयाँ, पछाईसँग २४ करोड ६७ लाख सात हजार २४ बिगो दाबी गरिएको छ ।


सहकारी ठगीमा दीपेश पुनसँग २ करोड १४ लाख ८ हजार ८ सय ४३ बिगो माग गरिएको छ । बागलुङको ढोरपाटनका मेयर देवकुमार नेपालीविरुद्ध १ करोड ५४ लाख ४९ हजार ८३९ रुपैयाँ बिगो माग दाबी गरिएको छ । उनी सूर्यदर्शनका पूर्वउपाध्यक्ष हुन् ।

तपाईको प्रतिक्रिया