पोखरामा जाडोमा पनि डेंगुको डर

समाधान संवाददाता २०८१ पुष १० गते १९:२२

पोखरा । नेपाल रेडक्रस सोसाइटी कास्कीले विपद् व्यवस्थापन तथा डेंगु रोग संक्रमण रोकथाम तथा नियन्त्रण कार्यक्रम अन्तर्गत सरोकारबीच समन्वयात्मक कार्यक्रम गरेको छ । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कास्कीका भेक्टर कन्ट्रोल अधिकृत यम बरालले सामान्यतया जाडोको समयमा डेंगु रोगको संक्रमण नहुनु पर्नेमा डिसेम्बर महिनामा १ सय ३० जना संक्रमित भेटिएको जानकारी दिए । अहिले पनि हरेक दिन ५ या ७ जना बिरामी थपिएको उल्लेख गर्दै उनले जाडोको समयमा समेत डेंगु रोगको संक्रमण फैलिनु स्वास्थ्य क्षेत्रका चुनौती भएको जनाए ।

Advertisement

उनले पछिल्लो समयमा १२ महिना नै डेंगुका बिरामी भेटिएको बताए । उनले कास्कीका ९ हजार ३ सय ५५ जना संक्रमित भएको जानकारी दिँदै डेंगुका कारण ६ जनाको मृत्यु भएको उल्लेख गरे । रेडक्रस कास्कीका डेंगु रोकथाम नियन्त्रण कार्यक्रमका फोकल पर्सन नवराज भण्डारीले ३८ स्थानमा डेंगी रोग फैलाउने लामखुट्टेको खोज र नष्ट अभियान सञ्चालन गरेको जानकारी दिए ।

जाडोको समयमा ५० घरमा खोज र नष्ट अभियान सञ्चालन गर्दा १८ घरमा लार्भा र प्युपा फेला

‘डिसेम्बरको जाडोको समयमा ५० घरमा खोज नष्ट अभियान सञ्चालन गर्दा १८ घरमा लार्भा र प्युपा फेला परे,’ उनले भने, ‘५० घरमा ६ जना डेंगुका बिरामी भेटिए ।’ उनले जाडो मौसममा समेत भाडा कुडामा संकलन गरेको पानी टायरमा लामखुट्टेको लार्भा र प्युपा जीवित हुनु अर्को वर्ष डेंगु रोगको संक्रमण अझै बढ्ने संकेत गरे ।


परियोजना समाप्त भएपनि घर घरमा सचेतनामूलक कार्यक्रम पुस महिनामा समेत जारी रहने जानकारी दिँदै उनले डेंगु रोग रोकथाम तथा नियन्त्रणको कार्यक्रम समाप्त नभएको जानकारी दिए । उनले ७ हजार ९ सय ५३ बिरामी भेटिएको पोखरा क्षेत्र उच्च जोखिममा रहेकाले जिल्ला स्वास्थ्य कार्यालय र पोखरा महानगर पालिका स्वास्थ्य महाशाखासँगको सहकार्यमा कार्यक्रम अगाडि बढाउने बताए ।

Advertisement

उनले विद्यार्थीलाई केन्द्रीत गरी विद्यालयहरुमा गरेका कार्यक्रम प्रभावकारी भएको उल्लेख गरे । अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले डेंगु रोग रोकथाम तथा नियन्त्रणमा पालिकाको साथ सहयोग रहने बताए । सबैको साझा प्रतिबद्धताले स्वास्थ्य संकटको सामना गर्न सकिने उल्लेख गर्दै उनले स्वयंसेवी भावनाले काम गर्ने रेडक्रसले बजेट नभए पनि स्वास्थ्य क्षेत्रमा काम गर्नुपर्ने सुझाव दिए ।


नेपाल रेडक्रस सोसाइटी केन्द्रीय उपकोषाध्यक्ष डोलराज पाण्डेले रेडक्रसले डेंगु लगायत स्वास्थ्य क्षेत्रको संकट र महामारी नियन्त्रणका सवाललाई नियमित वार्षिक कार्यक्रम सञ्चालन गर्ने बताए । रेडक्रस गण्डकी प्रदेशका अध्यक्ष सूर्यप्रसाद ढकालले स्रोत पाए पनि नपाए पनि रेडक्रस कास्कीले डेंगु रोग रोकथाम तथा नियन्त्रणको लागि काम गरेको स्मरण गरे ।


जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका वरिष्ठ जनस्वास्थ्य प्रशासक रामबहादुर नेपालीले हरेक वर्ष दोब्बर तेब्बर दरले डेंगुको संक्रमण बढेको जानकारी दिए । उनले हरेक स्वास्थ्य संकट र महामारीलाई रोक्न स्थानीय तहको विकल्प नभएको तर्क गरे ।

रेडक्रस कास्की सभापति डण्डराज शर्मा पौडेलले कोभिड १९ तथा डेंगु रोगको संक्रमण लगायतका मानवीय विपत्तिको अवधिमा सेवाको क्षेत्रमा काम गरेको जनाए । उनले रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी) र बिट्रिस रेडक्रससँगको समन्वयमा डेंगु रोकथाम तथा प्रतिकार्यको लागि विशेष अभियान सञ्चालन गरिरहेको उल्लेख गरे ।

रेडक्रस कास्कीका कार्यालय प्रमुख मोहनसिंह खड्काले मनसुनजन्य विपद्को पछाडि अवस्थामा चिसो तथा खडेरीलाई केन्द्रमा राखेर कार्यक्रम गरेको बताए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका उपसभापति उर्मिला खड्का भण्डारी, रेडक्रस कास्कीका कार्यवहाक मन्त्री रमा कोइराला न्यौपाने, उपकोषाध्यक्ष विष्णुप्रसाद भण्डारी, जिल्ला कार्यसमितिका सदस्य रमेशराज भण्डारी लगायतले डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागि लामखुट्टेको लार्भा खोज र नष्ट अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया