‘हाम्रो पञ्चमुलः स्मार्ट भिलेज’ विमोचन

समाधान संवाददाता २०८१ पुष ११ गते ११:५९

पोखरा ।
गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङद्वारा लिखित हाम्रो पञ्चमुलः स्मार्ट भिलेज नामक पुस्तक बुधबार सार्वजनिक गरिएको छ । पोखरा उपमहानगरपालिकाका पूर्वउपमेयर मानबहादुर गुरुङले कृति विमोचन गरेका हुन् ।

Advertisement


कार्यक्रममा गुरुङले पुस्तक ऐतिहासिक रहेको बताए । जुगौंजुगसम्म पनि पञ्चमुल क्षेत्रको इतिहासका रुपमा रहने उनको भनाइ छ । ‘पञ्चमुल र त्यस वरिपरीका व्याक्ति र स्थानका बारेमा हामीलाई थाहा छ । तर, नयाँ पुस्तालाई थाहा छैन्,’ उनले भने, ‘यो पुस्तक पढेर आउँने पिढीले सिरुबारीका प्रतिभाका बारेमा जानकारी पाउनेछन् ।’ त्यस क्षेत्रले प्रतिभा उत्पादन गर्नुमा पञ्चमुल स्कुलको ठूलो देन रहेको उनले सुनाए ।


पुस्तकमाथि प्रध्यापक रघुनाथ अधिकारीले टिप्पणी गरेका थिए । २ सय ८८ पेज रहेको पुस्तकमा राजनीतिक, सामाजिक, शैक्षिक, धार्मिक, चिकित्सा, साहित्य लगायत क्षेत्रमा योगदान दिएका व्याक्तिहरुको अभिलेख भेटिने उनले बताए । पुस्तकमा लेखकले अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन र स्वर्गीयलाई श्रद्धाञ्जलीको भाव देखिने उनले सुनाए । समग्रमा पुस्तक पठनीय भएको उनको प्रतिक्रिया छ ।


लेखक प्राडा गुरुङले पञ्चमुल सिरुबारीले धेरै प्रतिभा जन्माएकाले धेरैका बारेमा धेरैलाई जानकारी भए पनि अभिलेखीकरण गर्न अरुले नभ्याएपछि आफैं कस्सिएर पुस्तक प्रकाशित गरेको सुनाए । सिरुबारीमा सबै क्षेत्रमा दख्खल राख्ने व्याक्ति भएको र सोही अनुसार पूर्वाधार विकास हुँदै गएकाले पञ्चमुल क्षेत्रलाई स्मार्ट भिलेजका रुपमा विकास गर्न सकिने उनले तर्क राखे । त्यस क्षेत्रका गाउँहरु सिरुबारी, दरौ, म्हजु, बुझाङ मिलेर अघि बढेमा त्यो सम्भव रहेको उनले बताए ।


पुस्तक बिक्रीबाट संकलित रकम बालकुमारी गाउँ सेवा समाजमा जम्मा गरिने उनले जानकारी दिए । समाजमा जम्मा भएको रकम गरिब तथा जेहेन्दार विद्यार्थीहरुको शिक्षाका लागि खर्च गरिनेसमेत उनले बताए ।

Advertisement


कार्यक्रममा पञ्चमुल साहित्य समाजका सचिव लालकुमार अधिकारी, सचिव गणेशप्रसाद ढकाल, पञ्चमुलका स्थानीय थमनारायण ढकाल, बालकुमारी गाउँ सेवा समाजका अध्यक्ष सोमबहादुर गुरुङ लगायतले पुस्तकले पञ्चमुलको चिनारी थपिएको विचार राखे ।

तपाईको प्रतिक्रिया