पर्यटक लोभ्याउन पोखरामा सडक महोत्सव

समाधान संवाददाता २०८१ पुष १२ गते १९:२०

पोखरा । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) पोखराको आयोजनामा शनिबारदेखि पोखरामा सुुरु हुने २६ औँ पोखरा सडक महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । महोत्सवको नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन् गर्ने आयोजक रेबान पोखराले जनाएको छ ।

Advertisement

कोमागाने पार्कमा हुने उद्घाटन समारोह अघि खहरेबाट विभिन्न जातजाति, ६० बढी आमा समुह, पर्यटन सम्बद्ध विभिन्न संघसंस्था लगायतको उपस्थितिमा सांस्कृतिक झाँकीसहित ¥याली निस्कने महोत्सव संयोजक विकास भट्टराईले जानकारी दिए ।
आयोजक समितिका अध्यक्ष विश्वराज पौडेलका अनुसार महोत्सव सफल पार्न गठित विभिन्न समिति, उप–समितिले आ–आफ्नो तयारी पूरा गरेका छन् । महोत्सव तयारीका लागि रेबान पोखराले सुरक्षा परिषद् बैठक, स्वास्थ्य समितिको बैठक, सांस्कृतिक समूहको बैठक, लगायत बैठकहरू सम्पन्न गरेको थियो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्यामबाबु ओलिया, सशस्त्र प्रहरी बल कालिका गणका गणपति अरुण कुमार शर्मा, राष्ट्रिय अनुसन्धान कार्यालय कास्कीका उप–अनुसन्धान निर्देशक सुरेशकुमार तिवारी, कृष्णदल गण फुलबारी ब्यारेक पोखराका सन्दीप केसी, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, यातायात तथा पार्किङ समितिका संयोजक चिरञ्जीवी पोखरेल लगायतको उपस्थितिमा सुरक्षा परिषद् बैठक सम्पन्न गरेको थियो ।


स्वास्थ्य समितिका संयोजक भीष्मराज पौडेलका अनुसार नमस्ते हस्पिटल तथा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले पनि स्वास्थ्य सम्बन्धी व्यवस्थापन गरिसकेका छन् । महोत्सवको ४ किलोमिटर क्षेत्रभित्र विभिन्न स्थानमा स्वास्थ्य डेक्स राखी औषधि उपचारमा विशेष ध्यान दिइने पौडेलले जनाए ।

महोत्सवका प्रचार प्रसार समिति संयोजक वीरेन शेरचनले पोखरा सडक महोत्सवमा मिडियाहरुबाट विगतका वर्षहरुमा जस्तै उत्कृष्ट सहयोग पाएको बताए । सडक महोत्सवलाई अन्तर्राष्ट्रिय जगतसम्म चिनाउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेकाले यसपटक पनि सकारात्मक सहयोगको अपेक्षा लिएको समितिका महासचिवसमेत रहेका शेरचनको भनाइ छ ।

Advertisement

महोत्सवलाई थप रौनक प्रधान गर्न सडकमा हुने खेलकुदका कार्यक्रमहरुको तयारी पनि पूरा भएको खेलकुद संयोजक सुमन भट्टराईले जानकारी दिए । सडकमा मःम खाने, रस्साकसी, वेटर, वेट्रेसहरुको चम्चा दौड, डुंगा दौड लगायत हुने छन् । अघिल्लो संस्करणमा जस्तै यसपटक पनि पर्यटनका बारेमा जानकारी सहितको सडक सम्वाद कार्यक्रम हुने रेबान पोखराका उपाध्यक्ष वसन्त गौतमले जनाए । उनका अनुसार अम्मटमा २ दिनसम्म सडक सम्वाद कार्यक्रम चल्नेछ ।

तपाईको प्रतिक्रिया