पोखरा विश्वविद्यालयका उपकुलपतिद्वारा पदभार ग्रहण

पोखरा । कास्की पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा वेदराज केसीले आइतबार विश्वविद्यालयको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणसँगै आयोजित स्वागत कार्यक्रममा उनले विश्वविद्यालयको समृद्धि, सुधार, र भावी योजनाबारे आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै उच्च शिक्षालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने प्रतिवद्धता व्यक्त गरे ।
समारोहलाई सम्बोधन गर्दै उपकुलपतिले विश्वविद्यालयको स्थापना कालदेखि हालसम्म योगदान पुर्याउने अग्रजहरूप्रति सम्मान व्यक्त गर्दै आगामी दिनमा सहकार्य र सकारात्मक परिवर्तनमार्फत विश्वविद्यालयलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता प्रकट गरे । उनले संघीय कानुनअनुसार पोखरा विश्वविद्यालयलाई राष्ट्रिय विश्वविद्यालयको रूपमा स्थापित गर्न पहल गरिने र उच्च शिक्षाको गुणस्तर सुधारका लागि पाठ्यक्रम परिमार्जन तथा परीक्षा प्रणालीमा सुधारमा विशेष ध्यान दिने बताए ।
उनले कुलपतिसँग सपथ ग्रहण गर्दा पोखरा विश्वविद्यालयमा सकारात्मक परिवर्तन गर्ने दृढ संकल्पका साथ आएको स्मरण गराउँदै विधिवत् रूपमा विश्वविद्यालय सञ्चालन गर्न सबै सरोकारवालाको साथ र सहकार्य आवश्यक रहेको औंल्याए ।
उनले विश्वविद्यालयभित्रका चुनौतीहरूको समाधानका लागि सुझाव पेटिका स्थापना गरी प्राप्त सुझावका आधारमा नीतिहरू निर्माण गरिने जानकारी दिए । विद्यार्थी, शिक्षक, र कर्मचारीहरूसँग सहकार्य गर्दै प्राज्ञिक गौरवलाई निरन्तर प्रवद्र्धन गर्ने योजना पनि उनले सार्वजनिक गरे ।
कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, विश्वविद्यालय सभाका सदस्य, स्थानीय जनप्रतिनिधि, शिक्षक, कर्मचारी, र विद्यार्थी गरी करिब ३०० भन्दा बढी सहभागी थिए । सहभागीहरूले विश्वविद्यालयको वर्तमान अवस्था, चुनौतीहरू, र सुधारका सम्भावनाबारे धारणा राख्दै नवनियुक्त उपकुलपतिलाई शुभकामना व्यक्त गरे ।
कार्यक्रमको सञ्चालन सह–प्रशासक तारादेवी सापकोटाले गरिन् । प्रधानमन्त्री तथा पोखरा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले गत हप्ता प्राडा वेदराज केसीलाई उपकुलपतिका रूपमा नियुक्त गरेका थिए । स्वागत समारोहले विश्वविद्यालयको उज्ज्वल भविष्य निर्माणका लागि सबै सरोकारवालालाई सहकार्य र प्रतिबद्धतामा जोड्न प्रेरणा दिएको छ ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया