सूर्यदर्शन सहकारी ठगी प्रकरण
न्यायाधीश सामुन्ने ८० वर्षे कृष्णबहादुरको आँसु

पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकाहरुको पहिलो दिनको थुनछेक बहस सकिएको छ । कास्की अदालतमा न्यायाधीश नीतिज राईको इजलासमा मंगलबार दिउँसोबाट थुनछेक बहस सुरु भएको हो । पहिलो दिन सरकारी वकिल कार्यालय कास्कीका सहायक न्यायाधिवक्ता सुजता पौडेल र शान्तिदेवी शर्माले बहस गरेको स्रेस्तेदार राजन खनालले बताए ।
थुनछेक बहसको पहिला दिन मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, पूर्वडिआइजी छविलाल जोशी, लीला पछाईं, आरती गुरुङ, पूर्वसांसद मीना गुरुङ, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङलाई थुन्ने कि छाड्ने भन्दै बहस भएको थियो ।
थुनछेक बहस चल्दै गर्दा अदालत इजलासमै रुवाबासी चलेको छ । इजलासमा सरकारी वकिलले प्रतिवादीहरूले संगठित रूपमा सहकारीको रकम अपचलन गरेको बहस गर्दा प्रतिवादी ८० वर्षीय कृष्णबहादुर गुरूङ इजलासमै रोएका थिए । आफूले एक पैसा पनि नलिएको भन्दै उनी रुन थालेका थिए । गुरुङ रोएपछि गण्डकी प्रदेशकी पूर्वसांसद मीना गुरुङ र उनकी साथी आरती गुरुङसमेत रुन थालेको अदालत स्रोतले जानकारी दियो । ८० वर्षीय कृष्णबहादुर गुरुङ र सांसद मीना गुरुङ बाबुछोरी हुन् ।
‘सरकारी वकिल बहस गरिरहेका थिए । प्रतिवादीमध्येका कृष्णबहादुर गुरुङ यहाँ नै मरिदिन्छु भन्दै रुन थाल्नुभयो, उहाँ रुन थालेपछि गण्डकी प्रदेशी पूर्वसांसद मीना गुरुङसमेत रुन थाल्नुभयो । इजलासमा रुवाबासी चल्न चालेपछि श्रीमानले बहस स्थगित गर्नुभयो,’ अदालत स्रोतले भन्यो ।
अभियोजनपत्र अनुसार उनले तिर्नुपर्ने ऋण र आफ्नो कुनै कारोबारसम्बन्धी दायित्व छैन । तर, थाहै नपाई सञ्चालक समिति सदस्य बनाइएका ८० वर्षीय कृष्णबहादुर गुरुङमाथि सहकारीको स्थापनाकालमा भएको अपचलनमा सामूहिक दायित्व भनेर अभियोजन लाग्यो र पक्राउ परे
८० वर्षीय गुरुङ अवकासप्राप्त बेलायती सैनिक हुन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकामध्ये उनी सबैभन्दा वयोवृद्ध हुन् । उनी आफू सहकारीको बचतकर्ता भएको तर सञ्चालक समितिमा भएको कुरा आफैलाई थाहा नभएको बताउँदै आएका छन् । अरुले सञ्चालक समितिको सदस्य राखिदिएको रहेछ भन्ने कुरा नै उनले आफू पक्राउ परेपछि थाहा भएको बयान दिएका छन् ।
कसरी जोडिए त वृद्ध कृष्णबहादुर सूर्यदर्शन सहकारीमा ? २०६५ सालको सुरुआतीतिर देशभर सहकारीको सञ्जाल फैलाउने क्रममा ज्ञानबहादुर बम्जन पोखरा आएका थिए । उनी पोखरा आएर सहकारीको विकास र विस्तार सुरु गरे । सहकारीमा बचत जम्मा गर्न उनको नजरमा थिए, लाहुरे समुदाय । त्यसक्रममा ज्ञानबहादुर बम्जनको चिनाजानी पोखराकी आरती गुरुङसँग भयो । पोखरामा हङकङ ब्युटिपार्लरसमेत चलाउँदै आएकी मीना गुरुङलाई सहकारी खोल्ने प्रस्ताव लिएर आरती गुरुङले ज्ञानबहादुरलाई भेटाएकी थिइन् ।
आरतीका श्रीमान् राजेश गुरुङको अगुवाइमा १ असार २०६५ मा पोखरामा सूर्यदर्शन सहकारी खोल्ने प्रारम्भिक भेला भएको थियो । त्यो भेलाले तदर्थ सञ्चालक समिति गठन ग¥यो । तदर्थ समितिको अध्यक्ष थिइन् मीना गुरुङ । उपाध्यक्षमा थिए, मंगलबार इजलासमा डाँको छाडेर रुने मीनाका बुबा कृष्णबहादुर गुरुङ ।
तदर्थ समिति गठन भएको करिब ३ महिनापछि २०६५ भदौ २७ गते पहिलो साधारण सभा सम्पन्न भयो । त्यो साधारण सभाबाट अध्यक्ष बनेका थिए, ज्ञानबहादुर बम्जन । उपाध्यक्षमा मीना गुरुङ चयन भइन् । समितिको सदस्यमा सीमित भए मीनाका बाबु कृष्णबहादुर गुरुङ ।
ज्ञानबहादुर बम्जनले तेस्रो साधारणसभासम्म २०६७ पुस ६ गतेसम्म सञ्चालन गरे । त्यसपछि सूर्यदर्शन सहकारीको अध्यक्ष बने जिबी राई, उपाध्यक्ष देवकुमार नेपाली बने । पछि, जिबी र देवकुमारको सम्बन्ध बिग्रियो । सूर्यदर्शन सहकारी छाडेर देवकुमारले इमेज सहकारी खोले । जिबीले सूर्यदर्शन सहकारीको नेतृत्व गरे ।
यसरी स्थापनाकालमा जोडिएका बाबुछोरी कृष्णबहादुर र मीनापछि कुनै पनि भूमिकामा देखिएका छैनन् । अभियोजनपत्रमा उल्लेख गरिएअनुसार उनीहरूको तिर्नुपर्ने ऋण र आफ्नो कुनै कारोबारसम्बन्धी दायित्व पनि छैन । तर, सहकारीको स्थापनाकालमा प्रमुख भूमिकामा रहेको भन्दै सहकारी अपचलनमा उनीहरुमाथि ५३ लाख ७६ हजार ३ सय ८ रुपैयाँ २० पैसा सामूहिक दायित्व रहेको अभियोजनपत्रमा उल्लेख छ । जुन आरोप उपर अहिले थुनछेक बहस चलिरहेको छ ।
सदस्य बनाएकै थाहा थिएनः कृष्णबहादर गुरुङ
म ब्रिटिस आर्मीमा नोकरी गरेर अवकास प्राप्त भएपछि सन् १९७२ सालमा नेपालस्थित घरमा आई बस्दै गर्दा मेरो छोरी (मीना गुरुङ)हरूको साथी आरती गुरुङको श्रीमान् राजेश गुरुङले म समेत ब्रिटिस लाहुरेको घरघरमा आएर तपाईं भूपू सैनिकहरूसँग मिलेर हामीले सहकारी खोल्न लागेका छौं, यसका लागि तपाईंहरूले पनि सहयोग गरिदिनु पन्यो, यसबाट तपाईंहरूलाई आवश्यक पर्दा हामीले बैंकले भन्दा राम्रो ब्याजदरमा सहुलियत बापत ऋण प्रदान गर्छौं भनी विभिन्न कुराहरू गरेर विश्वास दिलाएको कारण म समेतको ब्रिटिस लाहुरेहरूले जनही २५ हजार निज राजेश गुरुङलाई उपलब्ध गराएपछि निज राजेश गुरुङ समेतले मिति २०६५।०३।०१ गते म लगायतको व्यक्तिहरूलाई भेला गरी सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड दर्ता गरी सञ्चालनमा ल्याउने भनी निर्णय गरेर मेरो छोरी मीना गुरुङको अध्यक्षतामा म उपाध्यक्ष रहने गरी तदर्थ सञ्चालक समिति बनाएका हुन् ।
सहकारीको विधान बनाउने लगायतको कार्य पूरा गरी मिति २०६५।०३।२६ मा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीबाट उक्त सहकारी आधिकारिक रुपमा दर्ता गराएपछि पोखरा महानगरपालिका वडा नम्बर ९ सृजनाचोकस्थित घर भाडामा लिई सहकारीको कार्यालय भवन तयार गरेपछि मसमेतलाई बोलाई पूजाआजा गराई सहकारी सञ्चालनमा ल्याएको हो । सो बेला संस्थाको व्यवस्थापकको रुपमा सम्पूर्ण काम राजेश गुरुङले गरेको थियो । त्यसपछि म सन् २०१० सालको अन्तिमतिर वैदेशिक रोजगारका लागि बेलायत गएको हुँ ।
म २०६८ सालमा नेपाल आउँदा राजेश गुरुङले सहकारीको बचत रकम तथा ऋणीहरूबाट उठाएको रकम संस्थामा जम्मा नगरी आफैले लिएर भाग्यो भन्ने कुरा थाहा पाई म उक्त सहकारी पुग्दा निज राजेश गुरुङ सो स्थानमा थिएन । त्यसपछि मैले लगानी गरेको २५ हजार पैसा फिर्ता मागी म उक्त सहकारीमा जान छाडेको थिएँ ।
मिति २०६५÷०५÷२७ गते बसेको प्रारम्भिक साधरण सभाबाट ज्ञानबहादुर बम्जन अध्यक्ष, मेरो छोरी मीना गुरुङ उपाध्यक्ष, सूर्यध्वज न्यौपाने सचिव, आरती गुरुङ कोषाध्यक्ष, म कृष्णबहादुर गुरुङसहित पेशलकुमार राई र लीलाबहादुर गुरुङ सदस्य तथा सकुन्तला गुरुङ लेखा समिति संयोजक, मिश्र कुमारी गुरुङ र ऋतु ताम्राकारलाई लेखा समिति सदस्यमा निर्वाचित गराएको उक्त समितिको कार्यकाल मिति २०६८।०८÷१७ गतेसम्म रहेको र उक्त समयअवधिमा प्रक्रिया पूरा नगरी कर्जा लगानी गरेको देखाई १,५४,४९,८३६.९९ (एक करोड चौवन्न लाख उनान्पचास हजार आठ सय छत्तीस रुपैयाँ उनानसय पैसा हिनामिना भई हालसम्म उक्त रकमको साँवाब्याज सहकारीमा फिर्ता नभएको कुरा म पक्राउमा परेर आएपछि मात्र थाहा पाएको छु । यस सम्बन्धमा मलाई केही थाहा जानकारी छैन । उक्त रकम हिनामिना गर्ने कार्यमा मेरो कुनै पनि किसिमबाट मिलेमतो संलग्नता रहेको थिएन । यसरी कानुन विपरीत बचत रकम अपचलन भएको उक्त रकम तिर्ने व्यहोर्ने जिम्मेवारी सम्बन्धित अपचलनकर्ताको रहन्छ । म सञ्चालक समितिको सदस्यमा रहेको कारण पदीय जिम्मेवारी अनुसार मैले पनि तिर्न व्यहोर्न पर्ने दायित्व हुन्छ भने म आफ्नो जिम्मेवारी र दायित्व अनुसारको रकम तिर्न, व्यहोर्न मञ्जुर छु भन्नेसमेत व्यहोराको प्रतिवादी कृष्णबहादुर गुरुङको बयान ।
तपाईको प्रतिक्रिया