जलवायु परिवर्तनको प्रभाव कम गर्न कार्यशाला

पोखरा । गण्डकी प्रदेशमा बढ्दो जलवायु परिवर्तनका असरहरूलाई मध्यनजर गर्दै प्रदेशलाई जलवायु अनुकूलनमैत्री बनाउने उद्देश्यले २ दिने कार्यशाला पोखरामा भएको छ । द एसिया फाउन्डेसनको स्थानीय सरकार सबलीकरण कार्यक्रम अन्तर्गत आपसी सहयोग केन्द्र नेपालले आयोजना गरेको कार्यशालामा प्रदेशमा जलवायु परिवर्तन अनुकूलन र विपद् व्यवस्थापनको वर्तमान अवस्था, नीतिगत व्यवस्था र भावी कार्ययोजनाबारे गहन छलफल भएको छ ।
कार्यक्रमको उदघाटन गर्दै वन तथा वातावरण मन्त्रालयका सचिव जीवलाल पौडेलले गण्डकी प्रदेश भूक्षय, पहिरो, बाढी, खडेरी, भूकम्प र चट्याङ र हुरी जस्ता प्राकृतिक प्रकोपबाट बारम्बार प्रभावित हुँदै आएको बताए । उनले यस प्रकारको प्रदेशस्तरीय छलफलले प्रदेशलाई जलवायु अनुकूलनमैत्री प्रदेश निर्माणका लागि योजना तर्जुमा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सचिव पौडेलले जलवायु परिवर्तनको असर प्रदेशका जलस्रोत, कृषि, स्वास्थ्यलगायत सबै क्षेत्रमा परिरहेको उल्लेख गर्दै यसलाई न्यूनीकरण गर्न सफ्टवेयरका साथै हार्डवेयर मोडलमा पनि काम गर्न दाताहरूलाई आग्रह गरे । उनले यस समिक्षाले जलवायु परिवर्तनको असर बुझेर जलवायुमैत्री विकासका लागि नागरिकलाई सुसुचित गर्न, जलवायु सम्बन्धी काम हेर्न फोकल युनिटको व्यवस्था गर्न र गण्डकी प्रदेश अन्तर्गतका प्रदेशहरूबीच समन्वयकारी भूमिका बढाउन सहयोग पुग्ने बताए ।
कार्यक्रममा आस्क नेपालका अध्यक्ष रुकुमदत्त शर्मा, द एसिया फाउन्डेसनका गण्डकी प्रदेश संयोजक पूर्ण परियार, सहजकर्ता श्रीकृष्ण चौधरी, हरिप्रसाद ढकाल, मेघनाथ पौडेल लगायतले यस प्रकारको गतिविधिले गण्डकी प्रदेशमा जलवायु सचेतना बढाउन र जोखिममा पर्नसक्ने नागरिकको जीवन रक्षा गर्न महत्वपूर्ण योगदान पुग्ने बताए ।
तपाईको प्रतिक्रिया