कास्की बचत तथा ऋण सहकारी संघको सभा

समाधान संवाददाता २०८१ पुष २१ गते १६:४४

पोखरा ।
कास्की बचत तथा ऋण सहकारी संघ लिको २४औँ वार्षिक साधारणसभा शनिबार पोखरा–२५ हेमजामा भएको छ । सभालाई सम्बोधन गर्दै सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशका रजिष्ट्रार भेषराज रिजालले २०५६ देखि सहकारी संघको निरन्तर सक्रियताले आर्थिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए । सोही अवसरमा सहकारी अध्यादेशको नयाँ व्यवस्था बारे थप प्रस्ट पारे ।

Advertisement


कार्यक्रमका बीच जिल्ला सहकारी संघ लि. कास्की, कास्की जिल्ला बचत तथा ऋण सहकारी संघ लि । र को–अपरेटिभ म्यानेजर्स क्लब, कास्कीले संयुक्त रूपमा रजिष्ट्रार भेषराज रिजाललाई सहकारी सम्बन्धमा, ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ सम्बन्धमा ध्यानाकर्षणपत्र बुझाएका थिए ।


पोखरा महानगर प्रवक्ता एवं वडा नम्बर २५ का अध्यक्ष मोतीलाल तिम्सिनाले सहकारीले अब बचत तथा ऋणमा मात्र सीमित नभई उत्पादनमा पनि केन्द्रित हुनुपर्ने धारणा राखे । पोखरा महानगर सहकारी समिति अध्यक्ष रविरमण तिवारीले, केही सहकारीका कमीकमजोरीले गर्दा पछिल्लो समय सबै सहकारीका अध्यक्ष र सञ्चालकलाई ठग भन्ने भाष्य निर्माण भएको बताए ।


कास्की बचत संघका निवर्तमान अध्यक्ष एवं सल्लाहकार भेषराज बराल, पूर्वअध्यक्ष एवं सल्लाहकार भीम गुरुङ, सुदीप ढकाल, नेफस्कून सञ्चालक कमला गिरी, जिल्ला सहकारी संघकी अध्यक्ष सावित्रा कोइराला, सिएमसि अध्यक्ष मोहनप्रसाद अधिकारी, महानगरपालिका सहकारी संघका अध्यक्ष लीलाधर बराललगायतले अध्यादेश, २०८१ सम्बन्धमा एकसाथ ध्यानाकर्षण गराए । सभाले सचिव मीनराज तिमिल्सिना, कोषाध्यक्ष केशवशरण पौडेल र लेखा सुपरिवेक्षण समिति संयोजक केशवप्रसाद ढकालद्वारा प्रस्तुत आव २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गर्‍यो ।


मोहनप्रसाद अधिकारी र बिरुवा साकोसलाई सम्मान
संघले साधारणसभाको अवसरमा उत्कृष्ट सहकारी र उत्कृष्ट व्यवस्थापकलाई सम्मान गरेको छ । बखान सहकारी अवार्डबाट उत्कृष्ट संस्थामा बिरुवा साकोस पोखरा–१७ सम्मानित र राइफाइसन सहकारी अवार्डबाट उत्कृष्ट व्यवस्थापकमा मोहनप्रसाद अधिकारी सम्मानित भएका थिए ।

Advertisement

सोही अवसरमा संघलाई आर्थिक सहयोग गर्ने विशाल, हितैषी, पोखरा रोयल, हेमजा, गौरीशंकर, पृथ्वी, मातृभूमि साकोस, साथै इन्फो डेप्लोर्स र फिन्याक्ट सफ्टवेयर प्रालि लाई प्रशंसा पत्र तथा मायाको चिनोका साथ सम्मान गरिएको थियो । कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष शेरबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष ईश्वरप्रसाद सुवेदीले र सञ्चालन सचिव मीनराज तिमिल्सिनाले गरेका थिए ।

तपाईको प्रतिक्रिया