जीवन, उद्यमशीलता विकास र चेतना विकासका लागि योग

काठमाडौं । “स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग” नाराका साथ राष्ट्रिय योग दिवस २०८१ मनाउने निर्णय भएको छ। २०८१ पुष २२ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको राष्ट्रिय योग दिवस-२०८१ को मूल समारोह समितिको बैठकको अध्यक्षता गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले मानिसको जीवन, उद्यमशीलता विकास र चेतना विकासका लागि योगले एकीकृत रूपमा काम गर्ने भएको हुँदा शिक्षा र विज्ञानको क्षेत्रमा योगलाई जोड्न अपरिहार्य रहेको बताइन्।
प्रविधिको उपयोगमार्फत योगको प्रचारप्रसार गरेर प्रत्येक दिन प्रत्येक व्यक्तिले योगको अभ्यास गर्ने वातावरण तयार नभएसम्म योग दिवस मनाइरहनुपर्ने र यसले सबै सरोकारवालालाई एक ठाउँमा ल्याएर योगको महत्त्वका सम्बन्धमा अन्तर्क्रिया गर्ने र अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गरेको कुरा महत्त्वपूर्ण रहेको मन्त्री भट्टराईले बताइन्।
योग दिवसले सबैलाई एक ठाउँमा जोड्दै योगलाई प्रत्येक व्यक्तिको जीवनशैलीको अभिन्न अंगको रूपमा आत्मसात् गर्ने प्रेरणा जगाउने विश्वास पनि उनले व्यक्त गरिन्। अहिले मानिसमा आत्मबल र जीवनप्रति चरम निराशा बढेको परिप्रेक्ष्यमा योग भनेको जीवन हो, जसलाई सानै बालबालिकादेखि नै अभ्यास गर्नुपर्छ। यसले आत्मबल, आत्मविश्वास र जीवनप्रति आशा जगाउन सहयोग पुग्ने उनको धारणा थियो।
योग भनेको पूर्वीय सभ्यता, परम्परा र संस्कृति हो। यसलाई बचाउन राष्ट्रिय योग दिवसले महत्त्वपूर्ण योगदान दिएको हुँदा अहिलेको प्रतिस्पर्धात्मक युगमा ओझेल परेका यी विषयलाई पुनर्जीवित गर्न, पुनर्संरचना गर्न र विकास गर्न योग दिवस उपयोगी हुने धारणा उनले व्यक्त गरिन्। मानिस चेतनशील प्राणी भएकोले यो चेतनशीलतालाई कायम राख्न र पुनर्ताजगी गर्न पनि योग महत्त्वपूर्ण रहेको हुँदा विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा योगलाई समावेश गर्न मन्त्रालयले थप गृहकार्य गर्ने प्रतिबद्धता मन्त्री भट्टराईले व्यक्त गरिन्।
बैठकमा मन्त्रालयका सचिव, सहसचिवहरू, विभागीय प्रमुखहरू तथा योग र ध्यान क्षेत्रमा क्रियाशील ६० भन्दा बढी योगिक तथा आध्यात्मिक संस्थाहरूको सहभागिता थियो। नेपाल सरकार (मन्त्रिपरिषद) को २०७२ श्रावण १८ गतेको निर्णयअनुसार प्रत्येक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संयोजनमा मनाउने निर्णय भएको थियो।
संयुक्त राष्ट्रसंघले घोषणा गरेको विश्व ध्यान दिवस हरेक वर्ष डिसेम्बर २१ मा मनाउन थालेको विषयले पनि नेपाल र नेपालीका लागि गर्वको विषय भएको र योगध्यान नेपालको मौलिक परम्परागत र सांस्कृतिक ज्ञान भएकोले राष्ट्रिय योग दिवस मनाउनु सान्दर्भिक रहेको बैठकमा सहभागी सदस्यहरूले बताए।
व्यक्तिको शरीर, मन, भावना र चेतनाको विकास र शुद्धीकरणका लागि योग अनिवार्य भएको र यो हाम्रो जीवन पद्धति बन्नुपर्ने धारणा बैठकमा प्रस्तुत भयो। विद्यालय र बालबालिकामा योगको अभ्यास गर्नुपर्ने, पाठ्यक्रममा व्यावहारिक योगका विषय समावेश गर्नुपर्ने, योग पर्यटनलाई विकास गरेर नेपाललाई अन्तर्राष्ट्रिय योग पर्यटन केन्द्रका रूपमा स्थापित गर्नुपर्ने, नेपाललाई विश्व योग गुरुका रूपमा स्थापित गर्नुपर्ने विषयमा विभिन्न वक्ताहरूले जोड दिए।
व्यक्तिको आन्तरिक शान्ति र बाह्य समृद्धि, राष्ट्रको आन्तरिक शान्ति र बाह्य समृद्धि हुँदै विश्वकै शान्ति र समृद्धिमा योगले महत्त्वपूर्ण योगदान पुर्याउने धारणा बैठकमा व्यक्त भयो।
बैठकमा विज्ञान तथा प्रविधि सचिव विश्वबाबू पुडासैनीले योगले व्यक्तिमा सकारात्मक सोचको विकास गर्ने र यसले समग्र जीवनशैलीमा सुधार ल्याउने हुँदा सधैं योगको अभ्यास गर्नुपर्ने धारणा व्यक्त गरे। आदर्श वाक्य चयन गर्दा संक्षिप्त तर व्यापक अर्थ दिने गरी चयन गर्नुपर्ने उनले सुझाव दिए।









सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया