माघ ४ देखि ६ सम्म नागीधार महोत्सव हुने

समाधान संवाददाता २०८१ पुष २३ गते ६:४८

पोखरा । कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार गाउँमा माघ ४, ५ र ६ गते नागीधार महोत्सव आयोजना हुने भएको छ।

Advertisement

नागीधार गाउँको सर्वाङ्गिण विकासमा सक्रिय सामाजिक संस्थाहरू नागीधार सिर्जनशील युवा क्लब, सबुदुम्हर्सो तमु समाज नागीधार र नेदा तमु सेवा समिति पोखरा लगायतका संस्थाहरूको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो। महोत्सवको सन्चालन संयुक्त मुल आयोजक समितिका संयोजक तथा मादी-८ का जनप्रतिनिधि ओमप्रकाश गुरुङ्ले जानकारी दिए ।

नागीधार गाउँ र त्यस आसपासका क्षेत्रको पर्यटन प्रवर्धन, खेलकुद प्रवर्धन, संस्कृति संरक्षण र मनोरञ्जनको उद्देश्यले महोत्सव आयोजना गरिएको नेदा तमु सेवा समाज पोखराका अध्यक्ष राजकुमार गुरुङ्ले बताए ।

Advertisement

महोत्सवमा खेलकुद प्रतियोगिताहरूमा खुल्ला सेभेन ए साइड पुरुष फुटबल, खुल्ला पुरुष छेलो फाल्ने, र पुरुष तथा महिला रसी तान्ने समावेश हुनेछ। सांस्कृतिक कार्यक्रमहरूमा खुल्ला सामुहिक नृत्य प्रतियोगिता, स्थानीय गाउँका आमा समूहको नाच, युवा क्लबको ठेटार नाच, घाँटु नाच, कृस्न चलित्र नाच, र चर्चित गायक तथा गायिकाको प्रस्तुति रहनेछ।

त्यस्तै, शैक्षिक कार्यक्रमहरूमा कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूको लागि खुल्ला श्रुति लेखन प्रतियोगिता र कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरूको लागि मादी-८ को समृद्धि र पर्यटन प्रवर्धनका लागि सम्भावनाबारे खुल्ला वक्तृत्व कला प्रतियोगिता राखिएको छ, सबुदुम्हर्सो तमु समाज नागीधारका अध्यक्ष होम बहादुर गुरुङ्ले जानकारी दिनु भयो।

Advertisement

महोत्सवलाई सफल पार्न विभिन्न उपसमितिहरू समेत गठन गरिएको छ। महोत्सव सञ्चालनका लागि अनुमानित ७ लाख रुपैयाँ खर्च हुने बताइएको छ, सबुदुम्हर्सो तमु समाज नागीधारका सचिव नरेश गुरुङ्ले जानकारी दिए ।

३ दिनसम्म चल्ने उक्त महोत्सवमा ५ हजार जना दर्शकको सहभागिता रहने अपेक्षा गरिएको छ। प्रतियोगिताहरूमा सहभागिताका लागि फुटबलमा ३० टिम, सामुहिक नृत्यमा १५ टिम, रसी तान्नेमा १० टिम र छेलो फाल्नमा धेरै जनाको सहभागिता रहने आशा गरिएको छ, खेलकुद संयोजक तथा नागीधार सिर्जनशील युवा क्लबका अध्यक्ष विशाल घलेले बताए ।

पोखरा-१३ भद्रकाली काँहुखोला बाट भैसे, भगवतीटार, थुम्सीकोट, गहते, मिजुरे, पाखुरीकोट गाउँ हुँदै ३५ किमि को दूरीमा नागीधार गाउँ सवारी साधनबाट सजिलै पुग्न सकिने नागीधार सिर्जनशील युवा क्लबका उपाध्यक्ष बसन्त गुरुङ्ले जानकारी दिए ।

पोखरा-२६ बिजयपुर बाट कालिका, सौरे, भगवतीटार भएर पनि पुग्न सकिन्छ, भने पोखरा-३१ बेगनासबाट सौरे, भगवतीटार थुम्सीकोट भएर पनि नागीधार गाउँ पुग्न सकिन्छ। पोखरा देखि थुम्सीकोटसम्म २० किमि सडक पिच छ भने बाँकी १५ किमी कच्ची छन्। हाल नागीधार र पाखुरीकोट गाउँमा केही होमस्टे र स्थानीय होटेलहरू पनि सञ्चालनमा छन्।

तपाईको प्रतिक्रिया