ठूला दलका नेतालाई संघीयता र प्रदेशको अधिकारप्रति अरुचि

समाधान संवाददाता २०८१ पुष २३ गते १७:००

पोखरा । बागमती प्रदेश सरकार र फेडरलिज्म एण्ड लोकलाईजेशन सेन्टरको संयुक्त आयोजनामा काठमाडौंमा भएको “प्रदेशका सवालहरू” विषयक एक छलफल कार्यक्रममा प्रमुख राजनीतिक दलका नेताहरूले प्रदेशका अधिकार र संघीयता सबलीकरणमा जोड दिएका छन्। कार्यक्रममा, प्रदेशको अधिकार क्षेत्र र संघीयता सफल बनाउन संविधानको पूर्ण कार्यान्वयन गर्नुपर्ने आवश्यकता बारे चर्चा भएको छ।

Advertisement

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केन्द्रमा अधिकार राखेर कुनै कार्य हुने छैन भन्ने कुरा स्पष्ट गर्दै प्रदेशको अस्तित्व र अधिकारको महत्त्वलाई औंल्याए। उनले अब संविधानमा लेखिएको कुरा लागू गर्नुपर्ने, परिणाममुखी हुनुपर्ने र कार्यान्वयनमा तीव्रता ल्याउनुपर्ने बताए। थापाले संसदमा १८ वटा विधेयक ल्याउने, कार्यविस्तृतकरण प्रक्रिया अगाडि बढाउने र एकीकृत कानुनमा सुधार गर्ने विषयमा काम भइरहेको जानकारी पनि दिए।

कार्यक्रममा बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) को अध्यक्षतामा छलफल भएको थियो । जसमा नेकपा (एमाले) का केन्द्रीय सचिव छविलाल विश्वकर्माले संघीयतासम्बन्धी बागमती प्रदेशका सवालहरूलाई पार्टी नेतृत्वसमक्ष ल्याउने र विमर्श गर्ने प्रतिवद्धता जनाए। उनले अहिलेको परिस्थितिमा दोष अरूसमेत थोपरेर उन्मुक्ति पाउने ठाउँमा राजनीतिक दलहरू छैनन् भन्ने कुरा उठाए।

नेकपा (माओवादी केन्द्र) का नेता र कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संघीय सरकारका उच्च पदस्थ व्यक्तिहरूको संघीयता र प्रदेशको अधिकारप्रति अरुचि र असहयोगका कारण प्रदेशका कार्यसम्पादनमा जटिलता आएको उल्लेख गर्दै यसलाई सुधार्नुपर्ने बताए। उनले संघीयता सफल बनाउनको लागि मुलुक र जनताको हितमा ध्यान केन्द्रित गरेर अघि बढ्न आवश्यक रहेको बताए।

समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष भानुभक्त जोसीले संघका मन्त्रालय र जनप्रतिनिधिहरूले तलका निकायलाई अधिकार दिन चाहँदैनन् भन्ने कुरा सही ठान्दै आफू पनि केही आलोचित भएको बताए। उनले संघका कर्मचारी कर्नाली र मधेस प्रदेशमा जान नचाहने र स्थानीय सरकारले निमित्तबाटै काम चलाउनुपर्ने प्रवृत्ति गलत रहेको बताए।

Advertisement

कार्यक्रममा बागमती प्रदेशका विभिन्न मन्त्री, सांसद र कर्मचारीहरूले आफ्ना धारणा राखेका थिए। बागमती प्रदेशका आर्थिक मामिला सचिव कृष्णप्रसाद मैनाली, रन्जित चित्रकार, राप्रपा दलका नेता उद्धव थापा, एमाले दलका नेता जेएन थपलिया र नेपाल नगरपालिका संघका अध्यक्ष भिम ढुंगानाले पनि यस विषयमा बोलेका थिए।

फेडरलिज्म एण्ड लोकलाईजेशन सेन्टरका कार्यकारी निर्देशक प्रकाश पन्थले कार्यक्रम सञ्चालन गरे, भने संस्थाकी सदस्य तथा पूर्वसांसद दिलकुमारी थापा रावल (पार्वती) ले स्वागत मन्तव्य राखिन्।

तपाईको प्रतिक्रिया