नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन गण्डकीमा कास्कीका सत्यराज निर्वाचित

पोखरा । एमालेको जनवर्गीय संगठन नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) गण्डकीको छैटौं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा यस अघिका सचिव सत्यराज सापकोटा (कास्की) निर्वाचित भएका छन् । प्रथम उपाध्यक्ष रुद्रबहादुर केसी (कास्की) द्वितीय उपाध्यक्ष पूर्णबहादुर मल्ल (पर्वत) सचिव प्रदीप रावल (लमजुङ) कोषाध्यक्ष सरीता गुरुङ (गोर्खा) लगायत २९ सदस्यीय समिति चयन भएको हो ।
कार्यक्रम नेकपा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी इन्चार्ज किरण गुरुङले उद्घाटन गरेका थिए । इन्चार्ज गुरुङले आफूले नेपोनको नेतृत्व गरेको स्मरण गरे । उनले समसामयिक राजनीतिमा सामाजिक सञ्जालको दुरुपयोग बढेको भन्दै जस्तालाई त्यस्तै हुने गरी प्रतिकारमा उत्रन निर्देशन दिए । उनले भने,‘जति भ्युज गयो, त्यति आम्दानी हुन्छ,त्यही आम्दानीका लागि नेतामाथि गाली गलौज र विषवमन गरी भ्रम छर्ने छर्ने काम भइरहेको छ ।’ उनले एमालेविरुद्ध माओवादी अध्यक्ष पुष्पकमल दाहाल, रास्वपा, राजावादी र दुर्गाप्रसाइँ एक भएर लागेको भन्दै पार्टीविरुद्ध लाग्ने जोसुकैविरुद्ध लाग्न आग्रह गरे । नयाँ पुस्तामा पलाएको विदेश मोह नेपालको मात्रै समस्या नभई विश्वव्यापी समस्या भएको उनको तर्क थियो ।
एमाले केन्द्रीय अनुशासन आयोग सदस्य मायानाथ अधिकारी सक्रिय बन्न र आफ्नै पालामा गर्नुपर्छ भन्ने धारणासहित अघि बढ्न आग्रह गरे ।
नेपोनका केन्द्रीय अध्यक्ष सहायक रथी विनोद पाण्डेले नेपाली रीतिरिवाज र संस्कृति भत्किने क्रममा भएको बताउँदै पैसा र पावरका लागि आफैंलाई बिर्सिएको उल्लेख गरे । राजनीतिक पार्टीप्रति जनताको वितृष्णा छ भनेर एमालेको पछिल्लो अधिवेशनमा नै बताएको स्मरण गरे । राजनीतिमा निस्वार्थरुपमा सेवा भावले लाग्न उनको सुझाव थियो ।
नेकपा एमाले गण्डकीका अध्यक्ष नवराज शर्माले पार्टीमा केही जिल्लामा गुटबन्दी फैलिएको भन्दै समयमै निराकरण गर्नुपर्नेमा जोड दिए । संगठन बलियो बनाउन आफ्नो ठाउँबाट अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
एमाले गण्डकीका सचिव धनञ्जय दवाडीले नयाँ पुस्तालाई राजनीतिक सन्देश दिन नसकेका कारण मुलुकको राजनीतिमा नयाँ छुटेको बताए ।
गण्डकी इन्चार्ज होम गुरुङले सुगौली सन्धिअनुसार भारतीय सेनामा नेपालीको भर्ती गर्ने भनिए पनि भर्ती बन्द गरिदिँदा बेरोजगारी बढेको बताए ।
नेकपा एमाले जिल्ला अध्यक्ष बैनबहादुर क्षेत्रीले २३ जनवर्गीय संगठनमध्ये नेपोन एक महत्वपूर्ण भएको भन्दै भूपूबाट निर्वाचित जनप्रतिनिधिको कार्यदक्षता उच्च देखिएको बताए ।
नेपोनका जिल्ला अध्यक्षहरुले भूपूहरुलाई पार्टीले स्थान नदिएको, पार्टीमा गुटबन्दी हुँदा सक्रिय भूपूले पनि अवसर नपाएको, पार्टी सत्तामा पुग्दा नेता सुविधामा र कार्यकर्ता दुविधामा परेको, पार्टीले भूपूलाई प्रयोग गरे पनि समन्वयकारी भूमिका नखेलेको जस्ता गुनासो गरेका थिए । उनीहरुका गुनासाको सम्बोधन नेफोन केन्द्रीय वरिष्ठ उपाध्यक्ष लालकाजी गुरुङले गरेका थिए ।
नेफोन गण्डकीका अध्यक्ष शेरबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रुद्रबहादुर क्षेत्रीले स्वागत गरेका थिए । सभाले अध्यक्ष शेरबहादुर जिसी र सचिव सत्यराज सापकोटाले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ ।
नेफोनले गण्डकीका मनाङ र मुस्ताङ बाहेक ९ जिल्लामा जिल्ला शाखा बिस्तार गरेको छ ।
तपाईको प्रतिक्रिया