थन्डरबोल्ट आहा राराको क्वार्टर फाइनलमा
प्रतियोगितामा शनिबारदेखि क्वार्टर फाइनलका खेल

पोखरा । भारतको थन्डरबोल्ट नर्थ युनाइटेड क्लब पोखरामा जारी २४ औं आहारारा पोखरा गोल्डकपको क्वार्टर फाइनल प्रवेश गरेको छ । सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार भएको चौथो प्रिक्वार्टर फाइनल खेलमा थन्डरबोल्टले संकटा क्बललाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
सुरुवाती अग्रता बनाएको संकटाले खेलमा लय गुमाउँदा ३ गोल व्यहोरेको हो । खेलको १७ औं मिनेटमा मनिष पौडेलको गोलमा अग्रता बनाएको संकटाविरुद्ध ३५ औं मिनेटमा टाला, ७७ औं मिनेटमा करण राई र ८९ औं मिनेटमा आदर्श तामाङले थन्डरका लागि गोल गरे ।
दुवै टिमले खेलको सुरुआत निकै मन्द गतिमा गरेका थिए ।१२ औं मिनेटमा संकटाका अभिषेक लामाले मिलाइदिएको पास सिधैं विपक्षी गोलरक्षक लाक्पा भुटियाको हातमा पुग्यो । १६ औं मिनेटमा थन्डरबोल्टका लागि आदर्श तामाङको लेफ्ट फुटेट सट फ्रेममा परेन । त्यसको १ मिनेटपछि पासाङ लामाले डिबक्स भित्रबाट मिलाइदिएको पासमा मनिषले सेकेन्ड बार च्याप्दै प्रहार गरेको बलले सिधैं जाली चुम्यो ।
खेलको ३३ औं मिनेटमा पाहुना टोलीले पेनाल्टी पायो । संकटाका फोफोनाले क्रस गरेको बल भेट्ने क्रममा अभिषेक लामाले करण राईलाई लडाएपछि पाएको पेनाल्टीमा टालाले ३५ औं मिनेटमा सहजै गोल गर्दै टिमलाई बराबरीको अवस्थामा पुर्याए । पहिलो हाफको अन्त्यतिर भने पाहुना टोलीले निकै राम्रो अवसर खेर फाल्यो ।
४५ औं मिनेटमा आदर्श तामाङको फ्रिकिक प्रहरमा संकटाका बोएटिङले संकट टारे । थप गरिएको २ मिनेटको अन्तिममा २ प्रहार विफल बने । थपिएको समयमा एन्ड्रयुको प्रहार क्रसबारबाट बाहिरियो भने एन्थोनी क्षेत्रीको पासमा एन्ड्रयुको हेडिङ संकटाका गोलरक्षक दीप कार्कीले सहजै बचाए ।
दोस्रो हाफको सुरुआती समयबाटै आक्रामक बनेको संकटाले बारम्बार राम्रा अवसर खेर फाल्यो । अभिनाश स्याङ्तानले मैदानको बिच भागबाट दिएको पासलाई चन्दनकुमार दासले २ डिफेन्डरलाई बिट गर्दै प्रहार गरेको बल थन्डरका गोलरक्षक लाक्पाले बचाए । त्यसको ४ मिनेटपछि संकटाका अबेका रिचर्डको कर्नर प्रहार थन्डरबोल्टका खेलाडीले क्लियर गरे ।
६७ औं मिनेटमा संकटाको प्रहारमा क्रसबार बाधक बन्यो । अबेकाले पेनाल्टी बक्सबाट हानेको पावरफुल सट बारमा लागेर फर्कियो । त्यसपछि पाहुना टोलीले लय समात्दै गयो । ७७ औं मिनेटमा थन्डरबोल्टका करण राईले गोल गरे । एन्ड्रयुको क्रसमा करणले प्रहार गरेको बलमा संकटाका डिफेन्डर र गोलरक्षक दीप कार्कीले कुनै अवसर पाएनन् । त्यसको २ मिनेटपछि संकटाले बराबरी गोल गर्ने अवसर पाए पनि उपयोग गर्न सकेन ।
चन्दनकुमार दासको पासमा कार्लोसको हेडिङ बल थन्डरका गोलरक्षक लाक्पाले सहजै बचाए । ७९ औं मिनेटमा करण राईले वान भर्सेस वानको प्रहार गरेको बल गोलरक्षक दिीपले रोके । १० मिनेटपछि भने दीपको गल्तीका कारण संकटाले अर्को गोल व्यहोर्यो । दीप पोस्ट छाडेर अगाडि बढेको अवस्थामा आदर्श तामाङले मैदानको बिच भागबाट गोल गर्दै थन्डरबोल्टलाई ३–१ को अग्रता दिलाए ।
थन्डरबोल्टका प्रशिक्षक सोनाम छिरिङ भुटियाले योजना अनुसार खेल्दा सफल बनेको बताए । टिममा अनुभवी खेलाडी भएकाले पनि सहज भएको उनले सुनाए । ॅयो प्रतियोगितामा कमजोर टिम आउँदैनन् । विपक्षी टिम पनि राम्रो हो । राम्रो प्रतिष्पर्धा रहेको थियो,’ उनले भने, ॅजित्नेमा हामी कन्फिडेन्ट नै थियौं तर ओभर कन्फिडेन्ट थिएनौं । आ–आफ्नो योजना अनुसार खेल्ने हो ।’
संकटाका प्रशिक्षक रवीन्द्र शिलाकारले खेलाडी अभावका कारण राम्रो प्रदर्शन गर्न नसकेको तर्क गरे । विपक्षी खेलाडीले राम्रो खेलेको भन्दा पनि आफ्ना खेलाडीले लय बिगार्दा हार व्यहोरेको उनको भनाइ थियो । ॅमोफसलमा भएको टाइट गेमका कारण खेलाडी बाँडिनुपर्यो । सिजनका लागि थोरै खेलाडी कन्ट्रयाक्ट गरेका थियौं । ननकन्ट्रयाक्टहरु अरु क्लबबाट खेलिरहेका छन्,’ उनले भने, ॅसोही कारण हामीसँग बेन्चमा थोरै खेलाडी थिए । यसले रणनीति परिवर्तन गर्न पनिसमस्या भयो ।’
शुक्रबारको खेलसँगै प्रतियोगितामा क्वार्टर फाइनल समीकरण पूरा भएको छ । नकआउटका आधारमा खेलाइएको प्रतियोगितामा शनिबारदेखि क्वार्टर फाइनलका खेल हुनेछन् । थन्डरबोल्टले अब क्वार्टर फाइनलमा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीसँग माघ २९ गते खेल्नेछ । प्रतियोगिता अन्तर्गत शनिबार पहिलो क्वार्टर फाइनल खेल ब्रिगेड ब्वाइज क्लब क्लब युके र नेपाल पुलिस क्लबबिच हुँदै छ । फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पाउने छन् ।

धनबहादुर गुरुङ
डेढ दसकदेखि पत्रकारितामा क्रियाशील गुरुङ समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया