पोखरामा श्रवण दृष्टिविहीन सम्मेलन सुरु

पोखरा ।
अपांगता भएका व्यक्तिमा पनि अत्यन्तै सीमान्तकृत श्रवण दृष्टिविहीन भएका व्यक्तिको हकहित र अधिकार संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले पोखरामा प्रथम अन्तर्राष्ट्रिय एसियन श्रवण दृष्टिविहीन सम्मेलन गर्न लागिएको छ ।
अन्तर्राष्ट्रिय श्रवण दृष्टिविहीन सञ्जाल, सेन्स इन्टरनेसनलसँगको साझेदारीमा शनिबारदेखि एसियामा पहिलो पटक सम्मेलन हुन लागेको हो । ‘नवप्रबद्र्धनशील श्रवण दृष्टिविहीन समावेशिकरणः शिक्षा रोजगार र सामुदायिक सहभागिता’ भन्ने मुख्य विषयवस्तुमा आधारित सम्मेलनमा २० देशका ३ सयभन्दा बढी प्रतिनिधिले भाग लिने अन्तर्राष्ट्रिय श्रवण दृष्टिविहीन सञ्जालका अध्यक्ष मिर्को बौरले जानकारी दिए ।
उनले २२ वर्षपछि नेपालमा सम्मेलन हुन लागेको बताए । उनका अनुसार सम्मेलनमा श्रवण र दृष्टि दुबै चुनौती भएका व्यक्ति श्रवण दृष्टिविहीन, उनीहरुका परिवार, शिक्षक अनुसन्धानकर्ता, विज्ञ अधिकारकर्मी, नीति निर्माता, सरकारी अधिकारको सहभागिता रहनेछ । ‘श्रवण दृष्टिविहीनहरुको आर्थिक सामाजिक, सांस्कृतिक, भाषिक र राजनीतिक रुपमा सशक्तीकरण गरी स्वावलम्बन जीवन विताउन सक्षम तुल्याउन सम्मेलन केन्द्रीत हुन्छ,’ उनले भने, ‘सहभागीबीच एक अर्कासँग अनुभव साटासाट गर्ने, सम्बन्ध विस्तार गर्नुका अलवा चुनौतीका बारेमा छलफल गरी सञ्जाल निर्माणको लागि अवसर सिर्जना हुने छ ।’
उनले समावेशी शिक्षा, रोजगार र समुदायमा सहभागिता जस्ता विषयमा छलफल केन्द्रीत भएर नवप्रवद्र्धनमार्फत श्रवण दृष्टिविहीन समुदायका लागि अवसर सिर्जना हुने दाबी गरे ।
सम्मेलनमा विश्व श्रवण दृष्टिविहीन महासंघका अध्यक्ष डा साञ्जा टार्चे, पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङ, श्रवण दृष्टिविहीन संघ नेपालका प्रतिनिधि कृष्णमाया अधिकारी, सेन्स इन्टरनेसनल भारतका संस्थापक निर्देशक अखिल पाल लगायतका विज्ञले श्रवण दृष्टिविहीन अपांगताको बारेका अनुभव आदानप्रदान गर्ने छन् । उनले सम्मेलनले श्रवण दृष्टिविहीन भएका व्यक्तिका लागि हुने अवरोध पहिचान गर्ने विश्वास व्यक्त गरे ।
उनले सम्मेलनले सहभागीलाई ज्ञान आदानप्रदान, नवीन विचारहरु निर्माण र समावेशी प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । सेन्स इन्टरनेसनल भारतका संस्थापक निर्देशक अखिल पालले सम्मेलन श्रवण दृष्टिविहीनको सशक्तीकरणका लागि गौरवको विषय भएको चर्चा गरे । उनले १० प्रकारका अपांगता भएका व्यक्तिमध्ये श्रवण दृष्टिविहीन १० गुणा पछाडि परेको दाबी गरे ।
नेपाल नेत्रहीन संघका केन्द्रीय अध्यक्ष शिशिर खनालले श्रवण दृष्टिविहीनको परिभाषा स्पष्ट नहुँदा सही परिचयपत्र पाउन कठिनाइ भएको भएको जानकारी दिए । उनले सम्मेलनमार्फत श्रवण दृष्टिविहीनको लागि नेपालमा पनि केही गर्न सकिने सन्देश अन्तर्राष्ट्रिय समुदायबाट सिक्न सकिने बताए । श्रवण दृष्टिविहीनका लागि २२ वर्ष अगाडि सुरुवात भएको शिक्षाबीचैमा रोकिएको उल्लेख गर्दै उनले अहिले नेपालमा ५ ठाउँमा स्रोत कक्षा स्थापना भएको जनाए ।
कार्यक्रममा श्रवण दृष्टिविहीन संघ नेपालका अध्यक्ष पुष्पराज रिमाल, राष्ट्रिय बहिरा महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष सत्यवती वाग्ले लगायतले श्रवण दृष्टिविहीन व्यक्तिहरुमा सञ्चार, गमनशीलता, पहुँचयुक्तता तथा सूचनाको पहुँच सम्बन्धमा आउने समस्या एकदमै पृथक तथा गहन हुने जानकारी दिए ।
तपाईको प्रतिक्रिया