छैटौं सिर्जना कप भलिबल प्रतियोगिता हुने

पोखरा । पोखरामा छैटौं सिर्जना कप कास्की जिल्ला सामुदायिक विद्यालय स्तरीय छात्र/ छात्रा भलिबल प्रतियोगिता हुने भएको छ । सृजना विकास केन्द्र, सिमलचौर र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा हुने प्रतियोगिता आगामी चैत २६ देखि २८ गतेसम्म पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा सञ्चालन हुने सृजना विकास केन्द्रअध्यक्ष विष्णुप्रसाद बरालले बताए ।
‘हाम्रो संस्थाले महिला, बालबालिका, शिक्षा, स्वास्थ्य तथा खेलकुदका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ । भलिबल खेलको प्रवद्र्धनका लागि यो प्रतियोगिता महत्वपूर्र्ण हुने विश्वास लिएका छौं,’ उनले भने ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारासहित आयोजना गरिन लागेको प्रतियोगितामा कास्कीका सामुदायिक (सरकारी) विद्यालयका कक्षा १२ सम्मका विद्यार्थीले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ । प्रतियोगितामा करिब ५० टिमको सहभागिता रहने अनुमान गरिएको छ ।
प्रतियोगिताको प्रमुख उद्देश्य भलिबल खेलको प्रवद्र्धन गर्दै स्थानीय स्तरबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्नु रहेको आयोजकहरूले बताएका छन् ।
प्रतियोगितामा विजेता टिम (छात्रले १ लाख र छात्राले ७५ हजार रुपैयाँ पुरस्कारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले क्रमशः ६० हजार र ५० हजार प्राप्त गर्नेछन्, भने तृतीय स्थान हासिल गर्ने विद्यालयलाई ३५ हजार र २५ हजार प्रदान गरिनेछ । सर्वोत्कृष्ट छात्र तथा छात्रा खेलाडीलाई ५/५ हजार रुपैयाँसहित ट्रफी तथा अन्य ५ विधाका उत्कृष्ट खेलाडीलाई १÷१ थान भलिबल प्रदान गरिनेछ ।
प्रतियोगिता सञ्चालनका लागि ११ लाख ४९ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजक समितिले जनाएको छ । प्रतियोगिताबाट १२ लाख ५० हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको छ, जसअनुसार प्रतियोगिता सम्पन्न भएपछि १ लाख १ हजार रुपैयाँ बचत हुने अपेक्षा गरिएको छ । उक्त बचत रकम भलिबल खेलको विकास र विस्तारमा लगानी गरिने आयोजकहरूले बताएका छन् । कास्की जिल्ला भलिबल संघका अध्यक्ष विष्णुबहादुर गुरुङका अनुसार प्रतियोगिताले लुकेर रहेका खेलाडीहरूको प्रतिभा उजागर गर्नेछ । विद्यालय तहबाटै भलिबलको विकास गर्न सके राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सकिने उनको भनाइ थियो ।
तपाईको प्रतिक्रिया