गण्डकीमा ९ थरी सीपमूलक तालिम सुरु

समाधान संवाददाता २०८१ चैत ११ गते १९:३८

पोखरा । गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत सञ्चालित व्यावसायिक तथा सिप विकास तालिम केन्द्र पोखराले कपाल काट्ने सैलुन, प्लम्बिङ, मोबाइल मर्मत, एडभान्स ब्युटीपार्लर, फेसन डिजाइन, एडभान्स सिलाइ कटाइ, मन्टेसरी, कुक (पाक शिक्षा) तथा आधारभूत कटाइ सिलाइ तालिम सुरु गरेको छ ।

Advertisement

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले मंगलबार तालिम औपचारिक रुपमा सुरुआत गरेका हुन् । मन्त्री थापाले प्रदेश सरकार युवालाई दक्ष बनाई आत्मनिर्भर बनाउन प्रतिबद्ध रहेको उल्लेख गरे ।

उनले भने, ‘शिक्षासँगै सीप अभिवृद्धि गरेरमात्र रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ। सीपमूलक तालिमहरूले युवा तथा महिलालाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्छन् ।’ गण्डकी प्रदेश सरकारले व्यवसायिक सीप विकासलाई विशेष प्राथमिकता दिँदै आएको भनाइ उनको छ ।

Advertisement

उनले प्रदेश सरकार स्वरोजगारमुखी कार्यक्रम ल्याएर युवालाई सीपयुक्त बनाउने योजनामा रहेको उल्लेख गरे । सीप सिकाएर युवाहरुलाई दक्ष बनाउन प्रदेश सरकारले लगानी गरिरहेको उनको भनाइ छ । कार्यक्रममा मन्त्री थापाले आफूले पनि एसएलसी दिएपछि प्लम्बिङ तालिम लिएर कामसमेत गरेको स्मरण गरे । उनले अहिले श्रमको सम्मान हुने समय आएको भन्दै सीप सिकेपछि स्वरोजगार बन्न वा उद्यम वा व्यवसाय गर्न सुझाए ।

तालिम केन्द्रका निमित्त प्रमुख डिल्लीराज सुवेदीले केन्द्रले निशुल्क रुपमा तालिमहरु उपलब्ध गराउँदै आएको उल्लेख गरे । प्रत्येक तालिममा दक्ष प्रशिक्षक परिचालित गरी सहभागीलाई आवश्यक उपकरण तथा तालिम सामग्री पनि प्रदान गर्ने गरिएको उनको भनाइ छ ।

Advertisement

युवा, बेरोजगार, महिला, दलित, विपन्न तथा पछाडि परेका समुदायका व्यक्तिलाई लक्षित गरी तालिमहरु सञ्चालन गरिएका छन् । केन्द्रका सूचना अधिकारी विनोद रेग्मीले १९ वटा तालिमको सूचना निकालेकोमा मंगलबार ९ वटा तालिम सुरु भएको जानकारी दिए ।

५ सय धेरैले आवेदन दिएकोमा १ सय ८० जना प्रशिक्षार्थी छनोट भएका छन् ।

तपाईको प्रतिक्रिया