चिया र गफ–सुपर कप टि–२० क्रिकेट प्रतियोगितामा न्युरोड हबको विजयी सुरुवात

समाधान संवाददाता २०८१ चैत १२ गते १८:५०

पोखरा । पोखरामा बुधबारदेखि सुरु भएको ‘चिया र गफ–सुपर कप टि–२० क्रिकेट प्रतियोगितामा न्युरोड हबले विजयी सुरुवात गरेको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाको सहयोग तथा पोखरा महानगरपालिका क्रिकेट संघको आयोजना र व्यवस्थापनमा भएको प्रतियोगिताको उद्घाटन खेलमा न्युरोड हबले लेखनाथ इगल्सलाई ७ विकेटले हराएको हो ।

Advertisement

लेखनाथ स्थित इडेन हेभेन क्रिकेट मैदानमा भएको खेलमा लेखनाथ इगल्सले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो । लेखनाथ इगल्सका लागि मार्सल बरालले २१ बलमा १९ रन र प्रदीप तामाङले १८ बलमा १७ रनको योगदान दिए । लेखनाथ इगल्सलाई सस्तैमा समेट्न न्युरोड हबका प्रमोद बास्तोलाले ४ ओभर बलिङ गर्दै १८ रन खर्चेर ३ विकेट लिए ।

१ सय १९ रनको सामान्य लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको न्युरोड हबले १४.३ ओभरमा केवल ३ विकेट गुमाएर लक्ष्य पूरा गर्दै जित हाँसिल गरेको हो । न्युरोड हबका लागि धीरज अधिकारीले २६ बलमा ३७ रन र कविन सापकोटाले ३१ बलमा २१ रनको योगदान दिए । लेखनाथ इगल्सका सुवास बास्कोलाले ३ ओभर बलिङ गर्दै १९ रन खर्चेर २ विकेट लिए पनि हार टार्न सकेनन् ।

उद्घाटन खेलको प्लेयर अफ दी म्याच विजेता टिम न्युरोड हबका प्रमोद बास्तोला घोषित भए । यसअघि प्रतियोगिताको पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष वीरेन्द्र पुनले उद्घाटन गरेका थिए । बिहीबार दोस्रो दिन लेखनाथ इगल्स र लेकसाइड फाल्कोन आमनेसामने हुनेछन् ।

चैत १५ गतेसम्म जारी रहने प्रतियोगितामा ३ टिम सहभागी छन् । पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा गत फागुन अन्तिम साता भएको अन्तर क्लब टि–२० क्रिकेट प्रतियोगिताबाट छनोट भएका ३६ जना खेलाडीलाई ३समूहमा विभाजित गरी प्रतियोगिता खेलाइएको अध्यक्ष पुनले बताए ।

Advertisement

खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न नियमित प्रतियोगिता आयोजना गरिएको उनले बताए । उनका अनुसार निकट भविष्यमा देशका विभिन्न महानगरपालिकासँग आपसी सद्भाव साट्ने, महानगर–महानगरबीच भाइचारा सम्बन्ध स्थापित गर्ने र खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य छ । प्रतियोगिताको विजेता र प्रत्येक दिनका प्लेयर अफ दी म्याचलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।

तपाईको प्रतिक्रिया