केपी ओली कप टि २० राष्ट्रिय खुल्ला पुरूष क्रिकेट २३ गतेबाट पोखरामा

समाधान संवाददाता २०८१ चैत १५ गते १८:३९

पोखरा । पोखरामा चैतको अन्तिम साता दोस्रो संस्करणको ‘केपी ओली कप टि २० राष्ट्रिय खुल्ला पुरूष क्रिकेट’ प्रतियोगिता हुने भएको छ । आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी पोखरा रंगशाला क्रिकेट मैदानमा चैत २३ देखि ३० गते प्रतियोगिता हुने जानकारी दिएको हो ।

एकेडेमीका अध्यक्ष ध्रुव आचार्यका अनुसार प्रतियोगितामा १६ टिमको सहभागिता रहनेछ । उनले भने, ‘हामी सहभागिता जनाउन चाहने टिमहरूको बारेमा निक्र्यौल गरी १६ टिममात्र सहभागिता गराउने गरी अघि बढेका छौं ।’
लिग कम नक आउटका आधारमा हुने प्रतियोगितामा उपाधि विजेता टिमले नगद १० लाख र उपविजेताले नगद ५ लाख रुपैयाँका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । म्यान अफ दि सिरिजले नगद ३० हजार, बेस्ट बलर र बेस्ट ब्याटरले जनही नगद १० हजार र म्यान अफ दि म्याचले नगद ५ हजार रुपैयाँका साथमा ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता गर्न १ करोड ३० लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

पोखराको क्रिकेट विकासका लागि प्रतियोगिताले महत्वपूर्ण योगदान पुग्ने बताउँदै अध्यक्ष आचार्यले खेल पर्यटनमार्फत समेत यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्ने उल्लेख गरे । राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्षसमेत रहेका उनले युवा खेलाडी उत्पादनमा समेत यसको भूमिका हुने बताए ।

Advertisement

उनले भने, ‘अहिले धेरै युवा खेलाडीलाई यस्तो प्रतियोगिताको खाँचो छ । जहाँबाट उनीहरूको भूमिका राष्ट्रले प्राप्त गर्न सक्छ ।’ कार्यक्रममा एकेडेमीका उपाध्यक्ष राजेश गुरुङ र सचिव कृष्ण तिमिल्सनाले प्रतियोगिता सफल बनाउन आग्रह गरे ।

Advertisement

तपाईको प्रतिक्रिया