पोखरामा एबिसी भेट्रान्स फुटबल सुरु

समाधान संवाददाता २०८१ चैत २४ गते १९:५४

पोखरा । तेस्रो एबिसी राष्ट्रिय भेट्रान्स फुटबलमा साविक विजेता ढोलाहिटी फ्रिडम भेट्रान्सले विजयी सुरुआत गरेको छ । सोमबारदेखि पोखरा रंगशालामा सुरु भएको तेस्रो संस्करणको प्रतियोगिताको दोस्रो खेलमा ढोलाहिटीले लेकसाइड भेट्रान्सलाई ४–० गोलले पराजित गरेको हो ।

प्रतियोगितामा ढोलाहिटीको तर्फबाट कृष्ण मालाकारले ४ गोल गरेका थिए भने प्लेयर अफ द म्याचसमेत मालाकार नै घोषित भए । उद्घाटन खेलमा आयोजकलाई पराजित गर्दै एक्स वरियर अघिल्लो चरणमा प्रवेश गरेको छ । निर्धारित समयमा १–१ गोलको बराबरीमा खेल सकिएपछि टाइब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै एक्स वरियर अघिल्लो चरणमा प्रवेश गरेको हो ।

प्रतियोगिता उद्घाटन गर्दै पोखरा महानगरका प्रमुख धनराज आचार्यले पोखराको पुरानो क्लब अमरसिंह व्वाइज क्लबले भेट्रान्स फुटबल प्रतियोगिताको आयोजना गरी प्रौढ उमेरमा समेत युवाको जस्तै जोश जाँगर निकाल्नका लागि प्रत्यत्न गरेकोमा धन्यवाद दिए । यस्ता प्रतियोगिताले पर्यटन प्रवर्धनमा समेत सघाउने उनको भनाइ छ ।

Advertisement

१० टिमको सहभागीता रहेको उक्त प्रतियोगिताका विजेताले १ लाख ५५ हजार ५ सय ५५ र उपविजेताले ७७ हजार ७ सय ७७ का साथमा ट्रफी र मेडल प्राप्त गर्ने क्लबका सचिव विजय घिमिरेले जानकारी दिए । प्रतियोगितामा मंगलबार ४ खेल हुने छन् । पहिलो खेल एक्स वरियर र हेटौडा भेट्रान्स, दोस्रो खेल चितवन भेट्रान्स र संगम भेट्रान्स हुँदा तेस्रो खेलमा ढोलाहिटी भेट्रान्स र एसएनकेसी भेट्रान्स भिड्ने छन् । चौथो खेल कालिका स्पोर्टिङ क्लब रुपन्देही ११ र बगर भाइखलकबीच तय छ ।

Advertisement

तपाईको प्रतिक्रिया