एबिसी एट ए साइड भेट्रान्स कप रनिङ सिल्ड उपाधि हेटौंडालाई

समाधान संवाददाता २०८१ चैत २७ गते १९:५०

पोखरा । तेस्रो एबिसी ४५ वर्षमाथि एट ए साइड भेट्रान्स कप रनिङ सिल्डको उपाधि हेटौंडाले हात पारेको छ ।

Advertisement

अमरसिंह ब्वाइज क्लबले आयोजना बिहीबार पोखरा रंगशालामा भएको फाइनल खेलमा हेटौंडा भेट्रान्सले रुपन्देही ११ लाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो ।

उपाधिसँगै हेटौंडाले नगद १ लाख ५५ हजार ५ सय ५५, सिल्ड, मेडल र प्रमाणपत्र पाउँदा उपविजेता रुपन्देही ११ ले नगद ७७ हजार ७ सय ७७ हजार पाएको छ । फाइनल खेलमा पहिलो हाफको १९ औं मिनेटमा हेटौंडाका उमल मोक्तानले पहिलो गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए ।

दोस्रो हाफको २७ औं मिनेटमा अटल बर्माले दोस्रो गोल गर्दै हेटौंडाको उपाधि सुनिश्चित गराए । उक्त खेलमा प्लेयर अफ दी म्याच हेटौडाका उमल मोक्तान घोषित भए । प्रतियोगितामा मोस्ट भ्यालुयबल प्लयेर अफ द टुर्नामेन्टको उपाधि हेटौंडाकै उदय गुरुङले हात पारे । गुरुङले नगद १० हजार प्राप्त गरे ।

प्रतियोगिताका विजेतालाई गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ, एबिसी क्लब अध्यक्ष राजेश गुरुङ, पोखरा १० का वडा सदस्य परमेश्वरबहादुर कार्की, एबिसी हङकङका सल्लाहकार रक्षा गुरुङ, एबिसी युकेका सल्लाहकार भोजबहादुर गुरुङ, गण्डकी प्रदेश फुटबल संघका महासचिव विनोद गुरुङ, जिल्ला खेलकुद विकास समिाि अध्यक्ष मिलन गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

Advertisement

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले समाज रुपान्तरण र खेल क्षेत्रको विकासका लागि एबिसी क्लबले महत्वपूर्ण योगदान पुर्‍याएको बताइन् । अमरसिंह ब्वाइज क्लब (एबिसी) अध्यक्ष राजेश गुरुङले प्रतियोगितालाई सफल बनाउन सघाउने सबैलाई धन्यवाद दिए ।

तपाईको प्रतिक्रिया