पोखरामा ‘लिडर : आइडियाज फ्रम पोखरा’ सुरु

समाधान संवाददाता २०८२ वैशाख १७ गते १६:५०

पोखरा ।

Advertisement

नेपाली युवा उद्यमी मञ्चको आयोजना र पोखरा महानगरपालिकाको व्यवसाय प्रवद्धन केन्द्रसँगको साझेदारीमा ‘लिडर : आइडियाज फ्रम पोखरा’ नामक कार्यक्रम सुरु भएकाे छ ।

क्यानाडास्थित वेस्टर्न विश्वविद्यालय अन्तर्गतको प्रतिष्ठित आईभि बिजनेस स्कुलका प्रशिक्षकद्वारा सञ्चालित वैशाख १५ देखि २६ गतेसम्म १२ दिने यो कार्यक्रममा ४० जना सहभागी छन्। कार्यक्रमको उद्देश्य सहभागीलाई अन्तर्राष्ट्रिय स्तरको व्यापार प्रशिक्षणमार्फत उद्यमशीलता र आर्थिक विकासमा सशक्त बनाउनु रहेको आयोजक संस्थाले जनाएको छ।

कार्यक्रममा आईभि बिजनेस स्कुलका प्रशिक्षकहरूले केस अध्ययन प्रणालीबाट प्रशिक्षण दिनेछन्। नेपाली युवा उद्यमी मञ्च पोखरा च्याप्टरका कार्यसमिति सदस्य तथा कार्यक्रम संयोजक प्रतिक राज पहारीका अनुसार कार्यक्रमको पाठ्यक्रम बिश्वस्तरिय रहेको छ। आईभि बिजनेस स्कुलले नेपालसहित अन्य सात देशमा ‘लिडर प्रोजेक्ट’ सञ्चालन गर्दै आएको छ।

कार्यक्रमको अन्त्यमा सहभागीले आफ्ना व्यवसाय योजना, उद्योग विज्ञ, उद्यमी तथा पूर्व सहभागीको प्यानल समक्ष प्रस्तुत गर्नेछन्। उत्कृष्ट व्यवसाय योजना बनाउने पहिलो, दोस्रो, तेस्रो र चौथो समूहले क्रमशः ५१ हजार रुपैयाँ, ४१ हजार रुपैयाँ, ३१ हजार र २१ हजार प्राप्त गर्नेछन्।

Advertisement

पोखरा महानगरपालिका अन्तर्गत सञ्चालित व्यवसाय प्रवर्द्धन केन्द्रले नवप्रवर्तन, स्वरोजगार र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ युवा, एकल महिला, वैदेशिक रोजगारबाट फर्किएका र अपाङ्गता भएका व्यक्तिलाई व्यवसायिक तालिम, योजना निर्माण, वजार र वित्तीय पहुँचमा सहायता प्रदान गर्दै आएको छ।

नेपाली युवा उद्यमी मञ्च पोखराका अध्यक्ष विशेष थापाले युवामा सकारात्मक सोच विकास गर्न र उद्यमशीलतातर्फ आकर्षित गर्न कार्यक्रमले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे। उनका अनुसार संस्थाले देशभर १४ सहरमा फैलिएको नेटवर्कमार्फत आठ सयभन्दा बढी युवालाई उद्यमशीलता, तालिम, शिक्षा र फेलोसीपमार्फत सशक्त पार्ने काम गरिरहेको छ।

कार्यक्रमका मुख्य प्रायोजकमा लिउ ह्युमन रिसोर्स सोलुसन, एभरेस्ट डेभलप र सोलायड भेन्चर्स छन् भने बाराही बेकरी, गौरिशंकर होस्टल र होटल क्राउन हिमालयज सहप्रायोजकका रुपमा छन्।

तपाईको प्रतिक्रिया