भगवतीलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड

पोखरा ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘नवौं पोखरा स्पोट्र्स अवार्ड २०८१’मा लाइफ टाइम अचिभमेन्ट अवार्ड ओलम्पियन सुटिङकी भगवती खत्री केसीलाई अर्पण गरिने भएको छ । प्रतिभा छनोट समितिको बैठकले सिफारिस गरेकोमा मञ्चको कार्यसमिति बैठकले त्यसलाई अनुमोदन गरेसँगै यसपालि खत्रीले अवार्ड पाउने निश्चित भएको हो ।
खत्रीलाई वैशाख २६ गते पोखरा इभेन्ट सेन्टरको हलमा हुने भव्य कार्यक्रममा चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लासहित सम्मान गरिनेछ । बागलुङकी भगवतीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई विभिन्न पदक जितिसकेकी छन् ।
उनले नवौं राष्ट्रिय प्रतियोगितामा प्रथम, १२ औं राष्ट्रिय शुटिङ प्रतियोगितामा प्रथम, प्रथम खुला सुटिङ प्रतियोगितामा प्रथम, चौथो राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रथम, पाचौं राष्ट्रिय प्रतियोगितामा द्वितीय र १२ औं राष्ट्रिय सुटिङ प्रतियोगितामा बेस्ट प्लेयरको उपाधि प्राप्त गरिसकेकी छन् ।
अन्तर्राष्ट्रियतर्फ सिड्नीमा भएको सत्ताइसौं ओलम्पिक गेममा सहभागी उनले राष्ट्रिय कीर्तिमानसमेत कायम गरेकी थिइन् । विभिन्न ७ वटा संस्करणका एसियन गेममा सहभागी लगायत साफ च्याम्पियन र अन्तर्राराष्ट्रिय सुटिङ प्रतियोगितामा सहभागि भइसकेकी छन् । खत्रीले गोरखा दक्षिणबाहु प्राप्त गरिसकेकी छन् भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन २०६३ बाट उत्कृष्ट खेलाडीको रुपमा घोषणा भइसकेकी छन् ।
गण्डकी प्रदेशमा शुटिङ प्रशिक्षकको रुपमा २०५१ सालदेखि खेलाडीलाई निशुल्क प्रशिक्षणसमेत गराउँदै आएकी छन् । यसअघि, मञ्चले यहाँका अग्रज खेलाडीहरु कृष्ण थापा, खड्गबहादुर रानाभाट, डा वीरेन्द्रसिंह गुरुङ, चित्रबहादुर गुरुङ, आनन्द रञ्जित, गणेशबहादुर भट्टराई, विद्याप्रसाद मरासिनी र ईन्द्रा मल्ललाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिसकेको छ ।
खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आएको छ । अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिदै आएको मञ्चका अध्यक्ष एमबी आस्था मगरले जनाएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकीका खेलकुद पत्रकारको साझा संस्थाका रुपमा परिचित छ ।
तपाईको प्रतिक्रिया