अन्नपूर्णमा जलवायु सचेतना

पोखरा ।
पोखरा बहुमुखी क्याम्पसको आयोजनामा मंगलबार कास्कीको अन्नपूर्ण गाउपालिका वडा न २ शेराचौरमा जलवायु परिवर्तनका असर र न्यूनीकरणबारे सचेतना कार्यक्रम भएको छ । कार्यक्रममा गाउपालिका वडा न २ का करिब सय स्थानीय तथा स्थानीय सामाजिक अगुवा सहभागी थिए ।
कार्यक्रममा जिल्ला वन कार्यालय कास्कीका प्रमुख कोमलराज काफ्लेले सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुत गरे । उनले जलवायु परिवर्तनको अवस्था, कारण, स्वरुप, जलवायु परिवर्तनले प्रभाव पार्ने क्षत्र, असर, न्यूनीकरण तथा रोकथामका उपायबारे प्रष्ट पारे ।
हाम्रो वरपरको वायुमण्डलमा मिथेन, नाइट्रोजन र कार्वनडाइ अक्साइड ग्यासको मात्रा बढ्दै जाँदा तापक्रम पनि हरेक वर्ष बढिरहेको छ, जसलाई जलवायु परिवर्तन भनिन्छ । काफ्लेले भने, ‘जुन अतिवृष्टि, अनावृष्टि, भूक्षय लगायतका विभिन्न विपत्ति ल्याउने कारक हो ।’
कार्यक्रममा जलवायु परिवर्तनका कारण विश्वमा प्रत्येक १० मिनेटमा एउटा प्रजाति लोप भइरहेको, समुद्रको पानीमा प्लाष्टिकजन्य पदार्थको चाप बढेको लगायतका तथ्यांक प्रस्तुत गरिएको थियोे । कार्यक्रममा स्थानीयको प्रतिनिधित्व गर्दै अन्नपूर्ण गाउँपालिका वडा न २ का अध्यक्ष पिताम्बर भण्डारीले जलवायु परिवर्तन न्यूनीकरणका लागि गाउँलाई स्वच्छ, सफा राख्ने उपाय खोजी गरिने प्रतिबद्धता गरे ।
वडा सदस्य माया अधिकारीले विकासमा स्थानीयको मन जित्न डोजर चलाउनैपर्ने र बाटोघाटो बनाइदिनै पर्ने बाध्यता प्रस्ट्याइन् । अर्का वडा सदस्य भानुभक्त दाहालले रुख काट्ने र वन डढाउनेलाई कडा कार्वाही गर्नुपर्ने जनाए ।
कार्यक्रमकै बिच वातावरण संरक्षण महाअभियानका अभियन्ता रामबहादुर पौडेलले स्थानीय पोखरी र चौतारा संरक्षण अपरिहार्य भएको जनाए । पोखरा बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष नरेन्द्रमान लालचनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समितिका उपाध्यक्ष बद्री श्रेष्ठ, क्याम्पस प्रमुख शिशुकला पराजुली, स्थानीय दुर्गा भवानी आधारभूत विद्यालयका प्रधानाध्यापक होमनाथ दाहाल, क्याम्पस आन्तरिक गुणस्तर व्यवस्थापन समिति प्रमुख महेन्द्र रिमाल लगायतले बोलेका थिए ।
कार्यक्रमकै बिच स्थानीय दुर्गा भवानी आधारभूत स्कुलका विद्यार्थीलाई सहयोग स्वरुप क्याम्पसले कापी र कलम हस्तान्तरण गरेको थियो ।
तपाईको प्रतिक्रिया