वर्ष उत्कृष्ट प्रशिक्षकमा राजेन्द्र, रमेश र नीरजको प्रतिस्पर्धा, कसले पाउँला अवार्ड?

पोखरा। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको नवौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८१’ को मिति नजिकिँदै गर्दा मनोनयनमा परेका खेलाडीमध्ये उत्कृष्ट को हुन् भन्ने चर्चा सुरु भएको छ। यही वैशाख २६ गते शुक्रबार पोखरा इभेन्ट सेन्टरमा हुने अवार्डका लागि ४ विधामा उत्कृष्ट तीन खेलाडीको मनोनयन सार्वजनिक भइसकेको छ। यसमध्ये उत्कृष्ट प्रशिक्षकतर्फको विधामा फुटबलका राजेन्द्र तामाङ, भलिबलका रमेश केसी र टेनिसका नीरज थापा उत्कृष्ट तीनमा परेका छन्।
राजेन्द्र तामाङ, फुटबल
कास्कीका राजेन्द्र तामाङ फुटबल क्षेत्रका उत्कृष्ट प्रशिक्षकका रूपमा चिनिन्छन्। उनी हाल नेपाली महिला राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक हुन्। तामाङ वाफ महिला च्याम्पियनसिप २०२४ मा नेपालका प्रमुख प्रशिक्षकको अनुभव बटुलिसकेका छन्। उनी अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत रहेका प्रशिक्षकहरूको संगठन नेपाल फुटबल प्रशिक्षक संघको अध्यक्ष समेत हुन्।
त्यस्तै, उनले सन् २००६ मा ‘सी’, सन् २०११ मा ‘बी’ र सन् २०१६ मा ‘ए’ ग्रेडको प्रशिक्षक लाइसेन्स प्राप्त गरिसकेका छन्। साथै तामाङले ०७१/०७२ मा सम्पन्न लिगमा उत्कृष्ट कोचको पुरस्कार पाइसकेका छन्। जापान फुटबल संघबाट सन् २०१७ मा ‘सी’ ग्रेडको इन्स्ट्रक्टर कोर्ष पूरा गरिसकेका उनी २०८१ कात्तिकमा सम्पन्न साफ महिला च्याम्पियनसिपमा नेपाली टोलीका मुख्य प्रशिक्षक थिए भने उक्त च्याम्पियनसिपमा नेपाललाई उपविजेता बनाउन सफल भएका थिए।
त्यस्तै, २०८१ फागुनमा सम्पन्न फोर नेसन्स कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा पनि नेपाली टोलीका मुख्य प्रशिक्षक थिए। त्यसैगरी तामाङ मनाङ मर्स्याङ्दी क्लब, थ्रीस्टार क्लब र विभागीय नेपाल एपीएफ क्लबका पूर्व प्रशिक्षक समेत हुन्।
रमेश केसी, भलिबल
भलिबलका पूर्व राष्ट्रिय खेलाडी, स्याङ्जा घर भएका रमेश केसी हाल गण्डकी प्रदेश भलिबल संघका मुख्य प्रशिक्षक हुन्। उनी तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्रको २०६६ देखि २०७५ सम्म भलिबल टिमका कप्तान बनिसकेका छन्। त्यस्तै, केसी आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत उत्कृष्ट प्रशिक्षकको अवार्ड पनि पाइसकेका छन् भने नेपाल भलिबल संघद्वारा २०८० मा वर्ष उत्कृष्ट प्रशिक्षकको रूपमा सम्मानित भइसकेका छन्।
श्रीलंकामा २०२४ मा सम्पन्न सेन्ट्रल एशिया जुनियर भलिबल च्याम्पियनसिप, काभा मेन्स अन्डर–२० भलिबल च्याम्पियनसिपमा नेपाली राष्ट्रिय जुनियर टिमका मुख्य प्रशिक्षक भइसकेका छन्, जहाँ नेपाल उपविजेता बनेको थियो।
त्यस्तै, २०८१ जेठमा सम्पन्न आठौं पिएम कप एनभीए लिगमा गण्डकी पुरुष टिमका प्रशिक्षक थिए भने लिगमा गण्डकीलाई उपविजेता बनाउन सफल भएका थिए। २०८१ मंसिरमा सम्पन्न काभा पुरुष भलिबल च्याम्पियनसिपमा पनि उनी गण्डकी प्रदेशका प्रशिक्षक थिए।
विभिन्न संघसंस्थाबाट सम्मानित केसीले केही वर्षअघिदेखि पश्चिमाञ्चल भलिबल ट्रेनिङ सेन्टर सञ्चालन गर्दै खेलाडीहरूलाई प्रशिक्षण दिँदै आएका छन्। विजय थापा, रवि केसी, रुपेन्द्र गैरे, सफल विक, हिमाल सुनारी, सरोज बर्देवा, सञ्जु विक्रम शाहजस्ता खेलाडीहरू उनकै प्रशिक्षणबाट उत्पादन भएका हुन्।
नीरज थापा, टेनिस
वि.सं. २०४९ सालमा काठमाडौं रंगशालामा रहेको टेनिस कोर्टमा बल टिप्ने र कोर्ट मर्मत गर्न जाने नीरज, अरूले खेलेको हेरेर खेल्न थाले। २०५४ सालमा बल टिप्न र कोर्ट बनाउन पोखरा आएका उनी पोखरामा पनि बल टिप्दादेखि र्याकेट चलाउन सक्न थाले। टेनिस र्याकेट समात्न सिकेका उनी बिस्तारै बल टिप्नेबाट खेलाडी बने।
उनले २०५८ सालमा काठमाडौंमा एक वर्षे कोचिङ ट्रेनिङ लिए। त्यसपछि उनी निरन्तर कोचिङ क्षेत्रमा क्रियाशील छन्। वि.सं. २०५९ मा रत्न श्री जिम हलमा उनले टेनिस सिकाउँदा पोखरामा १० जना मात्र टेनिस खेल्थे भने अहिले भने १ सयभन्दा बढी टेनिस खेलाडी रहेको उनी बताउँछन्।
अहिले नीरज बिहान साँझ टेनिस कोर्टमै हुन्छन्। उनले बालकदेखि वृद्धासम्मलाई टेनिस सिकाउने गर्दछन्। नीरज थापाले अहिलेसम्म सयौं उत्कृष्ट खेलाडी उत्पादन गरिसकेका छन्, तीमध्ये नेपालका शीर्ष वरियताका खेलाडी प्रदीप खड्का पनि हुन्। पोखरालाई टेनिस सहरका रूपमा चिनाउन नीरजको ठूलो योगदान छ। उनी ‘सबैका गुरु नीरज गुरु’ भनेर चिनिन्छन्। टेनिसलाई नै व्यवसाय बनाएका नीरजले फिस्टेल एकेडेमीमा लन टेनिस सिकाउने गर्दछन्। उनले छैटौं पोखरा स्पोर्ट्स अवार्ड २०७८ मा उत्कृष्ट प्रशिक्षकको अवार्ड पनि पाइसकेका छन्।
खेलाडी तथा खेल क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई ऊर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आइरहेको छ। अवार्ड कार्यक्रममार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदियमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गर्दै आएको मञ्चका अध्यक्ष एम.बी. आस्था मगरले जानकारी दिए।
मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेहरूलाई अवार्डसँगै एक/एक थान टेल्जी इलेक्ट्रिक स्कुटर प्रदान गर्ने अध्यक्ष मगरले बताए। त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेहरूलाई अवार्डसँगै जनही ३५/३५ हजार रुपैयाँ प्रदान गरिने मञ्चले जनाएको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारहरूको साझा संस्थाको रूपमा स्थापित छ।







भद्रकाली माविद्वारा आयोजित गणित हाजिरी जवाफमा भद्रकालीकै समूह प्रथम
बाढीपहिरो र आन्दोलनबाट ठूलो बीमा दावी: असोजको क्षति ३.७८ अर्ब, भदौको आन्दोलनबाट २३.२३ अर्ब
पूर्वसांसद मोहम्मद अफताब आलमको निधन
सरकारले थाल्यो आफ्नै लाइसेन्स छपाइ: २८ लाख कार्ड छाप्ने चुनौती
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया