कृषि सहकारीको सुदृढीकरण र सहकारी कानुन कार्यान्वयनमा जोड

समाधान संवाददाता २०८२ वैशाख २७ गते १८:४५

स्याङ्जा ।
गण्डकी प्रदेशको सहकारी रजिष्ट्रारको कार्यालय, पोखराको आयोजनामा स्याङ्जाको पुतलीबजारमा सहकारी ऐन, नियम तथा समसामयिक विषयमा केन्द्रित गोष्ठी भएको छ । गोष्ठी जिल्ला सहकारी संघ स्याङ्जाको समन्वयमा भएको हो ।
गोष्ठीमा दुग्धजन्य, फलफूल, तरकारी, माछा उत्पादनजस्ता कृषि सहकारीका सञ्चालक, लेखा सुपरिवेक्षण समिति सदस्य र व्यवस्थापक गरी ६५ जना सहभागी थिए ।

Advertisement


कार्यक्रममा सहकारी रजिष्ट्रार भेषराज रिजालको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटीको प्रमुख आतिथ्यता थियो । जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मीपति पौडेल र जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रवीन्द्रप्रसाद श्रेष्ठ पनि गोष्ठीमा सहभागी थिए ।


जिटीले कृषकले उत्पादन गरेको काँक्रोलगायतका तरकारीको उदाहरण दिँदै खाद्य वस्तु विषादीरहित बनाउनुपर्नेमा जोड दिए । केही सहकारीले नियमनविपरीत गतिविधि गरी बचतकर्ताको रकममा हिनामिना गर्न थालेकाले सम्बन्धित निकाय सजग हुनुपर्ने धारणा उनले राखे ।


अध्यक्ष पौडेलले सहकारीहरूलाई उद्देश्यमुखी रूपमा सञ्चालन गर्न आह्वान गरे । उनले सहकारीलाई बदनाम हुन नदिई मर्यादित ढंगले अगाडि बढाउनु आवश्यक रहेको बताए । अध्यक्ष श्रेष्ठले ‘व्यापारी मरे केही नहुने, किसान मरे देश मर्ने’ भनाइ उद्धृत गर्दै उपभोग्य वस्तु गाउँमै उत्पादन गर्न सकेमा जीवनस्तर र स्वास्थ्य सुधार हुने बताए । सहभागीहरूले बाली बीमा, बीउको गुणस्तर, कृषि लागत, अनुदान वितरण, नीति निर्माणमा किसानको सहभागिता जस्ता विषयमा सुझाव र जिज्ञासा राखे ।


कार्यक्रममा रजिष्ट्रार रिजालले ‘सहकारी कानुन र कानुनी परिपालना’ विषयक कार्यपत्र प्रस्तुत गरे भने वरिष्ठ कृषि अधिकृत अजय अधिकारीले ‘कृषि विकासमा सहकारीको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गरे । शाखा अधिकृत चोलाकान्त वाग्लेले स्वागत मन्तव्य दिए । कार्यक्रम सञ्चालन अधिकृत छैटौं तुलसीप्रसाद पौडेलले गरेका थिए भने व्यवस्थापन तथा सहजीकरण तथ्यांक अधिकृत सूर्यप्रसाद आचार्यले गरेका थिए ।

Advertisement


स्याङ्जा जिल्लामा हाल ४७२ वटा सहकारी संस्था क्रियाशील छन् । तीमध्ये १३४ वटा सहकारी गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयको नियमनमा छन् भने बाँकी ३३८ वटा सम्बन्धित पालिकाको नियमनमा छन् । दुग्धजन्य, फलफूल, तरकारी, माछा उत्पादनमा संलग्न कृषि सहकारी मात्र १२४ वटा छन् ।

तपाईको प्रतिक्रिया