नेपाल पर्यटन बोर्डको रिक्त पदमा पोखराबाट प्रतिनिधित्व गराउन आग्रह
समाधान संवाददाता
२०८२ वैशाख २९ गते १२:५०

पोखरा ।
पोखरा पर्यटन परिषदले नेपाल पर्यटन बोर्डको रिक्त रहेको कार्यकारी बोर्ड सदस्य पदमा पोखराबाट प्रतिनिधित्व गराउन सरकारसँग आग्रह गरेको छ। परिषदका अध्यक्ष तारानाथ पोखरेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेलाई पठाएको पत्र मार्फत आग्रह गरेका हुन् ।
पत्रमा भनिएको छ, ‘पर्यटन क्षेत्रको विकासमा पोखराको ऐतिहासिक र रणनीतिक योगदानलाई मूल्याङ्कन गर्दै नेपाल पर्यटन बोर्डको कार्यकारी सदस्य पदमा पोखराको प्रतिनिधित्व हुनु अपरिहार्य छ।’ परिषदले पोखरालाई उपेक्षा नगर्नु पर्नेमा जोड दिएको छ।
नेपाल पर्यटन बोर्डको नीतिनिर्माणदेखि कार्यक्रम कार्यान्वयनसम्मको प्रक्रिया प्रभावकारी बनाउन क्षेत्रीय सन्तुलन आवश्यक रहेको परिषदको धारणा छ। यसका लागि पोखराबाट अनुभवी तथा पर्यटन क्षेत्रमा सक्रिय प्रतिनिधिलाई नियुक्त गरिनुपर्ने माग गरिएको छ।
सम्बन्धित
तपाईको प्रतिक्रिया