अन्नपूर्ण म्याराथनको पाँचौं संस्करण जेठ २० गते

पोखरा । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजनामा हुने अन्नपूर्ण म्याराथन–२०८२ को पाँचौं संस्करण जेठ २० गते मंगलबार सम्पन्न हुने भएको छ। फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर) सफलतापूर्वक आरोहण गरेको ७५ औं वर्षगाँठको अवसरमा म्याराथन पनि हीरक महोत्सवका रूपमा मनाइने भएको छ।
अन्नपूर्ण आधारशिविर (४१३० मिटर) बाट सुरु हुने म्याराथन माछापुच्छ्रे आधारशिविर, देउराली, दोभान, बम्बो, छोम्रोङ, किम्रोङखोला, उरी हुँदै घान्द्रुकस्थित श्री मेश्राम वराह माविको खेल मैदानमा सम्पन्न हुनेछ। म्याराथनको दूरी ४२.१९५ किलोमिटर हुनेछ। यस म्याराथनलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्यसहित अल्टिमेट एडभेन्चर नेपालले प्राविधिक व्यवस्थापन गर्नेछ।
म्याराथनमा पुरुष र महिलातर्फ छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ। हालसम्म १० जना विदेशी धावकसहित ६० जनाले नाम दर्ता गराइसकेका छन्। दर्ता शुल्क महिला तथा पुरुष दुवैका लागि ७ हजार रुपैयाँ तोकिएको छ। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने धावकले क्रमशः १ लाख ५० हजार, १ लाख र ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। साथै, सबै सहभागीलाई प्रमाणपत्र र पदक प्रदान गरिनेछ।
यसपटक म्याराथनमा थप विशेष पुरस्कारहरू पनि घोषणा गरिएको छ। अन्नपूर्ण गाउँपालिका भित्रको स्थायी ठेगाना भएका सहभागीमध्ये प्रथम हुने धावकलाई विशेष पुरस्कार प्रदान गरिनेछ। त्यसैगरी, गण्डकी प्रदेशका धावकमध्ये प्रथम हुनेले पनि विशेष पुरस्कार पाउनेछन्। महिलातर्फ लगातार तीनपटक म्याराथनमा सहभागिता जनाउने धावकलाई प्रोत्साहन स्वरूप विशेष पुरस्कार दिइने आयोजकले जनाएको छ।
अन्तर्राष्ट्रिय धावकका लागि पनि छुट्टै प्रोत्साहन गरिएको छ। महिला र पुरुष दुवै समूहमा विदेशी सहभागीमध्ये प्रथम हुनेलाई विशेष पुरस्कार प्रदान गरिनेछ। यसैगरी, ७५ औं अन्नपूर्ण आरोहण दिवसको अवसरमा म्याराथनमा ७५ औं स्थान हासिल गर्ने धावकलाई ‘डायमण्ड जुब्ली अवार्ड’ दिइनेछ।
म्याराथनकै अवसरमा “अन्नपूर्ण पत्रकारिता पुरस्कार–२०८२” पनि प्रदान गरिनेछ। अन्नपूर्ण गाउँपालिकाको पर्यटन प्रवर्द्धनमा सञ्चार माध्यममार्फत योगदान गरेका पत्रकारलाई उक्त पुरस्कार दिइनेछ। साथै, विविध सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिनेछन्।
कार्यक्रम सम्पन्न गर्न करिब ३८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। अन्नपूर्ण गाउँपालिका, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, एक्याप, गण्डकी प्रदेश खेलकुद परिषद्, विभिन्न पर्यटन समितिहरू तथा निजी क्षेत्रका संघसंस्थाहरूबाट सहयोग जुटाइनेछ।
कार्यक्रम व्यवस्थापनका लागि ५०१ सदस्यीय मूल समिति र १३ वटा उपसमिति गठन गरिएको छ। हालसम्म ९० प्रतिशत तयारी पूरा भइसकेको संयोजक ललित गुरुङले जानकारी दिए। उनले विगतका संस्करणमा सञ्चार माध्यमले गरेको सकारात्मक सहयोगप्रति आभार प्रकट गर्दै यसपटक पनि यस्तै साथ र सहकार्यको अपेक्षा गरेका छन्।
तपाईको प्रतिक्रिया