प्रधानमन्त्री कप एनभिए भलिबल लिग पोखरामा

पोखरा ।
नेपाल भलिबल संघले नवौं सस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८२ पोखरामा गर्न लागेको छ ।
पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा यहि जेठ ८ देखि १५ गतेसम्म नेपालमा पहिलो पटक भलिबलको ठुलो लिग गर्न लागेको संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए । १० औं राष्ट्रिय खेलकुदको पटक पटकको तयारी, प्रायोजकको उपलब्धता लगायतका बिविध कारणले यस भन्दा अघि छनोट प्रतियोगिता—क्लब च्याम्पियनसिप आयोजना गर्न नसकेको उल्लेख गर्दै उनले गत वर्ष गत वर्ष लिगमा सहभागी टिमहरुबीच नै नवौं प्रधानमन्त्री कप लिग खेललाई निरन्तरता दिएको बताए ।
प्रतियोगितामा ८ पुरुष टोली र ६ महिला टोलीले आ–आफ्नो समूहबाट प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फको प्रतियोगितामा हेल्प नेपाल स्पोट्र्स क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द भलिबल क्लब बुटवलले प्रतिस्पर्धा गर्ने भलिबल संघले जनाएको छ । प्रतियोगितामा महिलातर्फ नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, टिप टप न्यु डायमण्ड युथ स्पोट्र्स क्लब, एभरेस्ट भलिबल क्लब बुटबल र कर्णाली प्रदेश भलिबल टिमले सहभागिता जनाउने छन् ।
अध्यक्ष चन्दले एनभीएले प्रतियोगिताको लागि ९० लाख रुपैयाँ बजेट अनुमान गरेको बताए । उनले प्रतियोगिताको लागि ३२ लाख रुपैयाँ पुरस्कारको लागि खर्च हुने जनाए । ‘नेपालको भलिबल खेल अहिलेसम्मकै सबभन्दा ठुलो धन राशीको पुरस्कार संघले सुरुवात गरिसकेको छ,’अध्यक्ष चन्दले भने, ‘संघको नीति अनुसार नगद पुरस्कार बृद्धि गर्दै लैजाने क्रममा र खेल स्तरमा सुधार ल्याउन सहभागी क्लबले तीन–तीन जना विदेशी खेलाडी राख्न पाउनेछन् ।’ उनले विदेशी अनुभवी खेलाडीसँग प्रतिस्पर्धा गर्दा नेपाली खेलाडीलाई खेलको स्तर सुधार गर्ने अवसर मिल्ने उल्लेख गरे ।
लिगमा महिला तथा पुरुषतर्फ प्रथम, द्वितीय र तृतिय स्थान प्राप्त गर्ने टिमहरुलाई क्रमशः नगद ८ लाख, ४ लाख र २ लाख नगद पुरस्कार पाउने छन् । दुबैतर्फको सर्वोत्कृष्ट खेलाडीले जनही ५०/५० हजार नगद पुरस्कार पाउने भलिबल संघका उपाध्यक्ष यमबहादुर गुरुङले जानकारी दिए । लिगमा उत्कृष्ट लिब्रो, सरभर, ब्लकर, लिफ्टर, स्पाइकर र टिम प्रशिक्षकले जनही २५ /२५ हजार नगद पुरस्कार पाउने छन् । उनले संघले खेलाडीको दुर्घटना विमाको समेत व्यवस्थापन गरेको उल्लेख गरे ।
उपाध्यक्ष गुरुङले भलिबल संघको नीति अनुरुप भलिबल खेललाई व्यवसायिकरण र युवापिढीलाई खेलप्रति आकर्षण गराउन ध्यान दिएको बताए । प्रतियोगिताको लागि राष्ट्रिय खेलकुद परिषद्, शिवम सिमेन्ट, राष्ट्रिय वाणिज्य बैंक, केल्मी नेपाल, कृषि विकास बैंक, लोमस फर्मास्युटिकल्स लगायते सहयोग गरेका छन् ।
अघिल्लो संस्करणमा हेल्प नेपालले पुरुषतर्फ र नेपाल प्रहरीले महिला विधामा उपाधि हासिल गरेका थिए । नवौ प्रधानमन्त्री कप एनभीए भलिबल लिगको विजेताले माल्दिभ्समा जुलाईमा हुने काभा च्याम्पियनसीपमा भाग लिन पाउने छ ।
तपाईको प्रतिक्रिया